जीवनको गोरेटोमा आशाको दियो बालिरहेका ‘गंगा’

बिहीबार भदौ २७, २०८१/ Thursday 09-12-24
Paschim Today

दुब्लो, पातलाे जीउडाल, ओठमा भर्खर जुँघाकाे रेखी बसेको एउटा ठिटो। कहिले काँधमा गितार भिरेर साइकलमा हुइँकिरहेको देखिन्छ भने कहिले हातमा ड्रइङ पेपर र कलर बक्स बोकेर लुखुरलुखुर हिँडिरहेको हुन्छ।

१६ वर्षे उमेरमा जीवनको एउटा मात्रै गोरेटो तय गरेको छैन उसले। थुप्रै चाहना र कल्पनाका कुटुरा बोकेर यात्रारत छ ऊ। जसको प्रमुख उद्देश्य भन्नु नै भविष्यमा सामाज सेवा गर्ने भइदिन्छ।

‘हरेक सेवा पैसाले दिइरहेको वर्तमान परिप्रेक्षमा तिमीले कसरी समाज सेवा गर्छौ त गंगा?’, मैले उनीसँग जिज्ञाशाा प्रकट गरेँ। बडो सहज ढंगले उनले उत्तर दिए, ‘आफूले जानेको कुरा निशुल्क रुपमा अरुलाई सिकाउने सोच छ। यो पनि त एक प्रकारको समाज सेवा नै होला नि होइन र?’

कक्षा ९ मा अध्ययनरत गंगाले सरल ढंगले दिएको गहन उत्तरले ममा एकछिन मौनता छायो। प्रश्न गर्नकै लागि चलनचल्तीको एउटा बासी प्रश्न पुनः तेस्याएँ, ‘भोलि के बन्ने लक्ष्य लिएका छौ?’ ‘सोच त नेपाली सेनामा प्रवेश गरी देशको सेवा गर्ने हो, हेरौँ के हुन्छ’, निलो आकाशतिर नियाल्दै उनले भने।

चिनेका मान्छेलाई देख्दा शालिन ढंगले अभिवादन गर्नु, सोधेको प्रश्नको जवाफ दिनु र चाहिनेभन्दा बढी न बोल्नु गंगा साउदको विशेषता हो। शिखर नगरपालिका-५ डोटी, लुल्लेकमा जन्मेका गंगा सानैमा धनगढी पुगे। उनी धनगढी पुग्नुको छुट्टै कथा छ। जुन कथा सम्झिँदा उनी निकै भावुक बनिदिन्छन्।

यतिखेर भने विद्यालयमा मात्र नभएर उनी बस्ने टोलतिरसमेत उनको प्रशंसा गर्नेहरू भेटिन्छन्। हुने विरुवाको चिल्लो पात भनेझैँ गाउँमा छँदा नै पुस्तकमा भएका चित्र हेरेर कापीमा उतार्न खोज्थे उनी। ‘त्यतिबेलाको गाउँघरको त्यति धेरै याद त छैन। सानै थिएँ। कहिलेकाहीँ मात्र विद्यालय जान्थेँ। आफ्नो उमेर समूहका साथीहरूसँग ढुङ्गा माटो खेल्यो। दिनभरी यताउता डुल्यो। गाउँघरमा त्यही त हो। तर, पनि कहिलेकाहीँ के मुड चल्थ्यो कुन्नि पुस्तकमा भएका चित्र उतार्छु भनेर कापीमा केरकार गर्ने गर्थेँ’, विगत सम्झिए उनले।

अलिकति फुर्सद पाउनेबित्तिकै साधनामा तल्लीन भइदिन्छन् उनी। उनले साधना गर्ने क्षेत्र थुप्रै छन्। असाधारण प्रतिभा भएका गंगा गीत गाउँछन्। चित्र बनाउँछन्। गीतार बजाउँछन्। नाटकमा अभिनय गर्छन्। हरेक विधामा उत्तिकै पोख्त छन् उनी। उनको प्रतिभा देख्दा लाग्छ, उनी यो समाजका एक अपवाद हुन्। उनले आफ्नो जिन्दगीको आयामलाई निकै नै फराकिलो बनाइरहेका छन्।

केही दिनअघि उनी एउटा पोट्रेटमा रंग भरिरहेका थिए। उक्त पोट्रेट थियो, धनगढीका मेयर गोपाल हमालको। एकाग्रताका साथ बडो सावधानीपूर्वक रंग खेलाइरहेका उनले दुई पटक बोलाउँदासम्म सुनेनन्। तेस्रो पटकको मेरो आवाज सुनेर पुलुक्क मतिर हेर्दै लजालु मुस्कान फ्याँकेर भने, ‘यसो बनाउँ भनेको।’

