बाघको आक्रमणबाट ज्यान गुमाएकी हिराको परिवारलाई क्षतिपूर्तिको पहल गर्ने मन्त्री भाटको आश्वासन
कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले बाघको आक्रमणबाट ज्यान गुमाएकी हिरा शाहको परिवारलाई क्षतिपूर्तिको पहल गर्ने बताएका छन् । बिहीबार बिहान कञ्चनपुरको दोधारा चाँदनीकी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।
दिउँसो उनको घरमा पुग्दै मन्त्री भाटले घटना प्रति दुख व्यक्त गर्दै क्षतिपूर्तिको लागि पहल गर्ने बताएका हुन् । ‘एक्कासी दुखद खबरले हामी विक्षिप्त भएका छौँ यसरी मानवमाथि वन्यजन्तुबाट हुने आक्रमण रोक्न केही गर्नु पर्छ ’ मन्त्री भाटले भने ‘उहाँलाई क्षतिपूर्तिको लागि हामी पहल गर्छौ ।’
पछिल्लो समय कञ्चनपुरमा बाघ र हात्तीको आक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । मन्त्री भाटले यस्ता घटनाहरू हुन नदिन दीर्घकालिक योजना निर्माण गरेर अघि बढ्नु पर्ने बताएका थिए । बाघको आक्रमणबाट दिउँसै महिलाको ज्यान गएपछि यहाँका स्थानीय त्रसित भएका छन् । उनीहरुले मन्त्रीलाई यस्ता समस्याहरू समाधान गर्न पहल गर्न पनि आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया