‘व्यापार चौपट भो, भाडा तिर्न धौ–धौ छ’

बुधबार चैत १, २०७९/ Wednesday 03-15-23
Paschim Today

धनगढी,१ चैत । धनगढीमा ३५ वर्षदेखि व्यापार गर्दै आएका व्यापारी हुन, मुन्नालाल गुप्ता । व्यापारको क्रममा उनले यसअघि, कहिल्यै यति ठूलो व्यापार घाटा झेल्नु परेन, जति अहिले झेलिरहेका छन् । सडक फराकिलो बनाउनका लागि दिपावलीपछि धनगढीको मुख्य बजारस्थित सडक अधिकार क्षेत्रमा धमाधम डोजर चल्यो । मुन्नालाल आफ्नो सामान थन्क्याएर बसे ।

‘चार महिनासम्म सामान थन्क्याएर राख्नु प¥यो’, उनी भन्छन्,‘अहिले पसल खोलियो । तर, व्यापार छैन । सटर भाडा तिर्न पनि धौ–धौ छ ।’ कोरोना महामारीले थला परेको व्यापार, व्यवसाय माथि उठ्न नपाउँदै धनगढीको मुख्य सडक क्षेत्रमा तोडफोड भएपछि व्यापार व्यवसाय धरासयी हुने अवस्थामा पुगेको छ ।

अहिले मुख्य सडक आसपासका प्रायः व्यापारीको अवस्था मुन्नालालको जस्तै भएको छ । तोडफोड भएदेखि व्यापार, व्यवसाय खत्तमै भएको व्यापारीले बताएका छन् । ‘तोडफोड भएपछि व्यापार चौपट भएको छ’, विगत डेढ दशकदेखि व्यापार गर्दै आएका किराना व्यापारी देवबहादुर साउँदले भने,‘व्यापार गरेर भाडा तिर्न नसक्ने अवस्था आइसक्यो ।’ 
उनका अनुसार कोरोना महामारीभन्दा अगाडि व्यापार राम्रै चलेको थियो । तर, अहिले खुद्रा वा थोक पसल कसैमा पनि व्यापार छैन । सडक विस्तारका लागि सटर फुटाइएपछि सहुलियतका लागि घरधनीले दुई हजार रुपैयाँ घटाएर मासिक भाडा आठ हजार गरेपनि त्योसमेत तिर्न समस्या भइरहेको साउँदले बताए । ‘व्यापारै भएन भने, भाडा कसरी तिर्ने ?’, उनले थपे,‘अहिले व्यापार, व्यवसाय ठप्प नै छ ।’ 

सडक फराकिलो बनाउनका लागि तोडफोड सुरु गरिएको सिलसिला अझै जारी छ । यसअघि, हटाउन बाँकी रहेका संरचनामा अहिलेपनि डोजर चलाउनेक्रम जारी छ । सडक अधिकार क्षेत्रमा परेको संरचनामा डोजर चलेपछि व्यापारीले कैयौं महिना व्यापारै गर्न सकेनन् । अहिले पुननिर्माण, मर्मत, सम्भार भएकोतिर पसल खोल्न थालेका छन् । भने, कतिपयले अझै पनि पसल खोल्न सकेका छैनन् । 

मर्मत सम्भार गरेर पसल खोल्न थालेपनि व्यापार पटक्कै नरहेको जुत्ता, पसल व्यवसायी शरण सिंहले बताइन् । ‘पहिले कोरोनाले असर ग¥यो’, उनले अगाडि थपिन,‘अहिले यो रोडले ।’ रोड विस्तारका लागि संरचना फुटाइएपछि धुलोका कारण ग्राहक नै नआउने गरेको उनको भनाइ छ । ‘अहिले व्यापार पूर्ण रुपमा घाटामा छ’, उनले थपिन,‘सटर भाडा महँगो छ । व्यापार गरेर त्यो तिर्न नसक्ने अवस्था आइसक्यो ।’ प्रदेश सरकारले भाडामा एकरुपता गरि दिएको भए त्यसले आफूहरुलाई सहज हुने उनको भनाइ छ ।

