Close This

बिना मगरलाई सहईन्चार्ज नस्वीकार्ने भन्दै सिनियर पाँच केन्द्रीय सदस्यले गरे छलफल बहिष्कार

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

कैलाली । माओवादी सिनियर केन्द्रीय सदस्यहरूको छलफलमा प्रदेशको सहईन्चार्ज बिना मगरलाई बनाएको प्रति विवाद उत्पन्न भएको छ । फागुन १६ गतेको स्थायी समितिको बैठकले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा गिरिराजमणि पोखरेल र सहईन्चार्जमा बिना मगरलाई जिम्मेवारी तोकिएको थियो ।

जुनियरलाई सहईन्चार्ज बनाएको भन्दै सोही दिनबाट विरोध गरेका माओवादीका नेताहरूले आज धनगढीमा भएको छलफल पनि बहिष्कार गरेका छन् । हेमराज भट्टराई, हरि ज्ञवाली, नेपबहादुर चौधरी, विरमान चौधरी र भगत बडूवालले सामूहिक रुपमा बैठक बहिष्कार गरेका हुन् ।

 

प्रदेश इन्चार्ज पोख्रेल, सहईञ्चार्ज मगरको उपस्थितिमा केन्द्रीय सदस्य तथा प्रदेश सचिवालय सदस्यहरूको बैठकका लागि एजेन्डा तयार गर्न बसेको छलफल पाँच जना सिनिअर केन्द्रीय सदस्यहरूले बहिष्कार गरेका हुन् ।

गत स्थायी समितिको प्रदेशको सङ्गठन सम्बन्धी गरेको निर्णयमा असहमति जनाउँदै उक्त निर्णय नसच्चिएको भन्दै बैठक बहिष्कार गरेको धर्मराज भट्टराईले जानकारी दिए ।

‘सुदूरपश्चिम प्रदेशको सङ्गठन सम्बन्धी गरिएको निर्णय अवैज्ञानिक छ अवस्तुवादी छ । त्यस कारणले यो बेठीक छ यो सच्चाइनु पर्छ भन्ने हाम्रो माग हो’, उनले भने, ‘सिनियर कमरेडहरूलाई बाहिर राखेर जिम्मेवारी दिने प्रक्रियाबारे गम्भीर भएका थियौँ । हामीले हाम्रो कुरा राख्यौँ र बाहिर निस्कियौँ ।’

उनले स्थायी कमिटी बैठकले गरेको उक्त निर्णय सच्चाउन समेत माग गरे । यस अघि नै उक्त निर्णय प्रति असहमति जनाउँदै प्रदेश इन्चार्ज, केन्द्रीय नेतृत्व लगायतलाई जानकारी गराइएको समेत उनले बताए ।

‘आफ्नो माग राख्यौँ प्याकेजमा हल गरिनु पर्छ भन्यौँ । सिनिअर साथीहरूको मनोविज्ञानमा असर पर्ने गरि गरिएको निर्णय स्वीकार्य हुन सक्दैन’, उनले भने ।

यस अघि प्रदेश अध्यक्षले पार्टी अध्यक्षसँग छलफल गर्ने बताएको तर, आजको छलफलमा स्थानीय कमिटी बैठकले गरेकै निर्णय अनुसारको धारणा आएपछि पाँच जनाले सामूहिक धारणा राखेर बैठक बहिस्कार गरेका हुन् ।

पाँच जनाले बैठक बहिस्कार गरेपनि अन्य बहुमत सिनियर केन्द्रीय सदस्यहरूको छलफल जारी रहेको थियो । उक्त छलफल केन्द्रीय सदस्यहरूको बैठकको एजेन्डा र प्रदेश सचिवालय सदस्यहरूको बैठकको एजेन्डा तय गर्ने जनाइएको छ ।