Close This

आयुर्वेद उपचार पद्दतिमा बैतडीका नागरिकहरुको आकर्षण बढ्दो

शुक्रबार माघ १९, २०८०/ Friday 02-02-24
Paschim Today

बैतडी । पछिल्लो समयमा आयुर्वेद उपचार पद्दतिमा  नागरिकहरुको आकर्षण   बढ्दै गएको छ । बैतडीका   विभिन्न स्थानमा आयुर्वेद उपचारका लागि सरकारी संरचनाहरु बनेपछि नागरिकको आयुर्वेद उपचार पद्दतिमा आकर्षण  बढ्दै गएको हो । अहिले जिल्लाको मेलौलीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने तीनओटा पालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् ।

ती केन्द्रहरु मार्फत आयुर्वेद उपचार सेवा प्रदान भइरहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख हिक्मतबहादुर चन्दले बताए । जिल्लाको पुर्चौंडी नगरपालिका, सुर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र रहेका छन् । यी केन्द्रहरुबाट पूर्वकर्म र पञ्चकर्मका सेवा समेत सञ्चालनमा रहेका चन्दले बताए । यस्तै जिल्लाको दशरथचन्द नगरपालिकाको वडा नं ४ शाहीलेकमा र वडा नं १ मुस्याचोरमा आयुर्वेद औषधालय रहेका छन् ।

यी दुवै औषधालयहरुबाट आयुर्वेद सम्बन्धि विभिन्न सेवाहरु सञ्चालनमा रहेका दशरथचन्द नगरपालिकाका आयुर्वेद शाखा प्रमुख नरेन्द्र कलौनीले बताए । बाथव्याधी लगायतका रोगहरुमा आयुर्वेद उपचार पद्दति राम्रो रहेको कलौनीले बताए । यस्तै पायल्स,दम लगायतका रोगहरुको पनि आयुर्वेद उपचार पद्दतिबाट निदान गर्न सकिने उनले बताए । यस्तै योग पनि आयुर्वेद उपचार पद्दतिकै एक शाखा भएको उनले बताए । विभिन्न रोगहरुबाट बच्न र लागेका रोगहरु निको पार्न योग अचुक औषधि जस्तै भएको कलौनीले बताए । 

पछिल्लो समयमा आयुर्वेद उपचार पद्दतिमा नागरिकको पहुँच विस्तार हुँदै गएको उनले बताए । यसैगरी जिल्लाको सिगास गाउँपालिका वडा नं २ मा समेत गाँजरी आयुर्वेद औषधालय सञ्चालनमा रहेको छ । यस्तै प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा आयुर्वेद सेवा समेत सञ्चालनमा रहेको छ । जीवनशैली परामर्श सेवा केन्द्रका नामबाट आयुर्वेद सेवा सञ्चालनमा रहेको  छ । आयुर्वेद औषधिहरुको प्रतिअसर नहुने भएकाले यस्ता औषधि र उपचारमा नागरिकको विश्वास समेत बढ्दै गएको छ  ।