बिकेनन् तीजका लागि बनाइएका मादल!

बुधबार भदौ २६, २०८१/ Wednesday 09-11-24
Paschim Today

कैलाली : सुदूरपश्चिमको प्रवेशद्वार कैलालीको चिसापानी पुलबाट करिब छ किलोमिटर पश्चिममा पर्छ बल्चौर। लम्कीचुहा नगरपालिका-३ बल्चौरमा लामो समयदेखि सञ्चालनमा छ, तीर्थ बाजा पसल। 

यहाँ मादल, तबला, दमु, ढोलकी बनाइन्छ। पछिल्लो समय विभिन्न किसिमका बाजा बनाए पनि बिक्री हुन छाडेपछि खिन्न छन्, तीर्थ बादी। 

पहिले बाजाहरूमध्ये सबैभन्दा बढी बिक्री हुने मादलसमेत अचेल बिक्री हुन छोडेको छ। यसले व्यवसाय नै सङ्कटमा परेको तीर्थ बादी बताउँछन्। ‘पहिले चाडपर्वहरूमा मादल पुर्‍याउनै सकिँदैनथ्यो, अहिले बिक्री नै हुँदैन। मगर गाउँका स्थानीय, थारु समुदायले धेरैजसो मादल किन्ने गर्दथे, अहिले पसलमा त आउँदैनन्, गाउँमा लगेर गए पनि किन्न त परै जाओस्, सोध्ने मान्छेसम्म भेटिँदैनन्’, उनले भने। 

विगतमा यही पेशाबाट छोराछोरीको लालनपालनदेखि पठनपाठन गर्दै आए पनि हाल व्यवसायबाट हातमुख जोड्नसमेत धौधौ भएको तीर्थको गुनासो छ। ‘योपटक पनि २५ वटा मादल बनाएर राखेँ। तीज आएपछि त बिक्री होलान् सोचेको थिए तर तीज सकियो, एउटा पनि मादल बिक्री भएको छैन’, उनले सुनाउनुभयो। 

प्रविधिको विकास भएसँगै पुराना व्यवसाय हराउँदै गएको अर्का व्यवसायी कृष्ण बादी बताउँछन्। ‘सिजनका बेला ५०-६० वटासम्म मादल बेच्ने गरेकामा अहिले त चार÷पाँच वटा बेच्न मुस्किल पर्छ’, उनले भने, ‘पहिले यही व्यवसायबाटै घर खर्च, छोराछोरी पढाउन सकिन्थ्यो तर अहिले हिउँदको समयमा भारत जाने र पुर्खाको सीप जोगाउन सिजनमा बाजा बनाउनुपर्ने बाध्यता छ, त्यही पनि बिक्दैन।’

व्यवसायी रविलाल बादीले डिजेलगायत आधुनिक बाजाका कारण मादल व्यवसायमा संकट आएको बताए। ‘पहिले रत्यौली, तीज, देउसीभैलो, विद्यालयस्तरमा हुने साँस्कृतिक कार्यक्रमलगायतमा मादल अनिवार्य प्रयोग हुन्थ्यो तर पछिल्लो समय मादलको सट्टा ‘डीजे’ प्रयोग हुन्छ। त्यसैले पनि हाम्रो पेशा संकटमा पर्‍यो’, उनले भने। 

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टीएन जोशी मादल प्रयोग घटेसँगै परम्परागत संस्कृतिमा मौलिकता हराउँदै गएको धारणा राख्छन्।। ‘केही दशक पहिले गाउँघरमा थुप्रै मादल बजाउने मान्छे भेटिन्थे तर अहिलेको पुस्तामा मादल बजाउन जान्ने मान्छे मुस्किलले भेटिन्छन्’, उनी भन्छन्, ‘अब मौलिकता जोगाउन विद्यालयस्तरबाटै मौलिक बाजाको प्रयोग र सिकाइमा जोड दिनुपर्ने आवश्यकता छ।’

नेपालको पहिचानका रूपमा रहेको मादल लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्ने दायित्व सरकारको भएको व्यवसायीका भनाइ छ। व्यवसायी तीर्थ बादी भन्नुन्छन् ‘अब आउने पुस्तालाई यसको महत्त्वबारे बुझाउनुपर्छ। यो दायित्व सरकारको पनि हो।’