टीकापुर साहित्य उत्सवमा बहस

‘द्धन्द बिनाको समाज मृत हुन्छ’

बुधबार चैत २९, २०७९/ Wednesday 04-12-23
Paschim Today

दीर्घराज उपाध्याय ।
टीकापुर, २८ चैत ।

विश्लेषक तथा लेखक सिके लालको ‘बिद्धत प्रवचन’ बाट चैत २५ गते शुरु भएको तीन दिने टीकापुर साहित्य महोत्सव सोमवार सम्पन्न भयो । उद्घाटन सत्रका प्रमुख वक्ता विश्लेषक लालका कुरा सुन्न स्थानीय बासिन्दा जति व्यग्र थिए ।  शास्त्रीय संगीतकै उत्कृष्ट कर्णप्रिय गजल मार्फत वाहीवाही बटुलेका पछिल्लो समयका चर्चित गायक तिलक सिंह पेलाको गजल सुन्ने लत बसेकाहरु ‘के लत बस्यो मलाई’ सुन्न उत्तिकै व्यग्र थिए ।

राजनैतिक घट्ना र बिचारबाट शुरु भई र संगीतले समापन गरेको र त्यो बीचमा तीन दिनसम्म श्रृंखलाबद्ध रुपमा साहित्य, शिक्षा र विकासका मुद्दामा गरिएको बहस, आफैमा अनौठो संयोजन थियो, टीकापुर साहित्य महोत्सव । शुरुवात त्रुटीरहित हुन सक्दैन । सहभागिता, विषयवस्तुको छनौट, समय व्यवस्थापनमा हुने कमजोरी वा असाबधानीले हरेक कार्यक्रमलाई बिबादरहित हुन दिदैन । यसमा छुट्टै बहस हुन सक्छ । तर टीकापुरमा भएको साहित्य उत्सवले शान्त तलाउमा तरंग भने ल्याईदिएको छ ।  टीकापुर साहित्य महोत्सव साहित्य मार्फत आशा, उर्जा, सद्भाव र सकारात्मक सोच प्रवाह गर्न धेरै हदसम्म सफल भएको छ ।

टीकापुर त्यो मात्र होईन, टीकापुर घट्नापछि जे बाहिर हल्ला गरिएको छ । टीकापुर त्यो मात्र होईन, जे बाहिर सुनिएको छ । टीकापुर हाउगुजी जस्तो बनाईयो । टीकापुरलाई लिएर नकारात्मक कुरा बढि भए । कतिपयले टिप्पणी गरे–टीकापुर अव सक्कियो ।

ती सबै नकारात्मक छाप र हल्लालाई चिरेर महोत्सवले सन्देश दिएको छ–टीकापुरको विकास र समृद्धि एउटा घट्नाले ठप्प हुन सक्दैन । टीकापुर त प्रचुर संभावना भएको शहर हो ।

साहित्य उत्सवमा अतिथिका रुपमा  सहभागी हुन आउदै गर्दा कतिपयले मलाई सोधे, तिमी त्यहाँ किन जान लागेको ? त्यहाँ गएर के सन्देश दिन्छौ ? विश्लेषक लालले भने, टीकापुर नामसंग थुप्रै बिबादहरु जोडिएकोले मलाई यस्ता प्रश्न गरिएका थिए । मेरो उनीहरुलाई जवाफ थियो, म सुन्न जान लागेको हो । आफूलाई लागेको कुरा भन्न जान लागेको हो ।

उनले टीकापुरलाई देशकै व्यवस्थित शहर बनाउने सपना देखेका खडक बहादुर सिंहले उनकै परिकल्पना र योजनामा टीकापुर शहर बनेको स्मरण गरे । उनले भने, खडक बहादुर सिंहको परिककल्पनालाई साकार बनाउने ईञ्जिनियर शंकर नाथ रिमाल हुन् । जसले यो शहरको खाका कोरेका हुन् । उनले सिंह र रिमालले टीकापुरलाई बिर्सन नहुने गुन लगाएको बताए ।
काठमाण्डौंबाट सुदूर भनेर निर्माण गर्न खोजिएको भाष्य प्रति लेखक लालले आपत्ती जनाए । ‘टीकापुर मुटु हो, सुदूर होइन,’ सीके लालले भने, ‘यो केवल माटोको टुक्रा मात्रै पनि होइन ।’
उनले नेपालको पहिलो व्यवस्थित शहर राजविराज र दोस्रो टीकापुर भएको बताए ।

