टिकटकले ३ महिनामा हटायो नेपालका २० लाखभन्दा बढी भिडियो

शुक्रबार कार्तिक १४, २०८३/ Friday 10-30-26
Paschim Today

काठमाडौँ । टिकटकले कन्टेन्ट मोडरेसनका लागि एआईको व्यापक प्रयोग गर्दै आएको देखिन्छ । पछिल्लो त्रैमास अप्रिलदेखि जुनसम्मको तीन महिनाको अविधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका १८ करोड ८२ लाख ९८ हजार १ सय ४१ वटा भिडियो हटाएको थियो । यीमध्ये ९७ प्रतिशत भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोग गरी हटाएको टिकटकको विज्ञप्तिमा उल्लेख छ ।

‘हटाइएकामध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा भिडियो अटोमेटेड डिटेक्सन टेक्नोलोजीको प्रयोगबाट हटाइएका हुन्,’ कम्पनीले भनेको छ, ‘यो टिकटकमा अपलोड गरिएका कुल कन्टेन्टको करिब ०.५ प्रतिशत हो ।’

यस अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका नेपालका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ । यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत मात्रै रहेको कम्पनीले जनाएको छ ।  

नेपालमा हटाइएका सामग्रीमध्ये ९९.५ प्रतिशत भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै प्रोएक्टिभ प्रणालीबाट पहिचान गरिएका थिए । तीमध्ये ९२.३ प्रतिशत भिडियोलाई २४ घण्टाभित्रै हटाइएको विज्ञप्तिमा उल्लेख छ । समीक्षापछि गलत ठहरिएका ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरिएको थियो ।

विश्वव्यापी रूपमा पनि प्रयोगकर्ताको उजुरीअघि नै सामग्री हटाउने दर ९९.५ प्रतिशत नै रहेको छ । विश्वभर २४ घण्टाभित्र ९२.७ प्रतिशत भिडियो हटाइएका छन् भने समीक्षापछि ६२ लाख ६२ हजार ३८३ भिडियो फिर्ता गरिएका छन् । यसै अवधिमा टिकटकले १४ करोड ६८ लाखभन्दा बढी नक्कली खाता र १३ वर्षभन्दा कम उमेरका बालबालिकाको भएको आशंकामा २ करोड ६८ लाखभन्दा बढी खाता हटाएको छ । त्यस्तै, नियमविपरीत रहेका २७ करोड ८३ लाखभन्दा बढी कमेन्ट पनि रिमुभ गरिएका छन् ।

टिकटकले लाइभ फिचरमा हुने गतिविधिको निगरानी र नियम कार्यान्वयनलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । प्रकाशित सामग्रीमध्ये २.४ प्रतिशत लाइभ कन्टेन्ट निलम्बन गरिएको छ । नियम उल्लंघनको कारबाहीस्वरूप टिकटकले ७६ करोड ७ लाख २१ हजार ९३ वटा लाइभ सेसन र २ करोड ६७ लाख ८१ हजार १ सय ३५ जना लाइभ क्रिएटरलाई चेतावनी दिएको वा उनीहरूलाई आम्दानीको सुविधाबाट बञ्जित गरेको जनाएको छ । समीक्षा गरेपछि २३ लाख ९८ हजार ८ सय ४६ वटा लाइभ सेसन पुनःस्थापना गरिएका थिए ।

‘यी नतिजाले ठूलो परिमाणमा नियम उल्लंघन गर्ने सामग्री पहिचान गर्न अटोमेटेड मोडरेसन सिस्टमको भूमिका बढ्दै गएको देखाउँछन्,’ विज्ञप्तिमा भनिएको छ ।

क्रिएटर र कम्युनिटीका लागि सुरक्षित तथा सकारात्मक वातावरण कायम राख्न टिकटकले यस्ता प्रणालीलाई थप प्रभावकारी बनाउन प्रतिबद्धता जनाएको छ। कन्टेन्ट मोडरेसनमा एआई र प्रविधिको भूमिकाबारे टिकटकले आफ्नो आधिकारिक वेबसाइटमा पनि उल्लेख गरेको छ । 

‘प्लाटफर्ममा सामग्री पोस्ट हुनुअघि नै स्वचालित प्रविधिले त्यसको समीक्षा गर्छन्, यसले हाम्रो नीति उल्लंघन गर्ने सामग्री वा खातालाई प्रयोगकर्तामाझ पुग्नबाट रोक्न मद्दत गर्छ,’ टिकटकले भनेको छ, ‘हामी हाम्रो समुदायको सुरक्षा र विश्वसनीयता कायम राख्न उन्नत मोडरेसन प्रविधि र मानवीय सुरक्षा विज्ञको संयुक्त प्रयासमा लगानी गर्छौं ।’

टिकटकले नियमित रूपमा कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गर्दै आएको छ । सन् २०२६ को दोस्रो त्रैमासिकको रिपोर्ट, टिकटकका कन्टेन्ट गाइडलाइन्स, टुल्स तथा पोलिसीबारे थप जानकारीका लागि टिकटकको ट्रान्सपरेन्सी सेन्टरबाट थप विवरण बुझ्न सकिन्छ ।