Close This

अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड धुमधामसंग मनाईदै

आइतबार जेठ ६, २०८१/ Sunday 05-19-24
Paschim Today

न्यूयोर्क, (अमेरिका), ५ जेठ ।
अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपाली समुदायले हरेक वर्ष झै यस वर्ष पनि नेपाल महोत्सव (नेपाल डे परेड) धुमधामसंग मनाउदैछन् ।

मे १९ (आईतबार) का दिन न्यूयोर्कमा नेपाल महोत्सब (नेपाल डे परेड) आयोजना हुदैछ ।  गैर आवासीय नेपाली संघ अमेरिका न्यूयोर्क शाखाको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरुको सहभागितामा न्यूयोर्कको म्यानहाटन शहरमा परेड गर्न लागिएको हो । मूल आयोजक एनआरएनए अमेरिका न्यूयोर्कले नेपाल डे परेड सम्पूर्ण तयारी पुरा भईसकेको जनाएको छ ।

एनआरएनए न्यूयोर्कले नेपाल पहिचान झल्किने भेषभुषा, परिहन, कला संस्कृति र नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष न्यूयोर्कमा नेपाल डे परेड आयोजना गर्ने गरिएको जनाएको छ ।

एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन मल्ललाई नेपाल डे परेडको अध्यक्षको जिम्मेवारी दिईएको छ  भने ई.टेम्बा शेर्पालाई कन्भेनर तोकिएको छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समितिहरु निर्माण गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।

नेपाल डे परेड कार्यक्रम म्यानह्याटनको ३८ स्ट्रीट र म्याडिसन एभिन्युबाट बिहान ११ बजे परेड शुरू हुने आयोजकले जनाएका छन । नेपाल डे परेड कार्यक्रम नेपालीहरुको साझा कार्यक्रम भएकाले ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरि विभिन्न जातजाती संस्था र समुदायका संस्कृति झल्काउने विभिन्न पोशाक, झाँकी तथा नृत्यहरु, नेपालको पर्यटन प्रबर्द्धन गर्ने सामग्रीहरु समेत प्रदर्शन गरिने छ ।

नेपाली समुदायले आयोजना गर्न लागेको साझा कार्यक्रममा बिभिन्न जातीय तथा क्षेत्रीय सँस्थाहरुको सहयोग र सहभागिता रहने छ । १९ मे आईतबारका दिन आयोजना गरिने नेपाल डे परेड कार्यक्रममा सहभागिताका लागि न्यूयोर्क र सो आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई सार्बजनिक रुपमा आह्वान गरिएको छ ।

अमेरिकामा बस्ने नेपाली समुदायले हरेक वर्ष महाउत्सवका रुपमा नेपाल डे परेड मनाउदै आएका छन् । नेपाल डे परेडमा नेपाली समुदायका बिभिन्न बिविधता तथा प्रदर्शन गरिने बिभिन्न सामग्रीहरुले नेपाललाई विश्व सामु फरक पहिचानका साथ चिनाउन योगदान पुग्ने आयोजकको विश्वास छ । साथै नेपाल डे परेडको आयोजनाले नेपालको पर्यटन प्रबद्र्धननमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सन २०१६ देखि हरेक बर्ष मे महिनाको तेश्रो आईतबार नेपाली पहिचानको रुपमा नेपाल डे परेड कार्यक्रम आयोजना हुँदै आएको छ । न्यूयोर्क राज्यमा परेड कार्यक्रमका लागि तीन घण्टाको समय स्वीकृत गर्ने कानुनी व्यवस्था रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।