Close This

‘भ्वाइस अफ नेपाल’का रिहान गिरीले ‘होस्टेल ३’बाट फिल्ममा डेब्यु गर्दै

मंगलबार जेठ २२, २०८१/ Tuesday 06-04-24
Paschim Today

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले केही दिनअघि ‘होस्टेल’को तेस्रो श्रृंखला साइन गरेका छन् ।

यसअघि एक फिल्ममा अनुबन्धित भएपनि भिसा प्रक्रियाको कारण उनी पछि उक्त प्रोजेक्टबाट बाहिरिएका थिए । सशान (सन्तोष) कँडेलले निर्देशन गर्ने यो फिल्मका लागि गिरी बेलायतको सांगीतिक टूर छोट्टाएर साउन पहिलो साता काठमाडौं आउँदैछन् ।

भुटानी नागरिक रिहानले ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा दमदार प्रस्तुति दिएका थिए । हिमालय टिभीको उक्त रियालिटी शोपछि उनको चर्चा नेपाल र भारतमा खुबै चल्यो । उनी रक र सफ्ट-रक जनराको गायनमा चर्चित छन् ।

भदौदेखि छायांकन सुरु हुने फिल्मका अन्य कलाकारका सामाजिक संजालकी कन्टेन्ट क्रिएटर सिम्रन पन्त र भारतको सिक्किमका कमेडियन पदम तामाङ पनि अनुबन्धित भएको जनाइएको छ ।

फिल्ममा रिहानको संलग्नताबारे निर्देशक कँडेलले दुबै मुलुकका लागि यो लाभदायक हुने बताए । फिल्ममा उनले मानव नामक चरित्र निर्वाह गर्नेछन् । ‘हामीले एकदमै फ्रेस महसुस हुने कलाकारको आवश्यकता देख्यौं, सोही कारण फिल्ममा रिहान जोडिएका हुन्’ कँडेलले भने ।

निर्माताले यसअघि यो फिल्ममा सामाजिक संजालका कन्टेन्ट क्रिएटर पारस बम ‘कुल ब्वाय’लाई अनुबन्धित गरेका छन् । यो फिल्मको छायांकन भदौदेखि सुरु हुने जनाइएको छ ।

‘होस्टेल’ सिरिजबाट अनमोल केसी, सलोन बस्नेत, सुशिल सिटौला, सुशिल श्रेष्ठ, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायतका कलाकारले डेब्यु गरेका छन् ।

‘होस्टेल ३’लाई भने सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका निर्माता शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला, सह-निर्माता सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।