कोरोनाले स्वरूप फेर्न थालेपछि खोप अभियान सुरु
बैतडी, कात्तिक १३ गते । कोरोना भाइरस ९कोभिड–१९० ले आनुवांशिक स्वरूप परिवर्तन गरेर फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयको नीति अनुसार बैतडीमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । तिहारअघि तीन वटा पालिका र तिहारपछि पाँच वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो । दुई वटा पालिकामा तिहारअघि नै खोप अभियान सम्पन्न हुने चरणमा छ ।
खोप अभियान सञ्चालन गर्न जिल्लाभरि १४८ वटा खोप केन्द्र तोकिएका छन् । अभियानका लागि एक खोप केन्द्रमा एक जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जानकारी दिए ।
उनले भने, “पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा कात्तिक ९ गतेदेखि खोप अभियान सुरु भएको छ । सोमबारदेखि सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा खोप अभियान सुरु गरेका छौँ ।”
उनले खोप अभियान सञ्चालन भएका पालिकामा कोरोनाविरुद्धको खोप नलगाएका १२ वर्षभन्दामाथिका सबै नागरिक र कोरोना खोप लगाएको एक वर्ष पूरा भएका १२ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिने कार्य भइरहेको बताउनुभयो । गर्भवती महिलाको हकमा भने तीन महिना पूरा भएकालाई मात्रै खोप दिने गरिएको छ ।
जिल्लामा थप पाँच वटा पालिकामा भने तिहारपछि खोप अभियान सञ्चालन गर्ने तालिका रहेको छ । पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, डिलासैनी गाउँपालिका र सिगास गाउँपालिकामा कात्तिक २६ र २७ गते, दशरथ चन्द नगरपालिकामा कात्तिक २७ र २८ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए ।
बैतडीमा २०७६ चैत ११ देखि फैलिएको कोरोना सङ्क्रमणबाट हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४८ हजार १६६ सङ्क्रमित भएको तथ्याङ्क छ । दुई लाख ४४ हजार ९६० जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेकामा ९०।१ प्रतिशतले पहिलो मात्राको खोप पाएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाविरुद्धको दोस्रो खोप लगाउने ८६।५ प्रतिशत, तेस्रो मात्रा लगाउने ४२ प्रतिशत र चौथो मात्रा लगाउने ४।८ प्रतिशत रहेका छन् ।
तपाईको प्रतिक्रिया