सीटीईभीटीका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा सिपमूलक तालिम दिइने

शुक्रबार असार २१, २०८१/ Friday 07-05-24
Paschim Today

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट पढेका विद्यार्थीलाई अब ऊर्जा मन्त्रालयका परियोजनामा तालिम दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच बिहीबार यस विषयमा द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा सीटीईभीटीबाट पढेका विद्यार्थीलाई ऊर्जा मन्त्रालयका परियोजनामा कार्यस्थलमै अप्रेन्टिससिप’ गराउने उल्लेख छ । सम्झौता पत्रमा शिक्षामन्त्री सुमना श्रेष्ठ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले हस्ताक्षर गरेका छन् ।

'कमाउँदै सिक्दै' अवधारणाका साथ सम्झौता गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । हालको शिक्षाले श्रम बजारको माग अनुसारको सिप दिन सक्नुपर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको भनाइ छ । 

सम्झौता कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सम्झौतापत्र कार्यान्वयन गर्न सके असल अभ्यासको विस्तार हुने बताए ।

 

विद्युत प्राधिकरणले विभिन्न परियोजनामा अहिले पनि इन्टर्न राखिरहेको र उनीहरूको काम र अनुभव प्रभावकारी रहेको उनले बताए ।

ऊर्जामन्त्री बस्नेतले सिप र श्रमलाई संस्कृति बनाउन नसकेकाले विद्यार्थीलाई कार्यस्थलमै लगेर कमाउँदै व्यवहारिक सिप सिकाउन सम्झौता गरिएको बताए ।

 

यस्तो छ प्रक्रिया

सम्झौताअनुसार सीटीईभीटीमा अध्ययनरत विद्यार्थी ऊर्जा मन्त्रालय मातहतका निकायहरूले सञ्चालन गरेका विकास परियोजनामा अप्रेन्टिससिप मोडेलमा सहभागी हुनेछन् ।

ऊर्जा मन्त्रालयले अप्रेन्टिस परिचालन गर्न आवश्यक परियोजनाहरूको सम्बद्ध विषय र क्षेत्रको विवरण शिक्षालाई पाठ्यक्रम विकासका निम्ति उपलब्ध गराउनेछ । कार्यक्रम सञ्चालनमा हुने आउने आर्थिक स्रोतसमेत शिक्षालाई ऊर्जाले नै उपलब्ध गराउनेछ ।

परियोजनाको आवश्यकताअनुसारको पेसा तथा व्यवसायमा कार्यस्थलमा आधारित पाठ्यक्रम निर्माण, परिमार्जन र अद्यावधिक गर्ने जिम्मा शिक्षाले लिनेछ ।

अप्रेन्टिससिप कार्यक्रम गर्न परीक्षा, सिप परीक्षण, स्तरीकरण, प्रमाणीकरण तथा छनोटका मापदण्ड निर्धारण शिक्षा मन्त्रालयले गर्नेछ ।

अप्रेन्टिससिप प्रक्रियामा रोजगार प्रदायक संस्थाहरूसँग समन्वय, सहकार्य र सहजीकरण तथा प्रचार प्रसार ऊर्जा मन्त्रालयले गर्नेछ ।