Close This

सुदूरपश्चिमेलीहरुले न्यूयोर्कमा धुमधामसंग मनाए होली

बुधबार फागुन २४, २०७९/ Wednesday 03-08-23
Paschim Today

न्यूयोर्क, अमेरिका
सुदूरपश्चिमेलीहरुले अमेरिकाको न्यूयोर्कमा धुमधामसंग होली पर्व मनाएका छन् ।

न्यूयोर्कको कोरोना पार्कमा आईतबार सुदूरपश्चिमेलीहरुले एक आपसमा रंग लगाएर शुभकामना आदान प्रदान गर्दै होली पर्व मनाएका हुन् । प्रवासमा रहेपनि सुदूरपश्चिमको मौलिक संस्कृतिहरु गौरा, ओल्के, माघे संक्रान्ति लगायतका पर्व धुमधामसंग मनाउदै आएका सुदूर पश्चिमेलीहरुले हरेक वर्ष होली पर्व पनि मनाउदै आएका छन् ।

सुदूर पश्चिम समाज न्यूयोर्क अमेरिकाद्धारा आयोजित होली कार्यक्रममा सुदूरपश्चिम घर भई न्यूयोर्कमा बसोबास गर्दै आएका सुदूरपश्चिमेलीहरु सहभागी भएका थिए । रंगहरुको पर्व होलीको अवसरमा भेला भएका सुदूरपश्चिमेलीहरुले देउडा खेल्नुका साथै नाचगान गरेर रमाईलो गरेका थिए ।

होली कार्यक्रमका संयोजक सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका उपाध्यक्ष दान सिंह बिष्टले होली कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका अध्यक्ष राम बहादुर देउवाको अध्यक्षतामा सम्पन्न होली कार्यक्रममा देउवाले सुदूर पश्चिमको मौलिक पर्व, संस्कृति र परम्पराको जगेर्नाका लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । उनले कार्यक्रममा सहभागी भएकाहरु प्रति आभार व्यक्त गर्दै सम्पूर्ण सुदूरपश्चिमेलीहरुमा शुभकामना दिए ।

सुदूरपश्चिम नेपाली समाजका जेष्ठ सदस्य महालक्ष्मी भट्टबाट होलीको टिका ग्रहण गरिसकेपछि एक आपसमा रङ्ग लगाएर शुभकामना आदान प्रदान गरिएको थियो । सुदूरपश्चिम क्षेत्रको प्रसिद्ध बाजा दाईना दमाहा बजाएर होली पर्व मनाउदा न्यूयोर्कको कोरोना पार्क सुदूरपश्चिमय भएको थियो ।