आशा, संभावना र भविश्य
दीर्घराज उपाध्याय ।
मान्छेहरु यतिबेला चरम निराशामा छन् । व्यवसाय सञ्चालनका लागि लिएको ऋण तिर्न सकेका छैनन । साँवा र व्याँजको किस्ता नतिरेको महिनौ भयो । किस्ता तिर्न बैंकले ताकेता गरिरहेको छ । तर किस्ता तिर्न सक्ने अवस्था छैन ।
एक जना व्यवसायी सुनाउदै थिए, १० वर्षमा बैंकलाई सय करोड रुपैयाभन्दा बढि व्याँज मात्र तिरे । तर तीन महिना किस्ता तिर्न नसक्दा बैंकले सम्पत्ती लिलाम गर्छु भन्दैछ ।
अर्का व्यवसायीले गुनासो सुनाए, कुनै बेला बैंकका म्यानेजरहरु ऋण लिईदिन आग्रह गर्दै घरमै पुग्थे । तर अचेल अफिसमै जादा बोल्दैनन । पहिले चिया चिसो सोध्नेहरु अहिले चिन्दैनन ।
जिन्दगीमा सधै साथीभाईलाई सहयोग गरे । साथीभाईलाई समस्या पर्दा जति रकम पनि सहयोग गरे । अचेल तिनै साथीभाईले कल उठाउन छोडे । अर्को एक गुनासो सुनाउदै थिए, साथीभाईसंग संवाद नभएको महिनौ भयो । चिया गफ त परको कुरा । योबीच कति पटक बिसञ्चो भयो, याद गर्न छोडि दिए । तर आफ्ना भन्नेहरुले नसिम्झदा लाग्छ, के सम्बन्ध भन्नु यत्ति हो ? जिन्दगी भन्नु यत्ति हो ?
धितोका रुपमा हाम्रो घरजग्गा छ । ऋण नतिरे हाम्रो जायजेथा लिलाम हुने हो । व्यवसायीहरु गुनासो गर्छन्, हिजो मुस्कान सहित तातोचिसो सोध्ने बैंकका म्यानेजरहरुका आँखामा आक्रोश छ । झर्केर बोल्छन । मानौ उसको निजी सम्पत्ती खाईदिएका छौ, हामीले ।
एउटा बैंकबाट दुई करोड रुपैया ऋण लिएको थिए, अर्को बैंकको म्यानेजरले ताकेता गरी त्यही धितो र कारोवारमा आफ्नो बैंकबाट चार करोड रुपैया दिलायो, व्यवसायीको आरोप थियो, हिजो आवश्यकताभन्दा ऋण दिने म्यानेजरहरु अहिले समयमा किस्ता नतिरेकोमा हकार्छन । खाउला झै गर्छन । हिजो आफ्नो बैंकबाट ऋण लिनु प¥यो भनेर फोन गरेर हैरान गर्थे । अहिले किस्ता नतिरे जायजेथा लिलाम गरिदिन्छु भन्दै धम्क्याउछन् ।
आम व्यवसायीलाई दीपावलीको उज्यालोले छुन सकेको छैन । न मनमा दीपावलीको उमंग छ । न उत्साह । बाहिर जति झिलिमिली भए पनि मनमा उज्यालो छैन । भोलि उठी कहाँ जाने केही थाह छैन गीत जस्तो भएको छ, आम व्यवसायीको जिन्दगी ।
एक व्यवसायी सुनाउदै थिए, जतिबेला साथमा केही थिएन । त्यतिबेला सबै थोक थियो, उत्साह, सपना, रहर र आकांक्षाहरु । यतिबेला सबैथोक छ, व्यवसाय, साथीभाई, सम्बन्धहरु । तर उत्साह, सपना, रहर र आकांक्षाहरु छैनन ।
व्यवसायीहरु भन्छन्, हामीले बैंकको व्याज तिर्दैनौ, ऋण चुक्ता गर्दैनौ भनेकै छैनौ । हामीले सरकारसंग आग्रह गरेका हौ, व्याज र साँवा तिर्ने वातावरण बनाई दिनु पर्यो । व्यापार अघि बढाउने सहज बातावरण खोजेका छौ । ऋण माफ गरिदेउ भनेका होईनौ ।
अर्का व्यवसायी भन्दै थिए, जायजेथा लिलाम भए समाजका अगाडि कसरी मुख देखाउने होला ? हिजो त लोकलाजको डर हुन्थ्यो । अव त त्यो डर पनि छैन । गलत काम गरेको होईन । कुलतमा लगानी डुबाएको होईन । समय प्रतिकुल भयो । समय र सरकार दुबै प्रतिकूल भए । न सरकारले व्यवसायीका पीडा बुझ्यो । न त बैंकहरुले । व्यवसायी नै रहेनन भने बैंकहरु कसरी जोगिएलान ? अनि नागरिक नै नजोगिए देश कसरी जोगिएला ? कहिले शासकहरुको घैटोमा घाम लाग्ला ?
