कैलालीमा कार्यालयको सरसफाइमा जुटे कर्मचारी

धनगढी - जेन-जी आन्दोलनका क्रममा ध्वस्त बनाइएका कैलालीस्थित विभिन्न कार्यालयहरूमा सरसफाइ गरेर अस्थायी रूपमा पुन:सञ्चालनको प्रयास सुरु गरिएको छ ।
आगजनीबाट पूर्ण रूपमा क्षति भएको धनगढीस्थित त्रिनगर भन्सार कार्यालय सरसफाइ गरेर अत्यावश्यक सेवा सुरु गरिएको भन्सार प्रमुख अनन्तप्रसाद तिम्सिनाले बताए ।
कैलालीकै गोदावरी नगरपालिकाको कार्यालयका कर्मचारी पनि बुधबार बिहानैदेखि सरसफाइमा जुटेका छन् । केही दिनमा आधारभूत काम सुरु गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेको प्रशासकीय अधिकृत शिवराज भाटले बताए । यस्तै पालिका भवनसहित सम्पूर्ण वडा कार्यालय पनि ध्वस्त पारिएको घोडाघोडी नगरपालिकाको १ नम्बर वडामा वैकल्पिक भवनमा व्यवस्था गरेर बिहीबारदेखि राजश्व संकलन, नागरिकता सिफारिसलगायतका अत्यावश्यक कार्य सुरु गर्ने वडाध्यक्ष घनश्याम ओझाले बताए ।
सम्पूर्ण वडा कार्यालयसहित आगजनी गरिएको कैलारी गाउँपालिकाले पालिका भवनमा वैकल्पिक व्यवस्था गरेर सामाजिक सुरक्षा रकमका काम सुरु गर्न लागिएको जनाएको छ । जिल्ला अदालत कैलालीका कर्मचारी पनि दुई दिनअघि देखि नै सरसफाइमा जुटिरहेका छन् । यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि कर्मचारीहरूले सरसफाइ सुरु गरेका छन् ।
तपाईको प्रतिक्रिया