Close This

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपतिका सल्लाहकार गुरुङ विरुद्ध मुद्दा दायर

शुक्रबार चैत २, २०८०/ Friday 03-15-24
Paschim Today

काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौंमा शुक्रबार मुद्दा दायर भएको छ ।

 १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जना विरुद्ध मुद्दा दायर भईसकेको छ । मुद्दा दायर भएका मध्ये ७ जना पुपर्क्षका लागि थुनामा छन् भने २ जना फरार छन् ।

गुरुङसहित १० जना अभियुक्तलाई समान कसुरमा मुद्दा दायर गरिएको भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जनाए । उनी भन्सार विभागले गठन गरेको सुन तस्करी सम्बन्धी छानबिन समितिका संयोजक समेत हुन् ।

छानबिन र अनुसन्धानमा भरियाहरुले विमानस्थल हुँदै दुबई लगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझि लिने गरेको पाइएको थियो । उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुख समेत हुन् ।

मंसिर २१ गते १४ किलो सुन सहित गोरखाका चन्द्र घले प्रक्राउ परेपछि सुन ल्याउने मुख्य योजनाकार गुरुङ गरेको भेटिएको थियो । उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले गत फागुन १४ गते प्रक्राउ गरेको थियो । प्रक्राउ पछि विमानस्थल भन्सार कार्यालयले गरेको छानविन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिने र व्यवस्थापन गर्ने गरेको भेटिएको थियो ।

भरियाहरुले ल्याएको सुन गोरखाका मिन घले हुँदै गुरुङसम्म पुग्ने गरेको अनुसन्धानमा सहभागी भन्सारका एक अधिकारीले बताए । घले समुहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको छानविनमा क्रममा खुलेको थियो । ‘भरियाले ल्याएको सुन विमानस्थलबाट बाहिर निकालेपछि पहिले मिन घलेले बुझथें । त्यसपछि जीवन गुरुङले भनेको ठाउँसम्म पुर्‍याएर उनैको जिम्मा लगाउने गरेको प्रमाणहरु भेटिएको छ,’ ती अधिकारीले भने ।

उक्त प्रकरणमा मिन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला पुपर्क्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन् । उनीहरु श्रीमान श्रीमती हुन् ।