Close This

एउटै ट्रकमा भेटियो करिब १५ टन तामाजन्य तार

बिहीबार पौष २६, २०८०/ Thursday 01-11-24
Paschim Today

धनगढी, २६ पुस ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुदूरपश्चिमद्धारा गरिएको तामाजन्य (स्क्रप कपर तार) कवाडी सामानको लिलाम बिक्रीमा अनियमितता भएको पुष्टि भएको छ ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयद्धारा कैलालीको गेटास्थित दुरसंचार कार्यालयमा गरिएको तामाजन्य (स्क्रप कपर तार) कवाडी सामानको लिलाम बिक्रीमा अनियमितता भएको आरोपमा लागेपछि ट्रकहरु नियन्त्रण लिई छानबिन गर्ने क्रममा एउटै ट्रकमा बरामद भएको परिणामका आधारमा लिलामी प्रकृयामा अनियमितता भएको खुलासा भएको हो ।

लिलाम गरिएको तामाजन्य (स्क्रप कपर तार) कवाडी सामानको परिणाम एउटै ट्रकमा भेटिएको छ । दुई वटा ट्रक मध्य अत्तरीयामा नियन्त्रणमा लिईएको ट्रकमा रहेको तामाजन्य कवाडी सामानको तौल लिईएको हो । अर्को ट्रक भने तौल गर्नै बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयले प्रशासकीय अधिकृत शिवराज जोशीको संयोजकत्वमा गठन छानविन समिति गरेको छानबिन समितिले बिहीबार दिनभरीमा इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको ट्रकको सामान तौल  गरेको हो । कवाडी लिलामी प्रकृयामा अनियमिता भएको आरोपमा ट्रक नियन्त्रणमा लिईएपछि जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

छानबिन समितिका संयोजक जोशीले एउटै ट्रकबाट १४ हजार नौ सय ८२ किलो तामाजन्य (स्क्रप कपर तार) बरामद भएको बताए । उनले जिल्ला प्रहरी कार्यालयमा राखिएको अर्को ट्रकमा रहेको तामाजन्य (स्क्रप कपर तार) तौलिन बाँकी रहेको बताए । तौल गर्न बाँकी रहेको ना ६ ख ४६० नम्बरको ट्रकलाई पनि आइतबार नै सशस्त्र प्रहरीको टोलीले कैलालीकै हसुलियाबाट नियन्त्रणमा लिएको थियो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरियामा दुरसञ्चार कार्यालय गेटाबाट निकासी भएको सामानको परिमाण १५ हजार ६७९ किलो (१५.६७९ टन) रहेको अभिलेख छ । तर इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाको नियन्त्रणमा रहेको रा. १ ख ३२०६ नम्बरको ट्रकमा रहेको सामान तौल गर्दा १४ हजार ९८२ किलो (१४.९८२ टन) भेटिएको हो ।

अनियमितताको आशंकामा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको निर्देशनपछि टेलिकमबाट लोड भएर नेपालगञ्ज लैजान लागेका दुई वटा ट्रकमध्ये एउटा नेपाली प्रहरी र अर्को सशस्त्र प्रहरीको टोलीले आइतबार बाटोबाटै नियन्त्रणमा लिएको थियो ।

टेलिकमका कार्यालयका अनुसार प्रवल थापाको नाममा रहेको बिएलएस कन्स्ट्रक्सन काठमाडौं नामक कम्पनीले टेलिकमको सुदूरपश्चिम प्रादेशिक निर्देशनालयसँग मंसिर २४ गते ९६ टन कवाडी खरिदको सम्झौता गरेको छ । टेलिकमको सम्पर्कमा कम्पनीको तर्फबाट श्याम कुमार जैशवालले कारोबार हेर्ने गरेका छन् ।

उक्त कम्पनीले टेलिकसँग प्रतिकिलो भ्याटसहित ८ सय ५० रुपैया ८९ पैसामा खरिद सम्झौता गरेको छ । ठेक्का सम्झौता अनुसार टेलिकमले लिलाम गरेको उक्त तामाजन्य सामग्रीको बिक्री मूल्य प्रति टन भ्याटसहित आठ लाख ५० हजार ८९० रुपैया पर्छ ।

ठेकेदार कम्पनीले निर्देशनालयका अनुसार कम्पनीले हालसम्म ६७ हजार २४९ किलो सामान उठाइसकेको अभिलेख छ । तर १५ हजार ६७९ किलो (१५.६७८ टन) निकासी भएको टेलिकमको अभिलेखमा झण्डै दोब्बर परिमाणमा सामान निकासी भएको भेटिए पछि यसअघिका अनियमितता भएको आशंका गरिएको छ ।

छानबिन समितिका संयोजक जोशीले दुई वटै ट्रकमा रहेका सामान तौलिएपछि छानबिन समितिले प्रमुख जिल्ला अधिकारीलाई प्रतिबेदन बुझाउने बताए ।