नेपाल अमेरिका पत्रकार संघको अधिबेशन ह्युष्टनमा शुरु
ह्युष्टन,टेक्सास, २० मे ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा) को ८ औं अधिबेशन तथा १६ औं साधारण सभा अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा शुरु भएको छ ।
नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश बिष्टले शनिवार नेजाको अधिबेशन उद्घाटन गर्दै अमेरिकामा रहेका पत्रकारहरुको छाता संगठनका रुपमा नेजालाई पत्रकार महासंघले स्वीकार गरी सोही अनुसारको व्यवहार गरेको बताए ।
उनले नकारात्मक र निराशाजनक शिर्षक र समाचारहरुभन्दा सकारात्मक र खुशी पत्रकारितामा जोड दिन पत्रकारहरुलाई आग्रह गरे ।
नेपाली पत्रकारहरुले पटक पटक अत्यन्त कठिन घडी झेलेको स्मरण गर्दै लोकतन्त्रको सुदृढिकरण र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघले खेलेको भूमिकाको प्रशंसा गरे ।
उनले नेजाको अधिबेशन तथा साधारण सभाको सफलताको कामना गर्दै सहमतीबाट नयाँ नेतृत्व चयन गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, गैर आवासीय नेपाली संघ अमेरिकाका उपाध्यक्ष सुमन थापा, सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले नेजाको अधिबेशन तथा साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।
अधिबेशनमा अमेरिकामा नेपाली पत्रकारिता र नेपाली भाषाको संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याए वाफत मोहन गुरुङलाई सम्मान गरिएको थियो ।
नेजाका अध्यक्ष विकास राज न्यौपानेको अध्यक्षतामा शुरु भएको अधिबेशनको सञ्चालन सचिव सुरज भण्डारीले गरेका थिए ।
दुई दिनसम्म चल्ने अधिबेशनले दुई वर्षका लागि नेजाको नयाँ नेतृत्व चयन गर्नेछ ।
तपाईको प्रतिक्रिया