Close This

झाक्रीले एनआरएनलाई देखाएको ऐना

शनिबार कार्तिक ११, २०८०/ Saturday 10-28-23
दीर्घराज उपाध्याय

तिबेला वामपन्थी युवा नेतृ रामकुमारी झाक्री गैर आवासीय नेपाली संघको महाधिबेशनमा दिएको अभिव्यक्तिका कारण चर्चामा छिन् । दशैं अघि उनले महाधिबेशनमा एनआरएनको विषयमा गरेको टिप्पणी अझै सेलाईसकेको छैन । निर्मम रुपमा प्रस्तुत भएकी झाक्रीले केही सत्य तर सरकारले लुकाएका तथ्यहरु पनि खोलिन ।

नेपालको राजनीतिलाई लिएर विदेशमा बसेर तिमीलाई टिप्पणी गर्ने अधिकार छैन । त्यहीको नागरिकका हैसियतमा बस, अझ उनले प्रष्टसंगै भनिन, तिमीहरुलाई गैर आवासीय नेपालीको नागरिकता दिएको हो ।  मताधिकारको आसै नगर ।

जवकी परराष्ट्र मन्त्रि एनपी साँउदले एक महिनाअघि अमेरिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले गैर आवासीय नेपालीलाई मताधिकार दिने तयारी गरेको मात्र बताएनन । त्यो तयारी अन्तिम चरणमा रहेको समेत भन्न छुटाएनन । झाक्रीले सरकारका तर्फबाट बाडिएको झुट्टा आश्वासनको पोल मात्र खोलिनन, नेपालको राजनीतिमा चासो राख्ने भए, विदेशको नागरिकता त्यागेर आउन गैर आवासीय नेपालीहरुलाई चुनौती पनि दिईन ।

त्यही क्रममा झाक्रीले एनआरएनहरुलाई होच्याउने र अपमान गर्ने शब्दहरुको समेत प्रयोग गरिन । एनआरएनहरुप्रति यतिधेरै आक्रोश र वीषबमन गर्दा पनि झाक्रीको बिरोध भएन । नेपालमा बस्नेहरुले त वाहीवाही गरे नै ।  प्रवासमा बस्नेहरुले समेत झाक्रीको तारिफ गरे । उनको अभिव्यक्तिको त्यो भिडियो रातारात भाईरल भयो ।

आफूलाई एनआरएनएको नेता र अभियन्ता भन्नेहरुले समेत झाक्रीको अभिव्यक्तिको बिरोध गर्न सकेनन । के एनआरएनहरुको नैतिक धरातल यतिधेरै कमजोर भएको हो ? आफ्नै मञ्चमा, आफ्नै बिरोध हुदा पनि मौनता साँधेर बसेका एनआरएनहरु यतिधेरै लाचार, कमजोर र निरीह कसरी भए ?

किन एनआरएनहरुले झाक्रीलाई एकमुष्ठ जवाफ दिन सकेनन ? हो, चुनावको नतिजालाई सहर्ष स्वीकार गर्दै एक ढिक्का भएर देश बनाउने प्रण गरेको भए, त्यही प्रण झाक्रीलाई दरो जवाफ हुन्थ्यो । तर एनआरएनहरु यस्तो किन गर्थे ?

खासमा त्यहाँ एनआरएनए त कोही थिएनन । त्यो भित्र नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी थिए । अव रास्वपा र अरु दलहरु पनि त्यसको हिस्सेदार लालायीत छन् । बाहिरी आवरणमा एनआरएनएको निर्बाचन भनिएपनि त्यहाँ दुईटा कुराको निर्बाचन हुने गरेको छ । पहिलो, पार्टीका उम्मेदवारहरुको । दोस्रो, पैसाका उम्मेदवारहरुको । सत्य यही हो कि, जुन व्यक्तिको दलका नेताहरुसंग पहूँच छैन । र, जोसंग पैसा छैन । न त्यो व्यक्ति टिकट पाउछ,  प्यानलमा पर्छ । न त चुनाव जित्छ ।

एकथरी छन्, एउटाको पैसा लिएर अर्कैका लागि चुनाव लडिदिने । उनीहरु आफू जित्न होईन, कसैलाई हराउन प्रयोग भईरहन्छन । जसलाई बुख्याचा उम्मेदवार भनिन्छ । कोही खर्च जुटाउन उम्मेदवार हुन्छन । बार्गेनिङ गर्छन । र, बस्नलाई लाखौ रुपैया लिन्छन । उनीहरु जित्नका लागि वा जित्छु भनेर उम्मेदवार भएकै हुदैनन । आफ्नो हैसियत उनीहरुलाई थाह नभएको होईन । फेरि पनि उनीहरु प्रत्येक पटक चुनावमा उठ्छन ।

