रसुवागढीको बाढीमा ७ जनाको मृत्यु, ५५ जनाको उद्धार

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठमाडौँ। तिब्बतमा आएको अबिरल वर्षाका कारण रसुवागढीमा आएको बाढीमा परेर ७ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्धार गरिएको र ७ जना मृत फेला परेका जनाएको छ । बेपत्ता हुनेको संख्या १८ जना पुगेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करीब ३ बजे तिब्बतमा परेको अविरल वर्षाका कारण भारी मात्रामा बाढी आएर रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेका नेपाल प्रहरीले जनाएको छ ।

गोसाइकुण्ड गाउँपालिका–१, २ र ३, आमाछोदिङ‌मो गाउँपालिका–१, २, ४ र ५, उत्तरगया गाउँपालिका–२, ४, ५, कालिका गाउँपालिका–१ प्रभावित भएको प्रहरीले जनाएको छ ।

हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ । ७–८ वटा ईभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।

हाल रसुवा गोसाइकुण्ड गाउँपालिका–५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।