उनी आफूलाई मनपर्ने व्यक्तिको हुबहु चित्र उतार्छन्। आफू जन्मेको भूगोल र देशका लागि केही गरिरहेका सामाजसेवीहरू उनलाई खुबै मनपर्ने पात्र बनिदिन्छन्। ती त्यस्ता पनपर्ने पात्रहरूमध्येमा पर्छन्, गोपाल हमाल, महाबीर पुन, ओम प्रकाश अग्रवाललगायत केही व्यत्तित्वहरू। तीमध्ये कतिपयका तस्बिर बनाएका छन्।

उनी भन्छन्, ‘धनगढीको विकासमा मेयर गोपी हमालको ठुलो योगदान छ। धनगढीलाई सफा, हराभरा र विकसित तुल्याउन उहाँ दिनरात खटिनुभएको छ। त्यस्तै महावीर पुन हाम्रो विद्यालयमा आउनुभयो। उहाँको कुराले म निकै प्रभावित भएँ। उहाँको पुस्तक पनि प्रेरणादायी लाग्यो।  ओमप्रकास अग्रवालले पनि समाज सेवामा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ।’

कृष्ण जन्माष्टमीका दिन उनले भगवान श्री कृष्णको तस्बिर तयार पारे। सुरुमा हेर्दा बजारबाट किनेर ल्याएको हुनुपर्छ भन्ने लाग्थ्यो हेर्ने जतिलाई। हातमा लिएर हेर्दा राम्ररी सुक्न पाएको थिएन रंग पनि। त्यही न सुकेको रंगले प्रमाणित गरिरहेको थियो भरखरै बनाएको तस्बिर हो भन्ने।

यस्ता थुप्रै तस्बिर र चित्रहरू बनाएका छन् उनले। क्यानभास, मन्डेला आर्ट, पोट्रेट, रियालिस्टिक आर्ट, फर्म पार्कलगायत सबै प्रकारका आर्टमा पोख्त छन् उनी।

करिब दुई हप्तासम्म मैले उनका दैनिक क्रियाकलापहरू नियालिरहेँ। तीन कोठा एउटा भान्सा भएको फ्याटमा उनीलगायत छ जना बस्छन्। ती सबै विद्यालय तहमा अध्ययनरत छन्। एउटा गैरसरकारी संस्थाले उनीहरूको सम्पूर्ण खर्च बेहोरेर पढाइमा सहयोग गरिरहेको छ।

गंगा बसेको घर नजिकै मेरो बसाइ भएकोले सजिलैसँग बुझ्न सकिन्थ्यो उनको दैनिकी। राति अबेरसम्म बसेर पनि बिहान सबेरै उठिसक्छन् उनी। साथीभाइको लहलहैमा लागेर बरालिने प्रवल सम्भावना हुन्छ यो उमेरका केटाकेटीहरूको। तर उनका छुट्टै सपनाहरू छन्। तिनै सपना साकार पार्ने उद्देश्यका साथ दैनिकी चलाइरहेका छन्।

उनको आफ्नैखाले दैनिक कार्यतालिका छ। जुन लिखितरुपमा तयार पारिएको नभए पनि व्यवहारतहः दैनिक जीवनमा लागु गरिरहेका हुन्छन्। त्यति मात्रै कहाँ आगामी दिनको सुन्दर गोरेटो तय गर्नसमेत अहोरात्र खटिरहेका छन्। धनगढीस्थित एक्सिस स्कुलमा कक्षा ९ मा अध्ययनरत उनी उमेरगत हिसाबले त्यति परिपक्व होलान् जस्तो लाग्दैन। उनको व्यवहार र कार्यशैलीमा भने परिपक्वता झल्किन्छ।

बिहानको नित्य कर्मपश्चात सुरु हुन्छ, उनको साइकल यात्रा। सात बजेदेखि आठ बजेसम्म चल्छ संगीतको कक्षा। जहाँ उनी गीत गाउन र गीतार बजाउन सिकिरहेका छन्। त्यसपछि कोठामा पगी खाना खाएर तयार हुन्छन् विद्यालय जानलाई। विद्यालयमा पढाइ सकिएपश्चात् कहिँकतै अलमलिँदैनन् उनी। कोठामा पुगेर ड्रेस चेन्ज गरी खाजा खान्छन्। त्यसपछि विस्तारै सुरु हुन्छ टोलका केटाकेटीहरूको आगमन। तिनीहरूलाई एक घन्टा ड्रइङ सिकाइसकेपछि आफ्नो गृहकार्य गर्नतिर लाग्छन्।

