Close This

भूकम्प पीडित क्षेत्रमा उद्धार र राहत पु¥याउन मुख्यमन्त्रीको निर्देशन

मंगलबार माघ १०, २०७९/ Tuesday 01-24-23
Paschim Today

धनगढी,१० माघ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन्  ।

उनले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै उक्त निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री रावललले तत्काल क्षतिको विवरण सङ्कलन गर्न निर्देशन दिएका हुन् । क्षतिको विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।छ जनाको ज्यान जाने गरी डोटीको केन्द्रबिन्दु बनाएर भूकम्प गएको तीन महिना बित्न नपाउँदै पूरै सुदूरपश्चिम हल्लाउने गरी फेरि अर्को भूकम्प गएको छ ।

मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का नेपालको पूर्वसम्मसहित भारतको दिल्लीसम्म महसुस गरिएको थियो । गत कात्तिक २३ गते ६.६ रेक्टर स्केलको भूकम्प जाँदा डोटीको पूर्वीचौकी गाउँपालिकाका छ जनाको ज्यान गएको थियो ।

मंगलबारको भूकम्पले पनि बाजुरामा एक महिलाको ज्यान लिएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्य थापाले भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको बताए । 

भूकम्पमा परेर दुई जना घाइते भएका छन् । जंगलमा भेडा चराइरहेका बेला भूकम्प जाँदा खसेको पहिरोमा परेर गौमुल गाउँपालिका–१, का रामदल बोहरा घाइते भएका प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए । उक्त पहिरोमा ३५ वटा भेडा पुरिएर मरेको बुझिएको प्रहरीले जनाएको छ ।

त्यस्तै हिमाली गाउँपालिका–६, मा भूकम्प गएका बेला भाग्ने क्रममा आत्तिएर एक महिला बेहोस् भएकी छन् । हुम्लाको ताजाकोट घर भइ दिदीको घर आएकी सरिता नेपाली बेहोस् भएकी हुन्। उनको होस् खुलेको र गाउँको स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले बताए ।
भूकम्पले बाजुरा र बझाङमा बढी क्षति भएको छ । बाजुरामा ३४ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यमध्ये पाँच वटा घर पूर्णरुपमा भत्किएका छन् । त्यस्तै, २१ घर चर्केर आंशिक क्षति पुगेको र आठ वटा घरमा सामान्य क्षति पुगेको डीएसपी थापाले जानकारी दिए ।  बडीमालिका, बुढीनन्दा, हिमाली, गौमुललगायत पालिकामा घरमा बढी क्षति भएको देखिएको उनले बताए ।

त्यस्तै बझाङमा भूकम्पमा परी एक जना घाइते भएका छन् भने ३२ वटा घरमा क्षति पुगेको प्रहरी विवरण छ । भूकम्प गएपछि आत्तिएर घरबाहिर निस्कन खोज्दा जयपृथ्वी नगरपालिका–११, का हरिकृष्ण जोशीको बाँया हात भाँचिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाभरि ३२ वटा घरमा भूकम्पले क्षति पु¥याएको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । 

बडिमालिका नगरपालिका वडा नं ७ हरिचन्द्र उपाध्याय धनबहादुर विक ९ को हर्क गुरु र विरजिते चँदारा गरी चार जनाको घर पूर्ण रूपमा भत्किएको छ । उनले बाजुराका अधिकांश नयाँ तथा पुराना घर छाना र बूढीनन्दा नगरपालिकाको भवन समेत चर्किएको जानकारी दिए । बाजुराका विभिन्न ठाउँमा भूकम्पले भौतिकरुपमा ठूलो क्षति गरेको र ४० भन्दा बढी भेडा बाख्रा पनि मरेको स्थानीयवासी बताएका छन् । बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन ।

त्यसका लागि विभिन्न ठाउँमा प्रहरी टोली परिचालन गरिए पनि यकिन तथ्याङ्क प्राप्त भइनसकेको जानकारी जिल्ला प्रशासन कार्यालय बाजुरा बाजुराका पुष्कर खड्काले बताए ।भूकम्पले बझाङ जिल्ला सदरमुकाम चैनपुरस्थित कृषि ज्ञान केन्द्रको पुरानो भवन, जिल्ला अस्पताल सिमखेतको पुरानो भवन, दौलिचौर प्रहरी चौकीको भवनमा पूर्ण क्षतिपुगेको छ । भूकम्पले जयपृथ्वी नगरपालिका–४ गङखेतमा रहेको भवानी सामुदायिक विद्यालयको घर भत्काएको छ ।

भुकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ । बझाङको चैनपुरमा कृषि ज्ञान केन्द्रको भवन भूकम्पले भत्काएको छ । उक्त भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको थियो । त्यस्तै, चैनपुरस्थित एक होटलको छतमा बनाइएको मन्दिर भूकम्पले भत्केको छ । बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, आछाम, डडेल्धुरा र धनगढीलगायतका जिल्लामा महसुस गरिएको छ । अन्य जिल्लामा कुनै धनजनको क्षति नभएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । भूकम्पको धक्का महसुस भएपछि मान्छेहरु घर बाहिर निस्किएका थिए । 

गत कात्तिकमा डोटीमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पले घर भत्काउँदा छ जनाको ज्यान गएको थियो । सो भूकम्पले बझाङ, बाजुरामा पनि विभिन्न ठाउँमा स्थानीयको घर भत्काएको थियो । अघिल्लो भूकम्पले संरचना भत्काएपछि डोटीका कैयौं भूकम्प पीडित अझै त्रिपालमुनि बस्दै आएका छन् । 

अघिल्लो भूकम्पका कारण तर्सिएका स्थानीयलाई मंगलबारको भूकम्पले थप त्रसित बनाएको छ । भूकम्प गएपछि धनगढीमासमेत स्थानीय घरबाहिर निस्केका थिए । पानी परिरहेकाले सुतेका बेला एक्कासी खाट हल्लिएपछि हत्तपत्त उठेर घर बाहिर निस्केको धनगढीका गाउँका हरिश विकले बताए ।