Close This

महावीरले अमेरिकाबाट नेपाल ल्याउन लागेको 'विमान' चोरी

शुक्रबार माघ १२, २०८०/ Friday 01-26-24
Paschim Today

काठमाडौँ । अमेरिकाका एक नेपाली व्यवसायीले नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएको थियो । चोरी भएको केही समयपछि उक्त जहाज जलाइएको अवस्थामा फेला परेको छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनीश प्रधानले उक्त हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउन लागेका थिए । नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा कन्टेनरमा राखिएको थियो ।

जहाज राखिएको उक्त कन्टेनर नेपाल पठाउने प्रक्रिया पनि सुरु भइसकेको थियो । तर, नेपाल पठाउनुअघि नै कन्टेनरसहित उक्त जहाज चोरी भएको समाचारमा जनाएको छ । जहाजसहितको उक्त कन्टेनर जनवरीको पहिलो साता अमेरिकाको टोरेन्सबाट चोरी भएको बताइएको छ ।

नेपाल पठाउने प्रक्रियामा रहेको विमानसहितको कन्टेनर चोरी भएपछि अनीशले स्थानीय प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले अघि बढाएको अनुसन्धानका क्रममा एउटा ट्रकले उक्त कन्टेनरलाई तानेर लगेको सीसीटीभी फुटेजमा देखिएको थियो ।

तर, प्रहरीले पनि चोरको विषयमा थप केही पत्ता लगाउन सकेको थिएन । यो घटना उक्त क्षेत्रमा व्यापक चासोको विषय बनेको थियो । त्यसको केही समयपछि प्रहरीले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर फेला पारेको थियो । उक्त तस्बिरमा एउटा कन्टेनर जलाइएको अवस्थामा देखिएको थियो ।

पछि अनीशले तस्बिरमा देखिएको कन्टेनर आफ्नै भएको पुष्टि गरेका थिए । ‘म निकै निराश भएको छु । चोरले गेटको ताला फुटाएर जहाजसहितको कन्टेनर चोरेर लग्यो,’ अनीशले भनेका छन् । उनले लामो समयदेखि अमेरिकामा साना प्लेनको पाइलटको प्रशिक्षण केन्द्र सञ्चालन गर्दै आएका छन् ।

उनी आफ्नो प्रशिक्षण केन्द्रमा विमानको मर्मत सम्भार पनि गर्छन् । अनीशका अनुसार, चोरी भएको प्लेन नेपालमा सञ्चालित आविष्कार केन्द्रमा पठाएर आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई पाइलटको प्रशिक्षण दिने योजना बनाइएको थियो ।

‘मैले यो जहाज बनाउन निकै परिश्रम गरेको थिएँ । चोरले हामी धेरैको सपना भताभुङ्ग पारेको छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा अनीशले भनेका छन् । नेपाल पठाउने तयारीमा रहेको उक्त जहाजको लम्बाई २२ फिट र चौडाइ ३५ फिट रहेको थियो । जहाजको तौल भने एक हजार पाउण्ड्सभन्दा बढी थियो ।