Close This

गेटालाई विश्वविद्यालय बनाउने थप प्रक्रिया अगाडि बढ्यो

बिहीबार चैत २, २०७९/ Thursday 03-16-23
Paschim Today

धनगढी, २ चैत । कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने मन्त्रिपरिषद्को निर्णयसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थप प्रक्रिया अघि बढाएको छ ।

मन्त्रिपरिषद्को गत माघ २९ गतेको बैठकले उक्त कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । उक्त निर्णयसँगै मन्त्रालयले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक निर्माण सुरु गरेको छ । भौतिक संरचना निर्माण तीव्र पारिएको छ ।

विधेयक निर्माणका लागि मन्त्रालयले समिति गठन गरेको छ । समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि तथा सुदूरपश्चिम प्रदेशका स्थानीय विज्ञ सदस्य रहनुभएको मन्त्रालयले जनाएको छ । 

समितिले विधेयक निर्माण अघि बढाएको छ । त्यहाँ आवश्यक पर्ने जनशक्ति, भौतिक संरचनालगायतका विषयमा पनि छुट्टै अध्ययन भइरहेको छ । जनशक्ति व्यवस्थापन तथा बजेट तर्जुमा विषयमा अर्थ मन्त्रालयसँग परामर्श भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ । सुरुमा मेडिकल कलेज स्थापनाका लागि भनेर सरकारले जग्गा व्यवस्थापन तथा संरचना निर्माण अघि बढाएकाले भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ ।  

गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले संरचना निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । कलेज निर्माणका लागि हालसम्म पाँच अर्ब ४० करोड रुपियाँ लगानी भइसकेको छ । संरचना निर्माण सम्पन्न भइसक्दा साढे सात अर्ब रुपियाँ अनुमान गरिएको उनले जानकारी दिए । उनका अनुसार १३ वटा प्याकेजमा निर्माण सुरु गरिएकोमा हालसम्म सातवटा प्याकेज सकिएका छन् । छवटा प्याकेजको काम आगामी २०८० चैतसम्ममा सकिने निर्माण सम्झौता छ । 

तत्कालीन सरकारले मेडिकल स्थापनाका लागि २०५६ सालमै गेटा आँखा अस्पताल अगाडि ७७ बिघा जमिन छुट्याएको थियो । २०६५ सालमा सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन पनि भएको थियो । २०७१ सालमा शिलान्यास भएको थियो । २०७४ सालबाट पूर्वाधार निर्माण सुरु भएको हो । छ सय शय्याको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन निर्माण भइरहेको छ । निर्माणसँगै आन्तरिक सडक कालोपत्रे, ढल व्यवस्थापन, पानी र विद्युत् जडान भइरहेको छ ।

तर विश्वविद्यालयलाई कुन मोडलमा लैजाने भन्ने विषयमा भने अहिले ठोस छलफल भएको छैन । हाल सञ्चालनमा रहेकामध्ये अधिकांश विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री उपकुलपति र कार्यकारी प्रमुखका रूपमा उपकुलपति रहने व्यवस्था छ । पछिल्लो चरणमा खुलेको मदन भण्डारी प्राविधिक विश्वविद्यालय र खुल्ने अन्तिम चरणमा रहेको योगमाया विश्वविद्यालयमा भने अध्यक्षात्मक प्रणाली अपनाइएको छ । 

कैलालीको गेटामा खुल्न लागेको उक्त विश्वविद्यालयलाई भने कुन मोडलमा लैजाने भन्ने निक्र्योल विधेयक संसदमा लगेपछि मात्रै हुने मन्त्रालयले जनाएको छ ।