Close This

रक्सीले मातेर श्रीमतीको हत्या, उद्धारका लागि गएका छिमेकीमाथि आक्रमण

आइतबार माघ ७, २०८०/ Sunday 01-21-24
Paschim Today

 दाङमा रक्सीले मातेका एक व्यक्तिले श्रीमतीको मध्यरातमा रड प्रहार गरेर हत्या गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा गएको २० जनाको प्रहरी टोलीले हत्या आरोपी पण्डुलेलाई राति नै नियन्त्रणमा लिएको छ ।

शनिवार राति मदिराले मातेका पेण्डुले घरभित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

पण्डुले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

घाइते छिमेकी एक युवा र एक महिला भने उपचारपछि राति नै घर फर्किसकेका छन् ।