उनले बिबिधतामा हुर्किएको टीकापुर बिभिन्न जातजाती र भाषाभाषीको मौलिकतामा हुर्किएको चर्चा गरे । कतिपयले टीकापुर घट्नालाई लिएर एक तर्फी रुपमा बुझ्छन् । लालले भने, नहुनु पर्ने घट्ना टीकापुरमा भयो । तर त्यही घट्नाले टीकापुरको संभावनालाई निमिट्यान्न पार्न सक्दैन ।

उनले हरेक समाजमा द्धन्द हुने गरेको र द्धन्दले समाजलाई अग्र दिशामा लैजाने विश्वास गरे ।

द्धन्द बिनाको समाज मृत हुन्छ । शासक र शोषितका बीचमा बर्चस्ववादी र अस्तित्व खोजिरहेका मान्छेका बीचमा सधै द्धन्द हुन्छ, अधिकार, न्याय, समानताका लागि हुने द्धन्दले समाजलाई शान्ति र समृद्धि तर्फ लैजान्छ । जहाँ मान्छेले थिचोमिचो, दमन सहीरहन्छन, त्यो समाज अघि बढ्न सक्दैन । 

सिके लालको कुरा उत्सुकतापूर्वक सुनेका सहभागीहरु त्यसपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्व उपप्रधान मन्त्री डा. भीम रावलका कुरा सुन्न आतुर थिए ।

क्षमता भएका तर राजनीतिमा किनारा लागेका दुई डाक्टरको पिएचडीको बिद्धता फरक फरक छ । डा. भट्टराई जातीवादी नेताका रुपमा चिनिन्छन । भट्टराई सहितका नेताहरुको उक्साहटमा टीकापुर घट्ना भएको आरोप एकथरीले लगाउदै आएका छन् । डा. रावल क्षेत्रीय राजनीति गर्ने नेताका रुपमा चिनिन्छन । जसले भट्टराईको राजनैतिक लाईनको सधै बिरोध गरे । एकजना थरुहटका पक्षधर । अर्को अखण्ड सुदूर पश्चिम आन्दोलनका पक्षधर । डा. भट्टराई रेशम चौधरीहरु निर्दोष रहेको तर्क गर्छन । र, उनी सहित जेलमा रहेका सबैको रिहाईको माग गर्छन । रावल भने टीकापुर घट्नालाई राजनैतिक रुप दिन नहुने अडान राख्छन ।

राजनीतिका दुई फरक धु्रवमा रहेका दुई नेतालाई एउटै मञ्चमा राखेर सन्तुलित बहस गर्नु आफैमा चुनौतीपूर्ण थियो । किनकी उत्सव आयोजनाको अर्थ सद्भाव कायम गर्नु थियो । न कि बिगार्नु । पत्रकार समा थापाले दुबै जना नेतालाई बहसको अन्तिम समयसम्म ‘आउट अफ ट्रयाक’ हुन दिईनन ।

कतिपयले आलोचना पनि गरे, सिके लाल, भीम रावल र डा. बाबुराम भट्टराई जस्ता अतिवादीलाई ल्याएर सद्भाव कायम हुन्छ ? उनीहरु भित्र डर पनि थियो, कही यिनीहरुको अभिव्यक्तिले निको हुदै गएको टीकापुर घट्नाको घाऊ फेरि नबल्झियोस ।
हो, पनि उत्सवको उद्देश्य नै थियो, ‘फरगिभ एण्ड फरगेट’–अर्थात क्षमा गर र बिर्सिदेउ । अव पछाडि फर्केर हेर्ने होईन, टीकापुरको बिकास र समृद्धिका लागि थारु–पहाडी भावना नराखी हातेमालो राख्दै अघि बढ्ने हो ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टीकापुर घटनालाई बिर्सेर अघि बढ्नु पर्ने बताए । विगतको घाउलाई कोट्याएर मेलमिलापको वातावरण नबन्ने बताउदै उनले सबै समुदायले मेलमिलापको भावना बोकेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले २०७२ भदौ ७ गतेको टीकापुर घटनाका मुख्य योजनाकार रहेको आरोपमा कैदी जीवन बिताईरहेका पूर्व सांसद रेशमलाल चौधरी लगायतको रिहाई हुनुपर्ने भट्टराईको भनाई थियो । टीकापुर घटनालाई परिवर्तनका लागि भएको राजनीतिक घटनाका रुपमा व्याख्या गर्दै भट्टराईले भने, ‘त्यो दुःखद घटना थियो । परिवर्तनका लागि भएको लडाई थियो’ उनले भने ‘यस्ता घटना विगतमा पनि भएका थिए । सबै राजनीतिक दलले परिवर्तनका लागि विभिन्न समयमा हतियार बोकेकै हुन ।’

