नेपालमै हाइड्रोजनमा आधारित युरिया मल उत्पादन गर्ने तयारी

बिहीबार जेठ ३, २०८१/ Thursday 05-16-24
Paschim Today

काठमाडौं । नेपालमा ग्रिन हाइड्रोजनमा आधारित युरिया मल उत्पादनका लागि काठमाडौं विश्वविद्यालय र यूएसएआईडी एग्रिकल्चरल इन्पुट्सबीच सहकार्य भएको छ । बिहीबार धुलिखेलस्थित ग्रिन हाइड्रोजन ल्याबमा भएको कार्यक्रममा दुई संस्थाबीच यस विषयमा समझदारी भएको हो ।

खाद्यान्न सुरक्षा र खाद्यान्न उत्पादनका लागि ग्रिन हाइड्रोजनमा आधारित मलको विशेष महत्त्व भएकाले केयूको पहलमा यो परियोजना अघि बढेको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख एवं उपप्राध्यापक डा। विराजसिंह थापाले बताए ।


“यो परियोजनाका लागि नीतिगत सुरक्षा कहाँ गर्नुपर्छ, कानूनी पाटा कसरी औंल्याउनुपर्छ भन्ने कुरा छलफलकै क्रममा छन् । यसमा आबद्ध भएका सरकारीरगैरसरकारी लगानीकर्ता, विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय सहयोगी संस्था सबैलाई एक ठाउँमा ल्याएर नेपालमा चाँडो र राम्रोसँग मल कारखाना खोल्न दुई निकायले सहकार्य गर्नेछन्,” डा। थापाले टेकपानासँग भने ।

यो सहकार्य अन्तर्गत नेपालमा हालसम्म भएका उपलब्धिहरूको मूल्याङ्कन गर्ने, त्यसमा भएका ग्यापलाई पहिचान गर्ने र इच्छुक संघसंस्थालाई एकै ठाउँमा ल्याइने उनले बताए । 


“हामी जसरी भएपनि नेपालमा चाँडोभन्दा चाँडो ग्रिन हाइड्रोजनमार्फत युरिया कारखाना स्थापना गर्न चाहन्छौं । विश्वविद्यालयले अहिलेसम्म प्राप्त गरेको ज्ञान, सीप, जनशक्तिको विकास र हामीले विकास गरेको नेटवर्कलाई एक ठाउँमा ल्याएर यो कार्यक्रममार्फत नेपालमा एउटा युरिया कारखानाको स्थापना हुने दिशातर्फ हामी दुवै पक्ष जोडिने छौं,” थापाले भने । 

युरिया कारखाना खोल्दा नेपालमा कृषि क्षेत्रका लागि नयाँ बाटो खुल्ने उनको भनाइ छ ।