Close This

नेप्से परिसूचक ८‍.९० अंकले बढ्यो, साढे ५ अर्ब बराबरको कारोबार

सोमबार जेठ २८, २०८१/ Monday 06-10-24
Paschim Today

काठमाडौँ । सोमबार ८.९० अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै साढे ५ अर्ब हाराहारीको कारोबार भएको छ । 

 

 

दिनभर घटबढ बेहोरेको नेप्से परिसूचक दोहोरो अंकले बढ्न पुगेको थियो । तर कारोबार अवधि सकिने समयमा सामान्य ‘करेक्सन’ हुँदै ८.९० अंकले बढेर बन्द भएको हो ।

 

यस्तै परिसूचक २०८२ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार नेपाल स्टक एक्सचेन्जमा ४.५९ अङ्कको गिरावट आएको थियो । त्यसअघि गत बिहीबार र बुधवार पनि नेप्से परिसूचक घटेको थियो । सोमबार भने लगातार तेस्रो दिनको गिरावटपछि परिसूचक बढेको हो ।

आज नेप्सेमा ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ताभन्दा बढी सेयर किनबेच भयो । यस्तै १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको मूल्य घट्यो । यसबाहेक ९ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै घटबढ भएन ।

यस क्रममा २ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि आएको छ । कुथेरी बुखारी स्मल हाइड्रोपावर र त्रिशूली जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको हो । यसबाहेक पिपुल्स पावर र मोलुङ हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

परिसूचक बढे पनि ६ कम्पनी समूहहरूको सूचकमा भने गिरावट आएको छ । बैंक, होटल र टुरिजम, जीवन बिमा, म्यूचुअल फण्ड, अन्य र व्यापार समूहमा गिरावट आएको छ । यसमध्ये व्यापार समूहमा ६१ अङ्कको र होटल तथा टुरिजम समूहमा ५१ अङ्कको गिरावट आएको छ ।

यस्तै आज निर्जीवन बिमा समूहसहित लघुवित्त, उत्पादनमूलक, लगानी, जलविद्युत, वित्त र विकास बैंक समूहमा वृद्धि भएको छ । यसमध्ये सबैभन्दा बढी निर्जीवन बिमा समूहमा १३४ अङ्कको वृद्धि भएको छ ।