गुहार माग्दा माग्दै डुबे तीन किशोरी, छेउकाले हेरिरहे जोगाउन सकेनन्

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24
Paschim Today

कैलाली । सोमबारदेखि सन्नाटा छाएको कञ्चनपुर पुनर्वास नगरपालिका–५ (ग) गाउँ अझै तङ्ग्रिएको छैन । त्यो दिन गाउँका तीन किशोरी एकै छिनमा एकै चिहान भए ।

सबैतिर बाढीले वितण्डा मच्चाइरहेको थियो ।प्रहरी प्रशासन उद्धारमा केन्द्रित थियो । करिब करिब सबैलाई सुरक्षित स्थलमा सारिसकेपछि उद्धार सामाग्री, प्रहरी र जनशक्ति फर्किसकेका थिए । त्यतिकैमा तीन जान किशोरी रातोखालेको पानीका डुबेर बेपत्ता भएको सूचना आयो ।

१५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएको खबर उनीहरूसँगै रहेकी १२ वर्षकी अञ्जली बोगटीले सबैलाई खबर गरेपछि बेपत्ता भएकाहरूको खोजी सुरु भएको थियो ।

अञ्जलीलाई पनि डुब्दा डुब्दै जोगाएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम बहादुर रोकायाले जानकारी दिए ।

‘उनीहरु चारै जना डुबेका थिए । अञ्जली नजिकै भएको हुँदा उनको सहजै उद्धार भयो । अरू गुहार माग्दा माग्दै बेपत्ता भए’ वडाध्यक्ष रोकायाले भने ।

त्यो बेलासम्म उद्धार सामाग्री पनि नगरपालिका लगिसकिएको थियो । उद्धार सामाग्री ल्याएर त्यहाँ पुग्दासम्म उनीहरुको मृत्यु भइसकेको थियो ।

डुबेर ज्यान गुमाएका तीनै जना गौरीशङ्कर माध्यमिक विद्यालयमा ९– १० मा अध्ययनरत थिए । उनीहरुमध्ये केहीका अभिभावक समेत घरमा छैनन् । बुवा आमा घरमा नहुँदा डुबेर ज्यान गुमाएका बोगटी परिवार अझै शोकमा छ।

तत्काल नै उनीहरुको उद्धार भएको भए तीनै जनाको ज्यान जोगिन सक्ने स्थानीयले बताएका थिए । उनीहरु डुबेपछि गुहार मागिरहेको र छेउमा रहेकाहरूले समेत उद्धार सामाग्री नहुँदा जोगाउन नसकेको प्रहरीले जनाएको छ ।

सोमबार डुबेर ज्यान गएका तीनै जना किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । तीन जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको हो । दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पनि सहभागी थिए ।

उनले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिए । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।