Close This

पक्राउ परेका चौधरी जेल नबसी सजाय भुक्तान गर्न सक्ने

बिहीबार माघ १९, २०७९/ Thursday 02-02-23
Paschim Today

धनगढी, १९ माघ । पुरानो आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का सांसद अरुण कुमार चौधरी पैसा तिरेर छुट्न सक्ने कानुनी व्यवस्था रहेको छ । 
मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।
बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार मात्र अदालत लैजाने तयारी गरेको छ । ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
सांसद चौधरीले ६ महिना कैद र ८ लाख ७५ हजार जरिवानाको एक तिहाइ जरिवाना तिर्नुपर्नेछ । तर कानुन अनुसार उनले जेल नबसी पनि सजाय भुक्तान गर्न सक्नेछन् ।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जवीराज रेग्मीका अनुसार कसूर गरेको तरिका, आचरण लगायतका पक्ष विचार गरी अदालतले रकम लिएर पनि छाड्न सक्नेछ । यसरी छुट्दा उनले दिनको ३०० रुपैयाँका दरले रकम तिर्नुपर्छ ।
‘आगो लगाएको’ मुद्दा सांसद हुन अयोग्य हुने खालको कसुर नभएकाले चौधरीले रकम बुझाएर छुटेमा भोलिपल्टदेखि नै सांसदको रुपमा काम गर्न पाउँछन् ।
कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टरधनी मोतीपुरका महादेव बजगाईंले आफ्नो ट्याक्टरमा आगो लगाइदिएको भनी पर्शुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिएका थिए ।
जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो ।