कैलाली- नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना ‘ड्रग्स किङ’लाई भारत उत्तर प्रदेशको पलिया प्रहरीले ११ वैशाखमा पक्राउ गर्यो। धनगढीबाट ३५ किलोमिटर परको पलिया खिरी थानाअन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किङ’ भनिने अंकित माल्या (२५ वर्ष) र सिगहिया कस्बामा डेरा गरी बस्ने बिक्की नेपाली भनिने बिक्की गुप्ता (३२ वर्ष) पक्राउ परेका थिए।
उनीहरूको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद भयो। माल्याको साथबाट २६० र बिक्की गुप्ताबाट १३० ग्राम ब्राउन सुगर बरामद भयो। उनीहरूले नेपाल-भारत सीमामा लागूऔषधको जालो सञ्चालन गर्दै आएका थिए।
०००
गत २१ माघमा प्रदेश प्रहरी र कैलाली प्रहरीको संयुक्त टोलीले धनगढीबाट १ किलो ४० ग्राम चरेससहित ४० वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको थियो। उनी धनगढी उपमहानगर-०३ स्थित ज्ञानु प्लाजा होटेलनजिकबाट समातिएका थिए। बोहरा बझाङको चिरबिथ्थड गाउँपालिका-२ मा स्थायी बासिन्दा हुन्।
सुपप्र०४००१प१४६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई शंका लागेर जाँच गर्दा चरेस बरामद भएको थियो।
०००
सुदूरपश्चिमको युवा पुस्तामा लागू औषधको प्रयोग विकराल बन्दै जाँदा त्यसको सञ्जाल चलाइरहेका व्यक्तिहरू पक्राउ परेका पछिल्ला उदाहरण हुन् यी। केही वर्ष अघिसम्म भारतसँग सीमा जोडिएका जिल्लाहरूमा मात्रै देखिएको लागू औषध सेवन र बिक्री वितरणको सञ्जाल अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा विस्तार भएको प्रहरी अनुसन्धानबाट खुलासा भएका छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आव ०८०-८१ को साउनदेखि वैशाख मसान्तसम्म लागूऔषध मुद्दामा ६८८ जना पक्राउ परिसकेका छन्। यसबाट पनि सुदूरपश्चिममा कसरी लागूऔषध बिक्री र प्रयोग बढिरहेको छ भन्ने प्रष्ट हुन्छ।
यसबीचमा पक्राउ पर्नेहरूमा भारतीय नागरिक ९ पुरुष र २ महिला पनि छन्। उनीहरू सहित ६४२ पुरुष र ४६ महिला पक्राउ परेका छन्। प्रहरीको अनुसन्धानअनुसार भारतीय नागरिकहरू लागूऔषध बिक्री गर्न नेपाल आउने गरेका छन्। र, नेपाली गिरोहले उनीहरूसँग खरिद गरेका लागूऔषध तराई र विकट पहाडी जिल्लाहरूसम्म पुर्याउने गरेका छन्।
प्रदेश प्रहरीका सुदूरपश्चिमको राजधानी रहेको कैलाली लागूऔषधको मुख्य अखाडा बन्दै गएको छ। वर्षदिनभित्र कैलालीमा मात्र ३५८ पुरुष र ३२ महिला गरी ३९० जना पक्राउ परेका छन्।
यस्तै, कञ्चनपुरमा २४३, डडेल्धुरामा १५, बझाङमा ९, बाजुरामा १ जना पक्राउ परेका छन्। डोटीमा ६, दार्चुलामा १५, बैतडीमा ४ र अछाममा ५ जना लागूऔषध कसुरमा पक्राउ परेका छन्। वर्षदिनभित्र लागूऔषधका ४६४ मुद्दा दर्ता भएका छन्।
यस अवधिमा प्रहरीले गाँजा ९१ किलो ५९२ ग्राम, चरेस ८० किलो ५३८ ग्राम बरामद गरेको छ। दुर्व्यसनीहरूले हेरोइनको प्रयोग बढाएको पाइएको छ। यसबीचमा ७५१ ग्राम ११७ मिलिग्राम हेरोइन प्रहरीले बरामद गरेको छ।
यस्तै, नाइट्राभेट, स्पास, फेर्नागन, रेक्सोजेसिक, डाइजेल्याब, कोफिक्स, अफिम, नाइट्राजेपाप्कोरिन, फेनर्गनलगायत लागू औषध पनि प्रहरीले बरामद गरेको छ।
कैलालीका त्रिनगर, टीकापुरको खक्रौला, भजनी र हसुलिया लागूऔषधको अवैध ओसारपसार हुने प्रमुख नाका हुन्। यस्तै, कञ्चनपुरका गड्डाचौकी, दोधारा-चाँदनी, बेलौरी र परासन, बैतडीको झुलाघाट तथा दार्चुलाका खलंगा, सीतापुल, दत्तु, जौलजीवि, तिगरम र लाली नाकाबाट पनि लागूपदार्थको ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।
