सामूहिक प्रयासबाट उत्कृष्ट नतिजा दिन सफल भएका छौ-चन्द

शनिबार असार २९, २०८१/ Saturday 07-13-24
Paschim Today

हिमालयन स्पोर्टस क्लव नेपाली खेलाडीहरु सम्मिलित डेनमार्कको एक क्लव हो । स्थापनाको छोटो समयमै हिमालयन स्पोर्टस क्लव डेनमार्कमा हुने क्रिकेट प्रतियोगितामा छुट्टै छाप छोड्न सफल भएको छ । पश्चिम टुडेका तर्फबाट हिमालयन स्पोर्टस क्लवका बारेमा  क्रिकेट हेड तथा कोअर्डिनेटर कृष्ण चन्दसंग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौ ।

प्रश्न- हिमालयन स्पोर्टस क्लबले यो वर्ष कतिवटा प्रतियोगितामा सहभागिता जनायो ?
चन्द- हिमालयन स्पोर्ट्स क्लबले यो बर्ष विभिन्न तिन वटा विधाका लिग खेलहरुमा सहभागिता जनाएको छ। जस अन्तर्गत एकदिवसीय दोश्रो डीभीजन, टी २० तेश्रो डिभिजन र एकदिवसीय चौथो डिभिजनमा हिमालय स्पोर्टस क्लवले प्रतिस्पर्धा गरिरहेको छ ।

प्रश्न- ती लिग प्रतियोगितामा हिमालयन स्पोर्टस क्लवको उपस्थिति कस्तो रह्यो ? लिगमा सहभागी भएपछि खेलाडीहरु कति उत्साही छन् ?
चन्द- डेनमार्कमा लामो समय नेपालका छिमेकी देशहरुका खेलाडीहरु सम्मिलित क्लबहरुको एकाधिकार छ । हिमालयन क्लबको सहभागितापछि नेपाली खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन भन्ने सन्देश दिएका छौ । यो समग्र नेपालीहरुका लागि गर्वको कुरा हो। सिमित स्रोत, साधनका बाबजुद पनि छोटो समयमै हाम्रो क्लबले गरेको उत्कृष्ट प्रदर्शनको चर्चा डेनिस क्रिकेट संघमा हुने गरेको छ। हाम्रो क्लबले डेनिश लिग खेल्न पाउने आधार स्थापित भएपछि नेपाली खेलाडीहरु अत्यन्त उत्साही भएका छन्, जो अहिलेसम्म अवसर नपाएर आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गर्न बञ्चित थिए । हामीले जहिल्यै त्यस्ता खेलाडीहरुलाई अवसर दिएका छौ । यसैगरी नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे डेनिस राष्ट्रिय टिमबाट खेल्न पाउने दिन टाढा छैन ।  हाम्रो क्लबको लक्ष्य भनेकै डेनिस राष्ट्रिय टिमबाट हाम्रो दोश्रो पुस्ताका नेपाली खेलाडीलाई खेलाउन सक्षम बनाउने हो ।

प्रश्न- डेनिस क्रिकेट लिग डिभिजन २ कस्तो हो ? खेलाडीहरुका लागि यो किन महत्वपूर्ण छ ?
चन्द- डेनिस क्रिकेटमा विभिन्न क्षेत्रगत खेलहरु हुदै लिग खेलको लागि टिमहरु छानिदै जान्छन्। चौथो र तेश्रो डिभिजनका खेलहरु क्षेत्रिय रुपमा हुने गर्छन भने दोश्रो डिभिजनबाट राष्ट्रिय लिगको रुपमा अगाडी बढ्छ।
चौथो डिभिजनको बिजेता तेश्रो डिभिजनमा अनि तेश्रोको बिजेता दोश्रोमा खेल्ने अवसर पाउछन् । त्यसैगरी दोश्रोको बिजेता पहिलो र अनि पहिलोको बिजेता एलिट डिभिजनमा खेल्न पाउछन । त्यस्तै लिगमा अन्तिम हुने टिमहरु तल्लो डिभिजनमा घटुवा हुन्छन। त्यसैले लिग खेलको जीत र हारले एउटा क्लव र त्यो क्लवबाट खेल्ने खेलाडीहरुको भाग्य र भविश्य निर्धारण गर्छ ।

