रौतहटमा आगलागीबाट १९ घर जलेर नष्ट
वीरगञ्ज, २७ चैत्र । रौतहटमा एकैदिन छुट्टाछुटै स्थानमा भएको आगलागीबाट १९ घर जलेर नष्ट भएका छन् भने एक करोडभन्दा बढीको क्षति भएको छ। आइतबार एकैदिन जिल्लाको इशनाथ नगरपालिका, परोहा नगरपालिका र माधवनारायण नगरपालिकाका विभिन्न स्थानमा भएको आगलागीबाट १९ वटा घर जलेर नष्ट भएका हुन्। आगलागी एक करोड १६ लाख ३५ हजार बराबरको धनमाल जलेर नष्ट भएको रौतहट प्रहरीले जानकारी दिएको छ।
आइतबार दिउँसो सबैभन्दा बढी माधवनारायण नगरपालिकाको १५ स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी एवं सूचना अधिकारी उमाशंकर प्रसाद यादवले जानकारी दिए।नगरपालिकाको वडा नम्बर ४ मा भएको आगलागीले ठूलो रुप लिँदा १७ वटा घरहरु जलेको यादवले बताए। आगलागीमा घरभित्र रहेको रहेको, लत्ताकपडा,अन्नपात, गरगहना, फर्निचरलगायतका सामानहरु जलेर नष्ट भएको उनले बताए।
यस्तै, परोहा नगरपालिकाको वडा नम्बर ३ र ७ मा गरी तीन स्थानमा आगलागी भएको थियो। यस्तै, इशनाथ नगरपालिका वडा नम्बर ७ ठूलो घिउरा टोलमा आगलागी भएको थियो। आइतबार भएको आगलागी नियन्त्रणमा लिन प्रहरी, स्थानीय र दमकलको सहयोग लिइएको थियो। जिल्लामा रहेको गौर र चन्द्रपुर नगरपालिकासँग मात्रै वारुणयन्त्र रहेका कारण आगो निभाउन समय लागेको थियो।
तपाईको प्रतिक्रिया