अहिले न व्यापार छ, न त व्यापारीले सामान थप्न सकेका छन् । बैङ्कबाट ऋण लिएर सामान थप्न सकिने भए पनि व्याज तिर्न नसक्ने व्यवसायीहरुको भनाइ छ । ‘बैंकको व्याजदर चर्को छ । अहिलेको अवस्थामा व्यापार गरेर व्याज तिर्न सकिदैन’, सिंहले भनिन्,‘बैंकहरुले पनि व्यापारीलाई ऋणै दिन मानेका छैननन् ।’
सुपरमार्केटले असर
धनगढीमा अहिले भाटभटेनी लगायतका ठूला सुपरमार्केट खुल्नेक्रम जारी छ । यस्ता सुपरमार्केट र वनगाँवाले गर्दा पनि व्यापारमा कमी आएको व्यापारीहरुको भनाइ छ । ‘पहिलो कोरोनाले व्यापार चौपट भो, त्यसपछि अहिले सडकले गर्दा’, व्यापारी देवबहादुरले भने,‘हुँदाहुँदै वनगाँवाले पनि हामी मर्कामा छौं । धेरै जसो किनमेल गर्न उतै जाने गर्दछन् ।’ 
मर्मत गर्न घरबेटीले असुले एडभान्स
व्यापार सुस्ताएको बेला भत्किएको घर, सटर मर्मतका लागि घरधनीहरुले लाखौं एडभान्स असुलेको व्यापारीले बताएका छन् । एकै व्यापारीले दुई÷तीन लाख रुपैयाँ घरधनीहरुलाई एडभान्स तिरेको व्यवसायी शरणको भनाइ छ । ‘व्यापारका लागि चाँडै मर्मत गरेर सटर तयार पार्ने भन्दै घरबेटीहरुले एडभान्स लिएका छन्’, उनले भनिन् । 
आर्थिक मन्दी
सडक विस्तारका लागि तोडफोड गरिएको धनगढीमामात्रै हैन, अहिले अन्यत्र पनि व्यवसाय नरहेको बताइएको छ । कोरोना महामारीपछि मान्छेसंग पैसा नरहेको भन्दै उनीहरुले किनमेल गर्ने ग्राहक घटेको बताएका छन् । ग्राहकलाई कुनै सामानको दुई सय रुपैयाँभन्दा पनि उनीहरुले यत्ति महँगो भनेर छुट माग्ने गरेको व्यापारीहरुको भनाइ छ । उपमहानगरपालिकाको डोजर चलेपछि कतिपय व्यवसायी विस्थापित भएका छन् । यसैगरी, केही घरधनी घरबारविहीन हुन पुगेका छन् । 

धनगढी बजारको मुख्य सडक निर्माण हुँदासम्म आफूहरु व्यापार, व्यवसायबाटै पलायन हुने अवस्था आउने त हैन, भन्ने चिन्ताले व्यवसायीलाई पिरोलेको छ । सडक बन्न अझै धेरै वर्ष लाग्ने भएकाले तबसम्म व्यापार नै धरासयी हुने उनीहरुको भनाइ छ । कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बैंकको चर्को व्याजदर, बजार क्षेत्रमा तोडफोड लगायतको कारणले व्यापार गर्न समस्या रहेको बताए । उनले ५० प्रतिशत व्यापार, व्यवसाय घटिसकेका उल्लेख गर्दै नेपाल राष्ट्र बैंकको नयाँ नीति खारेज गरिनु पर्ने बताएका छन् । 

 

व्यापार पचास प्रतिशत घटिसक्यो
पुष्पराज कुँवर अध्यक्ष, कैलाली उद्योग वाणिज्य संघ  


अहिले कोभिडपछि व्यापार, व्यवसाय अलि अलि फष्टाउँछ कि भन्ने कुरा भइरहेको थियो । त्यसपछि तुरुन्त राष्ट्र बैंकको चर्को व्याजदरले गर्दाखेरि अहिले एकदम समस्या भइरहेको छ, व्यवसायीहरुलाई व्यवसाय गर्न । सात÷आठ प्रतिशतमा लिएको कर्जा ठ्याक्कै डबल १६ प्रतिशत भइदियो । त्यसले गर्दाखेरि गाह्रो छ । अनि, अहिले पछिल्लो समयमा धनगढीमा बाटो विस्तार गर्ने क्रममा जुन तोडफोड भयो, त्यसले गर्दाखेरि पनि अहिले अलि अप्ठ्यारो भइरहेको छ । आर्थिक मन्दी त यहाँकोमात्रै हैन, देशभरिकै समस्या हो । 

नेपाल राष्ट्र बैंकको नयाँ नीति कारण पछिल्लो चरणम साना तथा मझौला व्यवसायी एकदम मारमा परेका छन् । त्यसलाई फिर्ता लिनकालागि अस्ती हामीले त्यत्रो आन्दोलन ग¥यौं । अहिले राजधानीतिर आन्दोलन भइरहेको छ । अब केही सहज हुन्छ कि, हेरौं । अहिले हामीले देखे अनुसार व्यापार, व्यवसाय लगभग सबैको ५० प्रतिशत जति कम भइसकेको छ । 

व्यापारमा देखिएको समस्या सुधारको लागि तत्काल हामीले भनेको बैंकको व्याजदर जुन छ, त्यसलाई पुरानै लयमा ल्याउनु पर्दछ । राष्ट्र बैंकले जुन नयाँ पोलिसी जारी ग¥यो, त्यसलाई पुरै खारेज गर्नु पर्दछ भन्ने हाम्रो माग हो । त्यसको साथै, अहिले सरिया, डिजल, पेट्रोलको भाउ बढेर पूँजीगत खर्च भइरहेको छैन, व्यवसायीले कामै गर्न पाएका छैनन् । काम गर्ने वातावरण भइदिए त राज्यको पैसा खर्च हुन्थ्यो ।