विवादित गीत युट्युबबाट हटाएपछि दुर्गेश थापा रिहा

मंगलबार कार्तिक ५, २०७६/ Tuesday 10-22-19
Paschim Today

काठमाडौं, ४ कार्तिक ।

समाजलाई ‘मिस गाइड’ गर्ने खालको गीत युट्युबमा राखेको आरोपमा पक्राउ परेका गायक दुर्गेश थापा रिहा भएका छन् ।

विवादित गीत युट्युबबाट हटाउँदै सार्वजनिक रूपमा माफी मागेपछि थापालाई रिहा गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

‘ह्याप्पी तिहार चिसो बियर...’बोलको गीतमा समाजलाई ‘मिस गाइड’ गर्ने शब्द समावेश गरी सार्वजनिक गरेको उजुरी परेपछि प्रशासनको आग्रहमा प्रहरीले थापालाई बालाजुबाट पक्राउ गरेको थियो ।

गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुरी परेको हो । दुर्गेशले भने विवादित शब्द हटाएर अबकाे २४ घण्टामा पुनः भिडियाे अपलाेड गर्ने बताएका छन् ।