जसले सधै भन्यो, जिना यहाँ मरना यहाँ । अव उ देश छोड्ने कुरा गर्दैछ । जसले कहिले विदेश जाने सपना देखेन । अव उ डिभी भर्ने कुरा गर्दैछ । जसले यहीको माटोमा आफ्नो जीवन व्यतित गर्ने अठोट गरेको थियो । यतिबेला उ, देश छोड्ने मौकाको पर्खाईमा छ ।
शासकहरुलाई बस्, विकासको चिन्ता छ । नागरिकको चिन्ता छैन । नागरिक नै नरहे त्यो विकासको के अर्थ ? सरकार यति संवेदनाशुन्य छ ? यस्तो लाग्छ, शासकलाई नागरिकको मनोदशा र अवस्थासंग कुनै सरोकार छैन । जसको कोही छैन, उसका लागि राज्य हुनुपर्छ । यहाँ त नागरिकता दिनु बाहेक राज्यको दायित्व अरु केही छैन ।
व्यवसायीहरुका गुनासा, समस्या र पीडा समान छन् । भोगाई समान छन् । बैंक र आफन्तबाट भोगेको व्यवहार उस्तै छन् । भन्छन्, बाहिर जानु कहाँ जानु ? घरमा श्रीमतीको किचकिच उस्तै । घरबाट बाहिर पाईला ननिकालेको कति भयो भयो ? गाडी थियो । बैंकले तान्यो । मोटरसाईकल उहिल्यै बेचिदिए । साईकल कसरी चढ्नु ?
समस्या सबैलाई छ । तर सबैलाई आफ्नै समस्या ठूलो लाग्छ । आफूले भोगेको समस्या अरुले पनि भोगिरहेको कुरा उ बिर्सिन्छ । र, आफूले बैंक किस्ता र साथीभाईको सापटी किन तिर्न सकेन, उसले बिर्सिन्छ । र, सापटी दिएको साथीभाईसंग यस्तो व्यवहार गर्छ कि, मानौ उसले पैसा भएर पनि सापटी फिर्ता नगरेको हो ।
साथीभाईहरु साथीभाई जस्ता रहेनन । प्रगाढ सम्बन्ध अव खोक्रो भईसक्यो । आफ्नै साथीले चेक बाउन्स गरेको सुनाउदै एक जना व्यवसायी गुनासो गर्दै थिए, जसलाई विश्वास गरेर चेक दिएको थिए,उसैले बाउन्स गरिदियो ।
भाईभतिजा बिराना भए । आफ्नाहरु टाढा भए । न मानवता जीवित रह्यो । न सम्बन्ध । हास्नेहरु फोस्रो हासो हासिरहेका छन् । रुन नसकेर गुम्सिएका छन्, व्यवसायीहरु । जसको मनमा अथाह पीडा छन् । न रुन सक्छन । न हास्न । न त कसैलाई अभिव्यक्त नै गर्न सक्छन् । कहिल्यै नभोगेको पीडा भोगेका छन्, आम व्यवसायीहरुले ।
बिहानदेखि साँझसम्म भेटिने व्यवसायीहरुका पीडा एउटै छन् । एक जना व्यवसायी भन्दै थिए, यसो सोच्छु, कोरोना अहिलेसम्म रहीरहे हुन्थेन ? कि लैजान्थ्यो । कि मास्क लगाएर बाहिर निस्किन मिल्थ्यो । कसैले हतपती त चिन्थेनन । चिनिहाले भने टाढाबाटै नदेखे झै आफ्नो बाटो लाग्न त हुन्थ्यो । अव त त्यो अवस्था पनि रहेन ।
जायजेथा उही । बैंक उही । हिजो चार गुणा बढि मूल्यांकन गरेर ऋण दिने बैंक, आज चार गुणा कम मूल्यांकन गरेर जायजेथा लिलाम गर्दैछ । यो अन्यायको खिलाफ बोलि दिने कोही छैन । सुनिदिने कोही छैन । व्यवसायीहरु भन्छन्, सरकार हुनु र नहुनको अर्थ छैन । बैंकका नारा मिठा छन् । व्यबहार भने नमिठो छ । बैंक साथी होईन, कसाही भएका छन् । घाटीमा तरवार राखेर बसेका छन् । थाह छैन, घरवार कतिखेर लिलाम गर्छन ।