प्रवासमा बस्ने पार्टीका एकथरी नेता यस्ता छन्, जो सधै चुनावमा हावी हुन्छन । सबै उम्मेदवारहरुसंग पैसा लिन्छन । एउटै भोट सबैलाई बेच्छन । उनीहरुले जसलाई फेसबुकमा बोक्छन । त्यसलाई त भोट नै हाल्दैनन । जस्लाई भोट हाल्छन, त्यसलाई फेसबुकमा बोक्दैनन ।

उनीहरुका लागि त दुई वर्षमा होईन, हरेक महिनामा चुनाव आउदा मज्जा हुन्छ । काम कसले गरोस । चुनावमा दुई वर्षको खर्च एकै पटक जुटिहाल्छ । बाहिरबाट हेर्दा उनीहरु कुनै पार्टीको आवरणमा छन्, कुनै पार्टीका नेता हुन् । र, उनीहरुले पार्टीको लाईनका मान्छेहरुभन्दा अरुले टिकट पाउनु हुदैन भनेर सबैभन्दा बढि रडाको गर्छन । तर आफ्नै प्यानललाई न आफू भोट हाल्छन । न त आफ्नै कार्यकर्तालाई भोट हाल्न लगाउछन् । यो पटक मात्र होईन, अहिलेसम्म भएको त्यही हो । भोलि पनि यही प्रबृति दोहोरिने हो । टीम मेकरहरु पनि भोट हाल्दा पैसा र आफ्नो अनुकुल मान्छेलाई भोट हाल्दै आएका छन्, जोबाट आर्थिक लाभ हुन्छ । पार्टी त बस्, देखाउने दाँत हो । चपाउने त अर्कै छ ।

टीम एउटाको बनाउछन् । भित्र प्रचार अर्कैको गर्छन, जसले हवाई जहाजको टिकट काटिदिएको छ । काँग्रेस र स्वयम जन सम्पर्क समितिका नेताहरु भन्छन्, ७५ प्रतिशत एनआरएनहरु काँग्रेसी छन् । अनि काँग्रेसको प्यानलका उम्मेदवाहरुले भोट चाही २५ प्रतिशत नपाउनुको कारण के होला ? उनीहरु मौन छन् । कि नेता बेचिए ? कि भोटरहरु ? कोही न बेचिई त यस्तो परिणाम आउदैन ।

भोट हाल्ने बेला अर्कैलाई हाल्ने । अनि परिणाम आएपछि भन्ने–धाँधली भयो ।
कम्तिमा अव यो नौटंकी बन्द गर्नुपर्छ ।

हिजो शेष घले समूहलाई किनारा लगाउदा खुशी मनाउनेहरु आज आफै किनारा लागेका छन् । अहिले तीनै मान्छेहरु निर्बाचनमा धाँधली भयो भनेर भन्दैछन्, जसले हिजो घले समूहले अन्याय भयो भनेको सुन्न चाहेनन । यही हो, मत्स्यन्याय हो । जहाँ समझदारी र बिबेकले अर्थ राख्दैन ।

हिजो बद्रि केसी, आरके शर्मा र महेश श्रेष्ठहरु मिलेर शेष घलेको समूहलाई किनारा लगाए । आज श्रेष्ठ र केसी नै आपसमा मारकाट गरिरहेका छन् । केसीका बिरुद्ध श्रेष्ठ र आरके शर्माहरु संगठित भएर लागेका छन् । चुनावमा को जित्यो, को हार्यो थाह छैन ? एनआरएनए भने हारिरहेको छ । अव त चुनावमा हार्नेले समानान्तर कमिटि गठन गर्ने परम्परा नै बनिसक्यो । एनआरएनएका लागि यो दुर्भाग्य हो । एनआरएनको साख बचाउने हो भने एनआरएनए भित्रका सबै समूहसंगै हिड्नु र मिल्नुको बिकल्प छैन । त्यसको अर्थ चार वटा अध्यक्ष बनाउनुपर्छ भन्ने होईन । पदलाई गौण र एनआरएनएलाई सर्बोपरी नमानेसम्म हरेक चुनावमा यो प्रबृति दोहोरिरहने छ ।

सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरिरहेका छन् । र, काँग्रेसका एनपी साँउद परराष्ट्र मन्त्री छन् । अव हेर्न बाँकी छ, उनीहरु बिधि र पद्धतिलाई स्वीकार गर्छन कि, निर्बाचनमा पराजित आफ्ना पार्टीका उम्मेदवारहरुले बनाएको समानान्तर कमिटिलाई मान्यता दिन्छन ?

