एक सातादेखि अँध्यारोमा ओलानीको जनप्रभात टोल : चुँडिएको तार मर्मत भएन, विद्युत् नहुँदा खानेपानीको समस्या

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24
Paschim Today

कैलालीको गोदावरी नगरपालिका  वडा नम्बर १२ स्थित जनप्रभात टोलमा विगत एक सातादेखि विद्युत् छैन ।

२१ गते आएको हावा हुरीले जनप्रभात माध्यमिक विद्यालय नजिकै रुखको हाँगा खसेर तार चुँडिएपछि अवरुद्ध भएको विद्युत् सेवा अहिले सम्म पनि सुचारु भएको छैन । सुरुको दिनमा वडा नम्बर  १०, ११ र १२ को ओलानी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको थियो । केही दिन भित्रै अन्य ठाउँमा बिजुली मर्मत गरेर विद्युत् सेवा सुरु भएपनि जनप्रभात टोलमा भने अहिले सम्म  पनि बत्ती नआएको स्थानीय रणबहादुर देउवाले बताए । आफूहरूले पटक पटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकायले कुनै चासो नदिएको गुनासो छ । ‘सुरुमा सबै ठाउँमा बत्ती गएको थियो ।

अहिले अरू धेरै ठाउँमा बत्ती आयो यो  बस्तीमा अझै सम्म पनि बिजुली बलेको छैन ’ उनले भने ‘हामीले हार गुहार गरेर हैरान भइसकेका छौँ । विद्युत् कार्यालयले कुनै चासो दिएको छैन । ’ लगातारको वर्षा सँगै आएको हावाहुरीले क्षति पुराएका तारहरू अझै पनि भुईँमै लत्रिएका छन् । त्यसले स्थानीयमा पनि ठुलो जोखिम र त्रास रहेको उनीहरुको भनाइ छ । ‘बिजुली आएको छैन चुँडिएका तारहरू यत्रतत्र छरिएका छन् यसबाट दुर्घटना पनि निम्तिन सक्छ ’ देउवाले भने।  विद्युत् नहुँदा जनप्रभात टोलमा खानेपानीको पनि समस्या परेको थियो । विद्युत् र खानेपानीको सेवा रोकिदा सो क्षेत्रको जनजीवन कष्टकर बनेको थियो ।

खानेपानीको सुचारु गर्न विद्युत् मोटर चल्नुपर्ने भएकाले विद्युत् नहुँदा खानेपानी वितरण हुन सकेको थिएन । । अहिले स्थानीयहरूले त्यो भन्दा केही पर पानीको अर्काे वैकल्पिक व्यवस्था गरेका छन् । त्यो पनि दिगो नहुने देउवा बताउँछन् ।  विद्युतको वैकल्पिक व्यवस्था नहुँदा ओलानीमा पटक पटक समस्या पर्ने गरेको स्थानीय सामाजिक अभियन्ता टेक विकले जानकारी दिए । जेनरेटरका लागि स्थानीय सरकार सँग पटक–पटक  आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ ।

‘विद्युत् नहुँदा वर्षाको समयमा ओलानी क्षेत्रमा खानेपानी अवरुद्ध भएको छ । यो बर्सातका बेला कहाँबाट पानी ल्याउने ?’ उनले प्रश्न गरे ‘गोदावरी नगरपालिका  १०, ११, १२ ओलानीको प्रमुख आवश्यकता भनेको खानेपानी हो । यहाँ हेन्ड्पम्पबाट पानी आउँदैन । एउटा मात्र श्रोत भनेको अहिले चलिरहेको खानेपानी हो । जुन बिजुलीबाट चल्छ । तर, मौसम थोरै पनि गड्बडि भयपछि बिजुली  गइहाल्छ । बिजुली गएपछि खानेपानी अवरुद्ध हुन्छ ।’ वडा अध्यक्ष भीम खड्काले विद्युत् अवरुद्ध हुँदा जनप्रभात टोलमा निकै समस्या भएको बताए । उनले विद्युत् सुचारु गर्नको लागि धनगढीबाटै विद्युतको टोली आएर मर्मतको प्रयास गरेको, केही ठाउँमा त्यसपछि विद्युत् बलेको तर, जनप्रभात टोल अहिले पनि  अँध्यारोमा रहेको बताए । आफूले पटक पटक विद्युत् प्राधिकरणलाई बिजुली मर्मत गर्न आग्रह गर्दा पनि चासो नदिएको उनको गुनासो छ ।

‘एक हप्तादेखि यहाँ बत्ती छैन । गर्मी र लामखुट्टे सताइरहेको छ । कसैलाई चासो छैन’ वडाध्यक्ष खड्काले भने ‘मैले आफै कयौँ पटक गएर बिजुली बनाउन आग्रह गरे तर, अझै कसैले केही गरेका छैनन् । ’ विद्युत् प्राधिकरणका कर्मचारीहरू आफूहरूलाई आज आउने भोली आउने भन्दै टारिरहेको उनको गुनासो छ। विद्युतको विकल्पका रूपमा खानेपानी सेवा नियमित सुचारु गर्न र उज्यालोका लागि जेनरेटर आवश्यक पर्ने भएकाले त्यसका लागि पनि आफूले पहल गरिरहेको उनले बताए ।