केहीदिन अघि धनगढीबाट काठमाण्डौं जादै गर्दा प्लेन नराम्ररी हल्लियो । यात्रुहरुको रुवावासी भयो । कोही कराउदै थिए । कोही आँखा चिम्लेर अगाडिको सीटमा टाउको दबाएर बसेका थिए । एक जना व्यवसायी सुनाउदै थिए, जतिबेला कालले लैजाओस भन्ने चाहेको थिए, त्यतिबेला आएन । बैंकको सबै सावा, व्याज तिरिसकेपछि पो कालले लैजाने भयो ।
कोभिड यता ६५ वर्षीय एक जना व्यवसायीले झण्डै पाँच सय करोड रुपैया गुमाए । जिन्दगीभर मिहिनेत गरेर जोडेको व्यवसाय धराशायी हुदा पनि उनी आत्तिएका छैनन । बिचलित भएका छैनन । भन्छन्, सम्पत्ती रहेन त के भयो ? म त जीवित छु । बाँच्नु पर्यो, सम्पत्ती त फेरि जोड्ने छु ।
बैंकले बढिमा सम्पत्ती लिलाम गर्ने हो । त्यो भन्दा बढि के गर्ने हो । राम्रो गर्ने कोसिस गरेकै थिए, समय र परिस्थितिले साथ दिएन । आज आम व्यवसायीको अवस्था मेरो जस्तै छ । एकातिर व्यवसाय धराशायी भयो । अर्कोतिर बैंकले ताकेता गरेर सताएको छ, एक जना व्यवसायी भन्छन्, समय सधै यस्तै रहिरहने छैन । हो, यो कठिन समयमा जोगिन भने जरुरी छ ।
धराशायी व्यवसाय र बैंकको ताकेताले थुप्रै व्यवसायीहरु डिप्रेसनको शिकार भएका छन् । यी सबै दवाव र तनावहरुबाट यतिबेला जसले आफूलाई उभ्याईरहन सक्यो, जसले जोगाईरहन सक्यो । त्यो भोलि फेरि उठ्नेछ । फैलाउनेछ, फेरि आफ्नो व्यापार ।
हो, कठिन घडीमा आफूलाई जोगाउन नसकेर संसारकै ठूलो जीव डाईनोसर लोप भएको ईतिहास छ । त्यो कठिन घडीमा आफूलाई जोगाउन सकेको छेपारोको संसारमा अझै अस्तित्व छ । शरीर भीमकाय भएर मात्र हुदो रहेनछ । आत्मविश्वास बलियो हुनु पर्दोरहेछ ।
कसैगरी यो बेला जोगिन पाए हुन्थ्यो भन्ने छ, सबैको सोच । तर जोगिने कसरी निरुपाय छन्, मान्छेहरु । युद्धमा हारेको सैनिक जस्तो । न सपना बाँकी छन् । न त रहरहरु । न त बाँच्ने चाहना । यस्तो समय त कहिल्यै आएको थिएन ।
सम्पत्ती शुन्य हुदा फरक पर्दैन । किनकी यो समाजको हरेक मान्छे शुन्यबाटै उठेको हो । जन्मजात अथाह सम्पत्ती कसैसंग थिएन । हो, आत्मविश्वास शुन्य हुनु भएन । जोसंग आत्मविश्वास छ, संसार त्यसैले जित्छ ।
बस, आशा जीवित रहिरहन पर्छ । संभावना भन्ने चिज त मान्छे मरे पनि मर्दैन । जोसंग आशा छ, आत्मविश्वास छ । दृढ ईच्छाशक्ति छ । त्यो फेरि उठ्ने छ ।
तपाईको प्रतिक्रिया