सुदूरपश्चिमको बजेटमा महिलाका थुप्रै विषय समेटिएका छन् : मन्त्री खड्का

मंगलबार भदौ २५, २०८१/ Tuesday 09-10-24
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले महिलालाई आर्थिक रुपमा सशक्त बनाउने प्रदेश सरकारको नीति रहेको बताएका छन् । धनगढीमा रुडुकले आयोजना गरेको महिलाका लागि आर्थिक सशक्तीकरण सम्बन्धी प्रादेशिक सम्मेलनमा सामाजिक विकास मन्त्री खड्काले  आगामी बजेटमा महिलाहरूका धेरै विषयवस्तुहरू समेटिने दाबी गरेका हुन् । स्वास्थ्य, शिक्षामा पहुँच बढाउने  प्रदेश सरकारको नीति रहेको र सोही नीति अनुसार बजेट आउने मन्त्री खड्काको भनाइ थियो । 
सामाजिक विकास राज्यमन्त्री  सरस्वती खड्काले देशमा लोकतन्त्र र गणतन्त्रमा महिलाहरूको अहम् भूमिका रहेको भन्दै अझै महिलाहरू निर्णायक तहमा पुग्न नसकेको बताएकी थिइन् । उनले सुदूरपश्चिम प्रदेशका सबै महिलाहरू एक हुन आवश्यक रहेको बताइन् ।
रुडुकका राष्ट्रिय निर्देशक कृष्णकुमार श्रेष्ठ र सामाजिक विकास मन्त्रालयकी जयन्ती पौडेलले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए । गीता भण्डारी र भावना खड्काले आफूहरूमा आएको परिवर्तन र बुझाइबारे अनुभव सुनाएकी थिइन् ।
फाया नेपालकी अध्यक्ष गोमा आचार्यले आर्थिक सशक्तीकरणको सरकारले नारा लगाउने गरे पनि पर्याप्त बजेट विनियोजन नगर्ने गरेको बताइन् । राज्यको निर्णायक तहमा महिलाहरूको सहभागिता नहुँदा महिलामा आर्थिक सशक्तीकरण हुन नसकेको उनको भनाइ थियो । रुडुक कैलाली अध्यक्ष ममता शाहले महिलाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएकी थिइन् भने सुनिता रानाले अधिकार कार्यान्वयनको पक्षलाई बलियो बनाउनु पर्नेमा जोड दिएकी थिइन् ।
दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्री घिमिरेले सरकारको नीति अनुसार कार्यक्रम र बजेट नआउने गरेको गुनासो गरिन् । विमला खडायत र गीता चौधरीले पनि महिलाको अधिकार स्थापित गर्न नेतृत्वमा महिलालाई ल्याउनु पर्नेमा जोड दिएका थिए । सुदूरपश्चिम विश्व विद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले अंशले मात्रै माहिलाको आर्थिक सशक्तीकरण नहुने भन्दै महिलालाई सबल र सक्षम बनाउनु पर्नेमा जोड दिएका थिए ।