प्रश्न- हिमालय स्पोर्टस क्लवले किन क्रिकेटलाई मात्र महत्व दिन्छ ? खेल त अरु पनि छन् ।
चन्द- खेलकुद स्वस्थ जीवनको एउटा महत्वपूर्ण आधार हो, खेलकुद । व्यस्त जीवनमा खेलकुदले स्फूर्ति र उर्जा प्रदान गर्छ । डेनमार्कमा क्रिकेट खेलको महत्व धेरै नै छ । र, क्रिकेटमा धेरै अवसरहरु पनि छन्। एउटा खेलाडीले राष्ट्रिय स्तरमा खेल्नको लागि अन्य खेलकुदमा जस्तो धेरै प्रतिस्पर्धा क्रिकेटमा गर्नु पर्दैन । क्रिकेट प्रति नेपाली युवाहरुको बिशेष लगाव छ । त्यसैले यही बिधाबाट राष्ट्रियस्तरमा पहिचान कायम गर्न सकिने हाम्रो बिश्वास छ । त्यही विश्वासले हामीले क्रिकेटमा आफूलाई समर्पित गरेका हौ । र, हामीलाई विश्वास छ, निरन्तर रुपमा जारी हाम्रो प्रयास र मिहिनेतले राष्ट्रिय खेलाडी उत्पादन गर्न सफल हुने छौ।  

प्रश्न-  डिभिजन १ र एलाइटको के महत्व छ ? त्यहाँ पुग्दा क्लव र खेलाडीलाई के फाइदा हुन्छ ?

चन्द- डिभिजन १ वा एलाइटमा पुग्ने क्लव र खेलाडीलाई हेर्ने दृष्टिकोण फरक छ । त्यहाँ पुग्नु क्लब, खेलाडीहरु र नेपाली समुदायको लागि गर्वको कुरा हो । जसले खेलाडीको मनोबल बढ्ने छ । खेलप्रति नेपाली युवाहरुको आकर्षण बढ्ने छ ।  

प्रश्न- तपाईको टीम कति खेलाडी छन् । टीममा समावेश के सबै खेलाडी नेपाली हुन् ?
चन्द- हाम्रो टीममा अहिले दोश्रो डिभिजनमा खेल्ने २४ जना खेलाडी छन् । जसमध्ये एक जना पाकिस्तानी र दुई जना भारतीय छन् । बाँकी सबै नेपाली छन्। तेस्तै चौथो डिभिजनमा २८ जना खेलाडी छन् । जसमा सबै नेपाली छन्। टी २० तेश्रो डिभिजन खेल्नको लागि दोश्रो डिभिजन र चौथो डिभिजन खेल्ने खेलाडीहरुबाट नै टीम छनोट गरी खेल्ने गरिन्छ। हामीसंग जुनियर टीममा १२ वर्ष मुनिका १५ जना खेलाडीहरु छन् ।

प्रश्न- यो सिजनमा कति कति वटा गेम खेल्नु पर्छ ? हालसम्म खेल खेल्नु भयो ?  कति खेल जित्नु भयो, कति हार्नु भयो ? यो सिजनमा माथि उक्लिने सम्भावना कति छ ?
चन्द- यो सिजनमा दोश्रो डिभिजन अन्तर्गत खेल्नु पर्ने १४ खेलमध्ये हालसम्म चार खेल खेल्यौ । जसमध्ये दुई खेल जित्यौ, दुई खेलमा हार ब्यहो¥यौ । त्यसका बाबजुद पनि हामी माथि उक्लिने सम्भावना प्रबल छ।
तेस्रो डिभिजनमा टी २० मा जम्मा खेल्नु पर्ने खेल पाँच खेलमध्ये हालसम्म खेलका तीन खेलमध्ये एकमा जीत र दुई खेलमा हार ब्यहोरेका छौ । चौथो डिभिजनमा छ खेल खेल्नु पर्नेमा हालसम्म खेलेका चार खेलमध्ये दुईमा हार र एकमा जीत हात पा¥यौ ।

प्रश्न- क्लबमाथि उक्लिए क्लबसंगै खेलाडी र नेपालीलाई के फाईदा हुन्छ ?
चन्द- क्लब माथि उक्लिदा खेलाडीहरुको आत्मबल बढ्नेछ । त्यसपछि खेलप्रतिको लगाव र आकर्षण बढ्नेछ ।  खेलाडीहरुको संख्या बृद्धि हुनेछ । त्योसंगै प्रायोजक र सहयोगीहरुको संख्या बृद्धि हुनेछ ।

प्रश्न-  टीमको व्यवस्थापन कसरी गरिरहनु भएको छ ? डिभिजनको नेतृत्व कसले गरिरहेको छ ?
चन्द- क्लवको क्रिकेट हेड तथा को-अर्डिनेटरका रुपमा मैले भूमिका निर्बाह गरिरहेको छु । डिभिजन २ को बिप्लब अग्रहरी र डिभिजन ४ को क्याप्टेनको जिम्मेवारी कुश खड्काले निर्बाह गरिरहनु भएको छ । क्रिकेट सामूहिक प्रयासबाट जितिने खेल भएकोले क्लव र टीम दुबै सामूहिक भावनामा सञ्चालन भईरहेको छ । टीमका सबै सदस्य, शुभेच्छुक र सहयोगी लगायत सबैको साथ र सहयोगले हाम्रो क्लव र टीम अघि बढेको   छ ।