Close This

हुलाकी स्तरोन्नतिको कार्य सुस्त 

बिहीबार चैत २, २०७९/ Thursday 03-16-23
Paschim Today

धनगढी,२ चैत ।  राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको स्तरोन्नतिको कार्य सुस्त रहेको छ ।कैलालीमा काम भइरहेको सबै सात वटै प्याकेजको एक वर्षका लागि म्याद थप गरिए पनि निर्माण कम्पनीले कामको गति बढाउन सकेका छैनन् । यसअघि, तोकिएको समयावधिमा न्यून भौतिक प्रगति गरेका निर्माण कम्पनीहरुले अब २०८० भित्रै हुलाकी राजमार्ग स्तरोन्नतिको काम सम्पन्न गर्नु पर्नेछ ।

तर, अहिलेसम्मको काम गराइको अवस्था हेर्दा थप गरिएको समयमा पनि निर्माण कम्पनीले काम पूरा गर्न नसक्ने जस्तो देखिएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इञ्जिनीयर दिपक सुनारले बताए । ‘यहि गतिमा काम भएमा थप गरिएको समय सीमाभित्र स्तरोन्नति कार्य पूरा हुन सक्दैन’, उनले भने । सबै प्याकेजको पहिलो पटकको समयावधि ३० महिना रहेको थियो ।

आर्थिक वर्ष २०६४/६५ देखि निर्माण कार्य सुरु भएको हुलाकी राजमार्गलाई सुरुमा भारत सरकारको सहयोगमा भारतीय कम्पनीले बनाएको थियो । सो कम्पनीले अधुरै राजमार्ग नेपाल सरकारलाई हस्तान्तरण गरेपछि सबै काम नेपाल सरकारको लगानीमा भइरहेको छ । पहिलो चरणको निर्माण कार्य पूरा नहुँदै २०७७ बाट स्तरोन्नतिको कार्य भइरहेको छ । जस अन्तर्गत सहरी क्षेत्रमा चार लेन र अन्य क्षेत्रमा दुई लेनको हुलाकी राजमार्ग बन्दै छ । सात प्याकेजमा काम भइरहेका छन् । काम भइरहेको धेरैजसो प्याकेजमा आधा पनि काम पूरा भएको छैन । 
चार लेनमा १५ मिटर चौडाइ भएको कालोपत्रे र बिचमा दुई मिटरको मेडियन बन्दैछ । यसैगरी, दुई लेनमा सात मिटर चौडाइ भएको कालोपत्रे गर्ने कार्य भइरहेको छ ।

हुलाकी राजमार्ग आयोजनाको कार्यालयका अनुसार धनगढीको क्याम्पस रोडदेखि कटनी खोलासम्म सात किलोमिटरसम्म पहिलो प्याकेज बनाएर काम हुँदैछ । यसै खण्डमा चार किलोमिटर क्षेत्रमा चार लेन सडक बनाउने कार्य भइरहेको छ । २०७७ असार १४ मा ठेक्का सम्झौता भएको यो खण्डको २०८० पुस ९ गतेसम्म म्याद थप भएको छ । ३७ करोड ४२ लाख रुपैयाँ लगानीमा बनिरहेको पहिलो प्याकेजको हालसम्म वित्तीय प्रगति ५७ र भौतिक प्रगति ६० प्रतिशत पुगेको जनाइएको छ ।

यसैगरी, कटनी खोलादेखि १४ किलोमिटर दूरीमा दोस्रो प्याकेज बनाएर काम भइरहेको छ । यो खण्डको समयावधि २०८० पुससम्म थप भएको छ । ३२ करोड ३० लाख रुपैयाँ काम भइरहेकोमा हालसम्म वित्तीय प्रगति ३५ र भौतिक प्रगति ४० प्रतिशत पुगेको छ । 
त्यस्तै, १९ देखि ३१ किलोमिटर खण्डलाई तेस्रो प्याकेज बनाएर स्तरोन्नति कार्य भइरहेको छ । हालसम्म भौतिक र वित्तीय प्रगति २५÷२५ प्रतिशत रहेको यो प्याकेजको म्याद आगामी पुस १९ गतेसम्म थपिएको छ । २७ करोड ८५ लाख रुपैयाँमा ठेक्का भएको थियो । तीन वटै प्याकेजको ठेक्का स्वच्छन्द–जोशी जेभीले पाएको थियो ।

यसैगरी, ठेकीपुर पुलदेखि चौथो प्याकेजमा हालसम्म वित्तीय र भौतिक प्रगति २०/२० प्रतिशतमात्रै रहेको छ । ३२ करोड ६६५ लाख रुपैयाँमा ठेक्का पाएर कालिका–जोशी जेभीले काम गरिरहेको छ । तोकिएको समावधिमा काम पूरा नभएपछि आगामी पुस १९ गतेसम्म म्याद थप गरिएको छ । 

यस्तै, लम्की–टीकापुर–खक्रौला खण्डको आठ किलोमिटरका पहिलो प्याकेजको भौतिक प्रगति ६५ र वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ । यो प्याकेजको आगामी असार ५ गतेसम्म म्याद थप गरिएको छ । ४० करोड १९ लाख रुपैयाँमा ठेक्का पाएर कालिका–कुमार जेभीले काम गरिरहेको छ । यो खण्डमा एउटा घरको कारण निर्माण कार्यमा बाधा भइरहेको इञ्जिनीयर सुनारले बताए । 

यस्तै, ८ देखि १८ किलोमिटर सम्मको दोस्रो प्याकेजको भौतिक प्रगति ३० र वित्तीय प्रगति २५ प्रतिशत छ । २०७७ जेठ २६ मा सम्झौता भएको यो प्याकेजको काम पूरा नभएपछि आगामी पुस २५ गतेसम्म म्याद थपिएको छ । ४० करोड ९९ लाखमा एपेक्स–खड्का–कृष्ण जेभीले काम गरिरहेका छन् । 

टीकापुर–खक्रौलासम्म ११ किलोमिटर रहेको तेस्रो प्याकेजको भौतिक ३० र वित्तीय प्रगति २५ प्रतिशत पुगेको छ । यो खण्डमा ३३ करोड २० लाख रुपैयाँ लागतमा रायमाझी–गल्वा जेभीले काम गरिरहेका छन् । यो प्याकेजको म्याद आगामी पुस १३ सम्म थप गरिएको छ ।