Close This

न्याभ अध्यक्ष प्रेम राज उप्रेतीलाई स्कलिन सामुदायिक स्वयंसेवक पुरस्कार

शनिबार जेठ १२, २०८१/ Saturday 05-25-24
Paschim Today

मेलबर्न — सामुदायिक सेवामा उनको अथक समर्पणको उल्लेखनीय मान्यता स्वरूप नेपाली संघ भिक्टोरियाका अध्यक्ष प्रेम राज उप्रेतीलाई प्रतिष्ठित स्कलिन सामुदायिक स्वयंसेवक अवार्डसहित सम्मान गरिएको छ ।

गालाडा सामुदायिक केन्द्रमा आयोजित एक समारोहका वीच अष्ट्रेलियाका आप्रवासन, नागरिकता, र बहुसांस्कृतिक मामिलाका मन्त्री एन्ड्र्यू गाइल्सले उप्रेतीलाई उक्त अवार्डसहित सम्मान गरेका हुन् ।

उप्रेती यस पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली डायस्पोरा सदस्य हुन्, जसले समुदायमा भाषा, संस्कृति, र खेलकुद प्रवर्द्धनमा असाधारण योगदान गरेका छन् । उनको नेतृत्व र प्रतिबद्धताले यहाँको नेपाली समुदायको सांस्कृतिक प्रवर्द्धनमा टेवा पुगेको छ ।

स्कलिन क्षेत्र भित्र एपिङ, साउथ मोर्याङ्, बन्डुरा, मिल पार्क, थमस्टाउन,लेलोर पर्दछन् । उक्त अवार्ड प्रदान गर्दै मन्त्री गाइल्सले उप्रेतीले आफ्नो सामाजिक, पारिवारिक चुनौतिको बाबजुद २०१८ देखि समुदायको निम्ती कटिबद्ध रहेर काम गरेको भन्दै प्रशंसा गरे । न्याभमा सदस्य देखि उपाध्यक्ष हुँदै अध्यक्षको रुपमा उनले दिएको योगदानले यहाँको नेपाली समुदायमा भाषा, संस्कृतिको विकासमा काम गर्दै लोकप्रिय रहेको बताए ।

विगत लामो समयदेखि न्याभ मार्फत भिक्टोरियाको नेपाली समुदायमा समाजसेवामा रहिरहेका उप्रेतीले उक्त अवार्ड पाएसँगै आफूलाई समाजसेवाको यात्रामा अझै टेवा पुगेको बताए ।

”यस अवार्डले मलाई आफ्नो यात्रामा अझै बल पुगेको छ”, उनले भने, ”यो पुरस्कार केवल मेरो लागि मात्र होइन, भिक्टोरियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि ठूलो सम्मान हो ।”

 

उप्रेतीलाई उक्त अवार्डको निम्ती इन्द्र अधिकारीले मनोनित गरेका थिए ।

न्याभ भिक्टोरियामा नेपाली आप्रवासीहरूको निम्ती काम गर्दै नेपाली संस्कृति प्रवर्द्धन गर्ने प्रमुख सामुदायिक संस्था हो। सांस्कृतिक आदानप्रदानको लागि एक प्लेटफर्म प्रदान गर्न स्थापित न्याभले विभिन्न कार्यक्रमहरू जस्तै भाषा कक्षाहरू, सांस्कृतिक महोत्सवहरू, र खेलकुद गतिविधिहरूको आयोजना गर्दै समुदाय र अपनत्वको भावना बढाउँदै आएको छ ।

आफ्नो नेतृत्वमा उप्रेतीले यहाँको बहुसांस्कृतिक समुदायमा नेपालीहरुको उपस्थितीलाई बलियो बनाउन उप्रेतीले लामो समयदेखि अहोरात्र खटिदै आएका छन् ।
हाल न्याभले सन्चालन गरेको ५ भाषा विद्यालयमा ३ सय बढी नेपाली विद्यार्थीले अध्ययन गरिरहेका छन् भने हरेक बर्ष न्याभ कप, बहुसांस्कृतिक सकर, बाल दिवससहित नेपाली पर्व विशेष कार्यक्रम हुँदै आएका छन् ।