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले अदालतमा विचाराधिन मुद्दा भएकाले आफूले टीकापुर घटनाका बारेमा कुनै प्रतिक्रिया नदिने बताए । उनले कैदी रिहाई हुने कुरा अदालतको विषय भएकाले विवादास्पद टिप्पणी नगर्ने जवाफ दिए ।‘यो अदालतको विषय हो । मैले बोल्दा टिका टिप्पणी हुनसक्छ’ उनले भने ‘यस विषयमा केही नबोलौं ।’

बहसमा स्थानीयलाई प्राथमिकता खोई ? कतिपयले यस्तो प्रश्न नगरेका होईनन । तर स्थानिय नवप्रतिभाहरुलाई आफ्नो सृजना सुनाउने यत्ति महत्वपूर्ण प्लेटफर्म त्यही साहित्य महोत्सवले नै जुराई दिएको थियो । र त, मान्छेहरु साँझ परेपछि घर फर्किन आतुर हुने टीकापुरमा आफ्ना कविता र गजल सुनाउन अवेर रातिसम्म पालो पर्खेर बस्थे ।  

टीकापुरबाट उदाएका उद्यमीहरुका बीचमा भएको बहसमा सहभागी नेपालको सबैभन्दा ठूलो होटल समूह सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले २०५४ मा टीकापुरमा चाउमिन र मःमबाट शुरु गरेको व्यवसायले आजको अवस्थासम्म आईपुगेको सुनाए ।

५० हजार रुपैयाबाट व्यवसाय शुरु गरेका न्यौपानले हाल ३२ वटा होटल आफ्नो स्वामित्वमा रहेको जानकारी दिदै अढाई दशकमा प्राप्त गरेको यो सफलता धैर्यता, लगनशिलता र ईमान्दारिताबाट संभव भएको सुनाए ।

उनले पर्यटन, शिक्षा, स्वास्थ्यका दृष्टिकोणले टीकापुर प्रचुर संभावना भएको शहर भएको बताए । तर त्यसका लागि सडक र भौतिक पूर्बाधार भने आवश्यक हुने औल्याए ।

आरएमई स्कुलका संस्थापक तथा नेपाल ईन्फ्रास्ट्रक्चर प्रा.लिका अध्यक्ष टेकराज रेग्मीले युवाहरुले अवसर तथा जागीरको खोजीमा विदेश जान नपर्ने बताए ।

डेढ दशकमा दुई सयभन्दा बढिलाई रोजगारी दिएका रेग्मीले सफलताका लागि युवाहरुमा धैर्यता र लगनशिलता आवश्यक भएको बताए । उनले भने, तत्काल सफलता खोजेर पाईदैन, त्यसका लागि मिहिनेत गर्न पर्छ ।

कृषि पर्यटन अभियन्ता कालु हमालले टीकापुर कृषि पर्यटनको हव बन्ने विश्वास गरे । केरा बारीभित्र रिसोर्ट सञ्चालन गरेका हमालले केराका ४२ वटा परिवार बनाएर केरा मार्फत पर्यटन र व्यवसाय संभव भएको सन्देश दिएको बताए ।

बहसका सहजकर्ता पत्रकार दीर्घराज उपाध्यायले संसारका हरेक विकसित देशको सभ्यता र विकास नदीसंग जोडिएको चर्चा गर्दै देशकै लामो नदी कर्णाली छेउमा रहेको टीकापुरको बिकास ठप्प हुन नसक्ने बताए ।

