धनगढीमा बिपीको १११औं जन्म जयन्ती मनाइयो

मंगलबार भदौ २५, २०८१/ Tuesday 09-10-24
Paschim Today

कैलालीको धनगढीमा १११ औं बिपी जन्म जयन्ती मनाएको छ ।  नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचार प्रसार शाखाले  बिपीले अवलम्बन गरेको राष्ट्रियता,लोकतन्त्र,समाजवाद विषयक अन्तर संवाद कार्यक्रम गरी बिपी जयन्ती मनाएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट र नृपबहादुर ओडले बिपीको फोटोमा संयुक्त रुपमा माल्यार्पण गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बिपी कोइराला र राष्ट्रियता सम्बन्धी कार्यपत्र नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले प्रस्तुत गरेका थिए । 
सुनारले प्रस्तुत गरेको कार्यपत्रमा २००७ सालको क्रान्तिपछि जनस्तरबाट प्रथम गृहमन्त्री तथा २०१५ सालको संसदीय निर्वाचन पछि पहिलो जन निर्वाचित प्रधानमन्त्री बनेका बिपीको राजनीतिक जीवन ज्यादै कष्टकर रहेको उल्लेख छ ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले बिपी र लोकतन्त्रका बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । 
प्रजातन्त्रवादी प्राध्यापक सङ्घका पूर्व उपाध्यक्ष जगन्नाथ जोशीले पनि बिपीको प्रजातान्त्रिक समाजवाद सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका कार्यपत्रमाथि सहभागीले छलफल गरेका थिए। नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचारप्रसार शाखाका संयोजक तपेन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार शाखाका सदस्य श्रवण देउवाले गरेका थिए ।