प्रधानमन्त्री दाहाल र परराष्ट्र साँउदले नव निर्बाचित समितिलाई बधाई दिन कञ्जुस्याई गर्नु र पराजित उम्मेदवारहरुले बनाएको समितिलाई रातो कार्पेट बिछ्याउनुले प्रष्ट संकेत गरिसकेको छ–सरकारले केसी नेतृत्वको निर्बाचित समितिलाई कुनै हालतमा पनि मान्यता दिने छैन ।

तर अध्यक्ष लगायतका अधिकांश पदमा पराजित भएपनि निर्बाचित कमिटिका थुप्रै पदाधिकारी र सदस्यहरु त नेपाली काँग्रेस, जनसम्पर्क समितिहरु र परराष्ट्र मन्त्रि साँउदले सिफारिस गरेर टिकट पाएका हुन् । निर्बाचित भएर शपथ लिएका उनीहरुलाई समेत मान्यता दिन यतिबेला काँग्रेसी नेताहरुलाई सकस भएको छ ।

हारेपछि संयुक्त कमिटि बनाउने बुद्धि कसले दियो ? चुनाव लड्दा त्यो बुद्धि किन आएन ? एनआरएनका नाममा भईरहेको यो भद्दा प्रहसन र जग हसाई बन्द गरिनुपर्छ । यसैमा सबैको हित छ ।

देश बर्बाद ग¥यो भनेर नेपालको राजनीति र दलहरुलाई गाली गरेर नथाक्ने गैर आवासीय नेपालीहरु किन तीनै दलका खराव कुराहरु मात्र अनुशरण गरिरहेका छन् ? किन उनीहरु सच्चिन र सुध्रिन तयार हुदैनन । नेपालमा दल र दल भित्र जति गुट छन् । त्यति नै गुट एनआरएनभित्र पनि छन् । त्यही कारण प्रवासमा रहेको बौद्धिक र बिभिन्न बिधा र क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरु एनआरएनमा जोडिन तयार हुदैनन । र त, ठूलो संख्या बाहिर रहेको छ ।

जति रकम एनआरएनएको निर्बाचनमा उम्मेदवारहरुले खर्च गर्छन, त्यति रकम खर्च गरेको भए तिनको जन्मथलोमा स्कुल, बाटो, स्वास्थ्य चौकी बन्थ्यो होला । अझ सबै उम्मेदवारहरुले गर्ने खर्चको हिसाव गर्ने हो भने नेपालमा यो २० वर्षमा कति वटा जलविद्युत आयोजना निर्माण हुन्थ्यो होला । तर उनीहरु भने शौचालय बनाएकोमा दंग पर्दैछन् ।

गैर आवासीय नेपाली संघको राजनीति गर्नेहरु सबै खराव छन् भन्नु गलत हुन्छ । सबैलाई एउटै डालोमा हालेर आरोप लगाउन पनि मिल्दैन । अहिलेको अवस्था आउनमा यसका संस्थापक र अगुवाहरु पनि उत्तिकै जिम्मेवार छन् । जसको जुंगाको लडाईको शिकार भएको होे, एनआरएनए ।

उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्यहरुले एनआरएनएको साख जोगाउने हो भने एक ठाँउमा उभिनुको बिकल्प छैन । सरकारले होईन, हस्तक्षेप एनआरएन जन्माउनेहरुले गर्नुपर्छ । किनकी यसको माया सरकारलाई भन्दा बढि उनीहरुलाई हुन्छ । हुनुपर्छ ।

भिष्म पितामह र द्रोर्णाचार्यहरु लाचार हुदा महाभारतमा दुशासन र दुर्योधनहरु हावी भए । परिणाम के भयो ? गलतलाई साथ दिदा त्यसको परिणाम पनि दुखान्त हुन्छ । त्यसको उदाहरण महाभारत हो । न हस्तिनापुर रह्यो । न रोईदिने कोही । उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट, कुमार पन्त, कुल आचार्यहरु धृतराष्ट्रको अवतारमा छन् । आँखा जन्मजात गुमाएका धृतराष्ट्रले पुत्र मोहले बिबेक पनि गुमाए । त्यही बिबेक गुमाउदा उनले सय छोरा र हस्तिनापुर समेत गुमाए । कही उनीहरुको अवस्था पनि यस्तै नहोस । जुन चिजका लागि लडाई भईरहेको छ, त्यही चिज नरहने अवस्था उनीहरुलाई थाह नहुने कुरै भएन । यति अबुझ त उनीहरु पनि पक्कै छैनन ।