सुदूरपश्चिमलाई केन्द्र भागमा राखेर गरिएका अधिकांश बहसको उठान भने टीकापुरबाट गरिएको थियो । सबल स्थानीय सरकारः विकासको मुलआधार, नेपाली नाटक मञ्चनः विगत र वर्तमान, स्थानीय विकासमा समुदायको परिचालन, बदलिँदो स्थानीय समाज सहज कि असहज, कुन सबल ? थारु लेखक कि थारु पात्र, सुदूरपश्चिम विकासमा सधैं पछाडि किन पछाडि ? नेपाली साहित्यमा सुदूरपश्चिम कहाँ छ ? आदि विषयमाथि चर्चा परिचर्चा भएको थियो ।

उत्सवमा शिक्षाका कुरा पनि भए । कस्तो शिक्षा आवश्यक ? भन्ने विषयमा बहस भयो । रुचि नै नभएको आख्यानका विषयमा पनि दर्शक झर्को नमानी सुनिरहे । आख्यान किन पढ्ने ? कस्तो आख्यान पाठकले खोजेका छन् ? पाठकको ईच्छा एकातिर आख्यान अर्कोतिर त गईरहेको छैन, शिवानी सिंह थारुलाई पत्रकार दीपक सापकोटाले पेचिलो प्रश्न गर्न समेत भ्याए ।

टीकापुर साहित्य समाजका अध्यक्ष महेश बिक्रम शाहले टीकापुर घट्नापछि थारु र पहाडीबीच बढेको दूरी र बिग्रिएको सद्भावलाई साहित्य उत्सव मार्फत मेटाउने प्रयत्न सफल भएको बताए ।

त्यो घट्नाले एक अर्काप्रति अविश्वास र डर पैदा गरिदियो । मिलेर बसेका समुदायहरुबीच दूरी बढायो, वर्षौदेखि कायम रहेको सद्भाव र भाईचारालाई खल्बल्याईदियो, शाहले भने, साहित्य मार्फत सद्भाव कायम गर्ने सोचले टीकापुर साहित्य महोत्सव आयोजना गरेका हौ । यसले सबैलाई एकै थलोमा ल्याएको छ । सबैका बिचारहरु एकै थलोमा सुन्न पाएका  छौ ।

उनले देशभरीबाट आएका ख्यातिप्राप्त साहित्यकार तथा बिभिन्न बिधाका बिशिष्ट व्यक्तिहरुले महोत्सवबाट फर्केर टीकापुरका विषयमा सकारात्मक चर्चा गर्ने विश्वास व्यक्त गरे । उनले भने, जसले टीकापुरको नकारात्मक छविलाई मेटाउन सहयोग पुग्ने  छ ।

टीकापुरमा साहित्य महोत्सव आयोजना गरी स्थानीय र राष्ट्रिय स्तरका साहित्य, कला, आर्थिक, सामाजिक र बिकासका विविध पक्षमा ख्याति प्राप्त बौद्धिक ब्यक्तित्वहरुका बीच बहस गराई सिर्जना र नवीनतम चिन्तनको बौद्धिक थलोका रूपमा टीकापुरलाई स्थापित गर्ने हाम्रो सपनाको जग प्रथम टीकापुर साहित्य महोत्सव २०७९ सम्पन्न भएको छ, टीकापुर साहित्य समाजका उपाध्यक्ष साहित्यकार हिक्मत थापाले भने, टीकापुर साहित्य महोत्सव साहित्य मार्फत आशा, उर्जा, सद्भाव र सकारात्मक सोच प्रवाह गर्न धेरै हदसम्म सफल भएका छौ ।

पहिलो पटक साहित्य उत्सव आयोजना गरिएकोले सोचे अनुसार उत्कृष्ट हुन सकेन होला । त्रुटी, कमजोरी र ब्यबस्थापकीय कमिहरु रहे । अझै धेरै समाबेशी कार्यक्रम र सहभागी बनाउन सकिएन । जुन कुरा हाम्रा लागि सिकाईका रुपमा रहेका छन् । आगामि वर्ष यसमा सुधार गर्नेछौ, उनले भने, भव्यतापूर्वक महोत्सव सम्पन्न गर्न सहयोग गर्ने सबै प्रति आभार र कृतज्ञता व्यक्त गर्दछौ ।