Close This

सुदूरपश्चिम प्रदेश सभामा युवाको बाहुल्यता

सोमबार माघ ९, २०७९/ Monday 01-23-23
Paschim Today

धनगढी,९ माघ । प्रदेश सभा नीति, कानुन निर्माण गर्ने थलो हो । यसलाई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा लिइन्छ । त्यहिं संस्थामा युवा पुस्ताको सहभागिता बढेको छ । सुदूरपश्चिम प्रदेश सभामा युवाको सहभागिता बढेको हो । 

शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्ने जस्ता महत्वपूर्ण कार्य व्यवस्थापन कार्यविधिका माध्यमबाट प्रदेश सभाले सुनिश्चित गर्ने गर्दछ । त्यसैले कानुन निर्माण गर्ने थलोमा युवा पुस्ताको सहभागिता बढ्दो हुनु पर्ने आवाज सबैतिरबाट उठ्दै आएको छ । 

सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालमा युवा प्रदेश सभा सदस्यको प्रतिनिधित्व बढेको छ । विभिन्न पार्टीबाट ४५ वर्षमुनिका २४ जना प्रदेश सभा सदस्य भएका छन् । यसलाई राजनीतिमा युवाको आकर्षण बढेको बुझ्न सकिन्छ । सुदूरपश्चिम प्रदेश सभामा कुल सदस्य संख्या ५३ हो । कुल सदस्य संख्याको युवा पुस्ताको प्रतिनिधित्व ४५.२८ प्रतिशत रहेको छ । यसैगरी, विभिन्न पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या १० रहेको छ । अर्थात कुल संख्याको १८.८६ प्रतिशत महिला युवा रहेका छन् । 

प्रदेश सभामा सबैभन्दा ज्येष्ठ सदस्य मानबहादुर रावल हुन । उनको उमेर ६८ वर्ष छ । यसैगरी, सबैभन्दा कान्छी प्रदेश सभा सदस्य गीता चौधरी हुन । उनको उमेर ३२ वर्ष छ । 
यी हुन युवा प्रदेश सभा सदस्य
नेपाली कांग्रेसबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने चार जना प्रदेश सभा सदस्य ४५ वर्षमुनिका युवा छन् । जसमा प्रकाशबहादुर देउवा ३९ वर्षका छन् । उनी कैलाली क्षेत्र नम्बर ५ (ख) बाट निर्वाचित भएका थिए । यस्तै, सुश्री जुनाकुमारी दानी ३९ वर्षकी छन् । बडिमालिका नगरपालिका–१ बाजुराकी उनी समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन । यसैगरी, डम्मरी महरा ३७ वर्षकी हुन । समानिपातिकबाट प्रदेश सभा सदस्य भएकी उनी धनगढी उपमहानरपालिका–३ का बासिन्दा हुन । सबैभन्दा कान्छी प्रदेश सभा सदस्य गीता चौधरी कृष्णपुर नगरपालिका–६ कञ्चनपुरकी हुन । उनको उमेर ३२ वर्ष रहेको छ । 

यस्तै, प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्य भएका १० जना युवा छन् । डोटीबाट निर्वाचित भएका शिवसिंह ओलीको उमेर ३५, कैलालीबाट निर्वाचित रमेशसिंह धामीको उमेर ३९, कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाटको उमेर ३५ रहेको छ । यसैगरी, दार्चुलाबाट निर्वाचित मानबहादुर धामीको उमेर ४१, अछामबाट निर्वाचित अक्कलबहादुर रावलको उमेर ४२, झपटबहादुर साउँदको उमेर ४२ र बझाङ्गबाट निर्वाचित भीमबहादुर भण्डारीको उमेर ४१ वर्ष रहेको छ । युवा पुस्ताका भण्डारी प्रदेश सभामुख भएका छन् । यसैगरी, समानुपातिकतर्फबाट निर्वाचित भएका माओवादीका गीतादेवी माल, जानकी कुँवर र लक्ष्मी विक पनि युवा पुस्ता हुन । परशुराम नगरपालिका–४ डडेल्धुराकी माल ३८, गौरीगंगा नगरपालिका–८ की कुँवर ३४ र मालिकार्जुन–७ दार्चुलाकी लक्ष्मी विक ३४ वर्षका छन्। 

प्रदेश सभामा तेस्रो ठूलो दल नेकपा (एमाले) बाट प्रतिनिधित्व गरेका चार जना प्रदेश सभा सदस्य युवा पुस्ता हुन । डोटीबाट निर्वाचित चक्र मल्लको ४२ वर्षका छन् । यसैगरी, समानुपातिकतर्फबाट निर्वाचित भएका पुर्चौडी नगरपालिका–२ बैतडीकी जानकी ऐर बम ३५,  पुर्वीचौकी–७ डोटीबाट निर्वाचित निर्मलादेवी साउँद ४२ र गन्यापधुरा गाउँपालिका–५ बाट निर्वाचित सरस्वती खड्का ४२ वर्षका छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट तीन जना युवा पुस्ताको प्रतिनिधित्व भएको छ । सो पार्टीबाट प्रदेश सभामा निर्वाचित कैलाश चौधरी ३५, घनश्याम चौधरी ३५ र रामेश्वर चौधरी ४१ वर्षका छन् । 
नेकपा (एकीकृत समाजवादी) बाट दुई जना युवा प्रदेश सभा सदस्य छन् । उनीहरु कैलालीबाट निर्वाचित दीर्घबहादुर सोडारी र नरेशकुमार शाही हुन । सोडारी ४४ र शाही ४१ वर्षका भएका छन् । यसैगरी, प्रदेश सभामा एकमात्र प्रदेश सभा सदस्य राप्रपाको खिमादेवी विष्ट पनि युवा छिन । गोदावरी नगरपालिका–४ कैलालीकी उनको उमेर ३४ वर्ष रहेको छ । 

प्रदेश सभामा युवा पुस्ताको सहभागिता बढ्नुले नीति निर्माण र विकास निर्माणको सवालमा जनमुखी कार्य हुने प्रदेशवासीमा आशा पलाएको छ । प्रदेशमा अहिले माओवादी, एमाले, नागरिक उन्मुक्ति र राप्रपा मिलेर सरकार चलाइ रहेका छन् । सत्ता साझेदार गठबन्धनबाट सबैभन्दा बढी युवाको प्रतिनिधित्व रहेको छ ।