Close This

फर्किन मन छ त्यो बालापनमा

आइतबार चैत ४, २०८०/ Sunday 03-17-24
दीर्घराज उपाध्याय

त्यो धनगढी
धुलाम्मे एकसरो सडक
त्यो जोशी टाकिज
त्यो बिरेन्द्र–ऐश्वर्य उद्यान
स्मृतिबाट धुमिल भएको
गोरे गोठानीको त्यो स्वीट हाउस
बर्खामा हिड्न नसकिने हिलाम्ये सडक

फर्किन मन्, छ त्यो बालापनमा
दिनुछ, प्रिय मान्छेलाई
जुही चावलाको पोष्टकार्ड
र, लेख्नु छ, मिठो सायरी
र, अरु पनि थुप्रै लेख्न नसकेका कुराहरु

खान मन छ, गोरे गोठानीको जिलेवी
खत्री स्वीट हाउसको समोसा
र, टप ईन टाउनको मःम

ईन्टरभलमा साथीहरुसंग खानु छ, चटपट,
ठण्डा मिठा बरफ
र चाकुको स्वाद लिनुछ फेरि

पोर्चुगलमा पिज्जा पोल्दै गरेको गणेश
उज्यालो सपनाको खोजीमा मायामी पुगेको चेत
टेलिकममा जोडिएर पनि सम्पर्क बिहीन भएको भुवन
अनि सपनाका लागि आफैलाई टाढा लगेको सुरेन्द्र
र, अरु पनि थुप्रै बचपनका यारहरुसंग
गर्नुछ यारी
बाड्नुछ जिन्दगीका सपना
उछिन्नु छैन, पढाईमा भरतलाई
क्लास टप तिमी नै हुनु
बस्, फर्किन मन छ, त्यो बालापनमा

लाईन छिचोलेर मिलेको
सरस्वती पूजाको त्यो एक पोका बुदिया
त्यो भन्दा मिठो अरु
कहिल्यै केही लागेन
र, जसका लागि गथ्र्यौ
एक वर्ष लामो प्रतिक्षा

सरस्वती पूजापछि साथीहरुसंग
हूल बाँधेर जान मन छ, जोशी टाकिज
मान्छेका काँध माथि चढेर टिकट काटेर
हेर्न मन छ, युगदेखि युगसम्म
र, कराउन मन छ, बेस्सरी
बत्ती गएपछि
जोशी हगुल्ठाले ठोसी

फेरि झगडा गर्न मन छ
ती साथीहरुसंग जो जोसंग झगडा गरे
तर कहिल्यै सरी भनेन
अव कहिल्यै बोल्ने छैन भनेर
उ हिड्ने बाटो हिडेन भोलिपल्ट
दुई दिनपछि थाहै नपाई बोल्यौ
सरी भन्न नदिने
त्यो बाल ईगो त्यागेर
यस पटक भन्नु छ, सरी
फर्किन मन छ, त्यो बालापनमा

(बालापनका सबै साथीहरुमा समर्पित)