प्रमुख मुद्दा लागू औषध नियन्त्रण
प्रदेशमा सरुवा भएर आउनेबित्तिकै प्रहरीका हाकिमहरूले लागूऔषध नियन्त्रणलाई मुख्य प्राथमिकता दिने बताउँदै आएका छन्। त्यसका बावजुद घातक लागूऔषध कारोबार घट्नुको साटो मौलाउँदै गएको पाइन्छ।
सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले प्रदेशको कमान्ड सम्हाल्नैबित्तिकै आफ्नो प्रमुख एजेन्डा नै लागूऔषध नियन्त्रण रहेको बताएका थिए। त्यसो त, केसीभन्दा अगाडिका प्रायः सबै डीआईजीको भनाइ उही थियो।
कानून कार्यान्वयन गर्ने निकायले मात्रै लागू औषध नियन्त्रण गर्न सम्भव नभएकाले सरोकारवाला सबै निकायलाई यसतर्फ ध्यान दिन डीआईजी केसीको आग्रह छ। लागूऔषधका कारण हजारौंको जीवन बर्बाद भएको बताउँदै उनले कतिपय अवस्थामा मृत्युवरणसमेत गर्ने गरेको बताए।
‘लागूऔषध सेवनकर्ता अधिकांश किशोर हुन्छन्। कुपोषणबाट ग्रस्त हुन्छन्। रोगप्रतिरोधी क्षमता पनि ज्यादै कम हुन्छ,’ डीआईजी केसी भन्छन्, ‘हिरासतमै ‘सिकेनस’का गम्भीर लक्षण देखापर्छन्। कसै-कसैलाई दैनिक ३-४ पटकसम्म पनि अस्पताल लैजानुपर्छ। तैपनि बचाउन सकिँदैन। अकाल मृत्युवरण गर्छन्।’
लागूऔषध नियन्त्रणको विषय सधैं सरकारहरूको प्राथमिकतामा पर्दै आएको छ। सचेतना अभियान र महाअभियानहरू नै पनि चल्दै आएका छन्।
‘आपूर्ति तथा माग नियन्त्रण र कानून कार्यान्वयनको अवस्था पनि राम्रै छ। तर, समस्या किन यति विकराल हुँदै गइरहेको छ ?’ डीआईजी केसी भन्छन्, ‘कतै यसप्रतिको हाम्रो बुझाइ, प्रतिकार्य र कानूनहरू नै समयसापेक्ष नभएका त होइनन् ? अब ढिलो नगरी समीक्षा गर्नु आवश्यक छ। त्यहीअनुसार राज्यका स्रोत, साधन र संयन्त्र परिचालन गर्नुपर्छ।’
सुदूरपश्चिमका टोल, गाउँ, शहरहरूमा लागूऔषध सेवन, ओसारपसार र बिक्री-वितरण बढ्दो छ। खासगरी, किशोर-किशोरी, स्कुल-कलेजका विद्यार्थीहरू बढी प्रभावित छन्। देशका भविष्य मानिएका विद्यार्थी र किशोर-किशोरीहरू लागूऔषध सेवनमा रकम जुटाउनकै लागि चोरी, कुटपिट, डकैति, लुटपाट, हत्या र हिंसाजस्ता अपराधमा संलग्न हुन थालेका छन्। अर्कोतर्फ लागूऔषध प्रयोगकर्ताहरूको स्वास्थ्य कमजोर हुँदै जानाले त्यसबाट व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै ठूलो क्षति भइरहेको पत्रकार तथा सामाजिक अभियन्ता गणेश भण्डारी बताउँछन्।
भविष्यका कर्णाधारलाई दुर्व्यसनमा फस्न नदिन वा त्यसबाट टाढा राख्न सबैभन्दा महत्त्वपूर्ण र पहिलो भूमिका अभिभावकको हुने उनको ठम्याइ छ। आफ्ना सन्तानलाई सधैं असल संस्कार र व्यवहार सिकाउन घरपरिवार र अभिभावकहरूको पहिलो दायित्व रहेको उनी बताउँछन्।
‘साना उमेरका बालबालिकाले अभिभावकको बोली, व्यवहार, रहनसहन र खानपानको सिको गर्ने हुँदा उनीहरू सामु कुनै पनि नकारात्मक असर वा सिकाइ पर्ने खालका व्यवहार गर्न वा देखाउन हुँदैन,’ उनी भन्छन्, ‘खासगरी, किशोर-किशोरीहरूले किन लागू पदार्थ वा मदिरा सेवन गर्छन् भन्ने कुनै ठोस वा एकल कारण त छैन। तर, अभिभावकहरूले आफ्ना सन्तानहरूको इच्छा, चाहना, मानसिकता नबुझेर तथा हेल्चेक्र्याईं गर्दा उनीहरू दुर्व्यसनमा फस्ने गरेको पाइन्छ।’
गरिबीका कारण बालबालिकालाई स्कुल भर्ना गर्न नसक्नु र भर्ना गरिसकेपछि पनि उच्च शिक्षा दिन नसक्नु तथा रोजगारीको सिलसिलामा घर बाहिर रहने गरेका अभिभावकहरूले आफ्ना सन्तानलाई पर्याप्त समय दिन नसक्नु, सोधेका प्रश्न वा जिज्ञासाहरूको जवाफ दिन झर्को मान्नु र र रेखदेखमा कमी रहनु दुर्व्यसनमा फस्नुका केही प्रमुख कारण देखिएको भण्डारी बताउँछन्।
तपाईको प्रतिक्रिया