ललिता निवास प्रकरणमा जोडिएकोले एनआरएनले पहिले आफ्नो भवन गुमाउने छ । र, अहिलेको समिति डेरामा सर्नुपर्नेछ । अझ सरकार नै बिपक्षमा उभिएका बेला यो समितिले बैधानिकता पाउने छैन । किनकी निर्बाचित समितिको पक्षमा न त प्रधानमन्त्री दाहाल छन्, न त परराष्ट्र मन्त्रि साँउद ।

त्यसपछि शुरु हुनेछ, बैधानिकताको लडाई । अहिलेको निर्बाचित समिति न्यायका लागि अदालत जानेछ । यो जरुरी छैन कि दुई वर्षभित्र त्यसको फैसला हुन्छ । फैसला हुदासम्म दुई वर्ष बितिसकेको हुनेछ । निर्बाचित समिति कामै गर्न नपाई भूतपूर्व भईसक्नेछ । निर्बाचित समितिलाई किनारा लगाएर आरके शर्माले काम गर्नेछन् भन्ने बलियो आधार पनि छैन । हो, सरकारको आडमा उनी हावी भने हुनेछन् ।

तर यो एनआरएनको समाप्तीको बाटो हुनेछ । हुन त अव सकिनलाई के नै बाँकी छ र ? तीन जना अध्यक्ष बनाएर एक हुन नसेकेको एनआरएन त्यसै दिन सकिएको थियो । जुन दिन एनआरएनभित्र दलको नेता समातेर टिकट लिने परपाटी बस्यो । त्यसैदिन एनआरएनले पहिचान गुमायो । र, यो दलको भातृ संगठनमा परिणत भयो । जव चुनाव एजेण्डाले होईन, पैसाले जित्न थाल्यो । जव खरिद बिक्री हुन थाले डेलिगेटहरु, तव उसको बाँकी साख पनि धुमिल भयो । सोल्टीमा भएको प्रहसन त्यसैको बिदु्रप रुप हो ।

एनआरएनका नाडी छामिसकेकी झाक्रीले सामान्य अध्ययन र अनुभवले सत्य तर यस्तो कटु अभिव्यक्ति दिने दुस्साहस गरेकी होईनन । यो एक किसिमको दुस्साहस नै थियो । चक्रव्यूह भित्र पसेर चुनौती दिने दुस्साहस अभिमन्युहरुले मात्र गर्न सक्छन । हो, आक्रोशमा संयमता गुमाएकी झाक्रीले भलै अभिव्यक्तिका क्रममा सन्तुलत गुमाईन । र, केही अपमानजक शब्दहरु पनि बोलिन । तर दुई दशकदेखि एनआरएनभित्र मौलाएका बिकृति र त्यो भित्र भएको राजनीतिका अगाडि ती शब्दहरु ओझेलमा परे । गैर आवासीय नेपालीका नेताहरुलाई तिनकै ऐनामा अनुहार देखाउदै झाक्रीले भनिन, ल हेर तिम्रो अनुहारको दाग । कहिलेसम्म पुछिरहन्छौ, ऐना ?

आफैतिर तेर्सिएका आरोपहरु चुपचाप सहने अदभूत क्षमता कुन बुटीबाट एनआरएनएहरुले प्राप्त गरे, खोज त अव यसमा पो हुनु पर्ने देखियो ।

झाक्रीले बोलेको कुरा गलत देखाउन त पहिले एनआरएनहरु एक ठाँउमा उभिनु पथ्र्यो । र, भन्नु पथ्र्यो, तिमीले जे बोल्यौ, गलत बोल्यौ । सिंगो एनआरएनमाथि लगाएको लाञ्छना र आरोपहरु हामी खारेज गर्छौ ।

तर यो भन्ने तागत गुमाईसकेका एनआरएनहरुका लागि त्यस्तो भन्न सक्ने नैतिक धरातल समेत बाँकी नरहनु दुर्भाग्यपूर्ण कुरा  हो ।