हप्तामा एक दिन खाना पकाउने पालो आउँछ उनको। हप्तामा तीन पल्ट जति समय निकालेर लुगा कपडा सफा गर्छन्। टाइट सेड्युलमा सहज ढंगले दिनचर्या चलाइरहेका देखिन्छन् उनी। उनको अनुहारमा कहिल्यै देखिँदैन थकान। पीडादायी विगत भुलेर जीवनको गोरेटोमा आशाको दियो बालिरहेका मेधावी छात्र हुन् गंगा। जो दयालु छन्। मायालु छन्। मिलनसार छन्। यही कारणले साथीभाइको बीचमा बोकिरहन्छन् आत्मीय पन।

कक्षा १ देखि ५ सम्म तेकोन्दो खेलेर रेड बेल्ट पाइसकेका उनले समय अभावका कारण उक्त क्षेत्रमा निरन्तरता दिन सकिरहेका छैनन्। एसइईपछि तेकोन्दोलाई पनि निरन्तरता दिने सपना साचेकै छन्। फोटोग्राफीमा उस्तै रुचि भएका उनले केही दिन फोटोग्राफी सिके। फोटो प्रतियोगीतामा दुईपल्ट प्रथमसमेत बने।

धनगढी नगरपालिकाले वाल पेन्टिङ गराउँदा त्यहाँ गएर वाल पेन्टिङसम्बन्धी आधारभूत ज्ञान बटुले। ‘वाल पेन्टिङ गर्न निकै गाह्रो हुँदोरहेछ। सुरुमा त बहुत कठिन लागिरहेको थियो। अब त गर्न सक्छु,’ उनले त्यतिबेलाको अनुभव सुनाए।

गंगा फुर्सदको बेला गीतार बजाउँछन्। गाना गाउँछन्। प्रकृतिसँग रमाउन निकै मनपर्छ उनलाई। बहुप्रतिभाका धनी गंगाको दिनचर्या सरल छ। सादा जीवन उच्च विचार भन्ने भनाइ उनमा लागू भएजस्तो लाग्छ। दिनदुखी र अप्ठ्यारोमा परेकाप्रति उनको हृदयमा एक प्रकारको सहानुभूति पैदा भइदिन्छ।

‘केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने सोच पलाइरहन्छ। तर, अघिकांशजसो त्यहाँ मैले कुनै प्रकारको भूमिका निभाउन नसक्दा कस्तो कस्तो हुन्छ’, एक खालको भावुकता प्रकट गर्छन् उनी।

पोहाेर साल प्रहरी दिवशको अवसरमा गरिएको विद्यालयस्तरीय आर्ट प्रतियोगीतामा सुदूरपश्चिम प्रदेशबाट प्रथम बनेका थिए उनी। सोही दिन विद्यालयले उनलाई वेस्ट स्टुडेन्ट अवार्ड पनि प्रदान गर्यो। जसले उनीभित्र अझैँ राम्रो गर्ने हौसला मिल्यो।

उनी बताउँछन्, ‘पछिल्ला दिनमा तस्बिर बनाइमाग्न आइरहन्छन्। तस्बिर बनाइदिएपछि अलिकति पारिश्रमिकता पनि दिएर जान्छन्। के गर्नु समय निकाल्नै गाह्रो छ। पढ्नु पनि पर्यो। मुख्यतः पढाइ हो। संस्थाले पनि पढाइकै लागि ममाथि लगानी लगाइ राखेको छ। त्यो कुरा पनि त बिर्सनु भएन मैले। त्यसैले फुर्सद पाएको समयमा मात्रै बनाउँछु।’

पछिल्लो समय आफ्नै तस्बिर बनाइरहेका उनले बताए, ‘कति अरुका मात्र बनाउनु आफ्नो पनि बनाई हेरौँ न भनेर यसो बनाउन थालेको।’ आपफूले आफूलाई माया गरेको प्रमाण थियो त्यो तस्बिर उनका लागि। सबैका तस्बिर बनाइरहेका गंगासँग छैन बुवाको फोटो।

उनी भन्छन्, ‘बुवाको फोटो भएको भए एउटा पोट्रेट बनाएर फ्रेममा सजाउँथेँ। तर, मलाई बुवाको अनुहार नै याद छैन। अरुले यस्तो खाले अनुहार थियो। यस्ता थिए भनेर सुनाउँदा नि सकिन्छ बनाउन त। अलि बढी समय लाग्छ। आशा गरौँ त्यो समय पक्कै पनि आउने नै छ।’

यसरी हरेक कुरामा आशावदी देखिने उनी उत्तिकै सहनशील छन्। धैर्यता र लगनशीलताका साथ अघि बढिरहेका उनको नाम उपयोगी समाजका लागि अर्थपूर्ण बन्न सकोस्। हार्दिक शुभकामना।