झण्डै ३३ खर्बले बढ्यो जीडीपी, ऊर्जा क्षेत्रको उच्च बृद्धि

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

काठमाडौं । संविधान बनेपछि नेपाली अर्थतन्त्र अर्थात् कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) को आकार ३२ खर्ब ८१ अर्ब २० करोड रुपियाँले बढेको छ । चालु मूल्यको आधारमा अर्थतन्त्रको आकार सो अंकले बढेको हो । 

राष्ट्रिय तथ्यांक कार्यालयबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । नेपालमा २०७२ असोज ३ गते संविधान बनाइएको थियो । त्यसअघि आव २०७१–७२ मा चालु मूल्यको आधारमा नेपाली अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब ६३ करोड ८० लाख रुपियाँ थियो । 

 

 

त्यस यता नौ आर्थिक बर्षमा त्यो ३२ खर्ब ८१ अर्ब २० करोड ६० लाख रुपियाँले बढेर ५७ खर्ब चार अर्ब ८४ करोड ४० लाख रुपियाँ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले २०८१ असार मसान्तसम्म जीडीपीको आकार ५७ खर्ब रुपियाँ पुगेको अनुमान गरेको छ । यसको अन्तिम तथ्यांक भने आउन बाँकी छ । 

संविधान बनेकै बर्ष अर्थात् आव २०७२–७३ मा जीडीपी बढेर २६ खर्ब आठ अर्ब १८ करोड रुपियाँ पुगेको थियो । तर, २०७२ बैशाख १२ गतेको भुकम्प र भारतीय नाकाबन्दीले गर्दा त्यसबेला अर्थतन्त्र प्रभावित थियो ।

त्यसपछि आव २०७३–७४ मा ३० खर्ब ७७ अर्ब १४ करोड रुपियाँ, आव २०७४–७५ मा ३४ खर्ब ५५ अर्ब ९४ करोड रुपियाँ र आव २०७५–७६ मा ३८ खर्ब ५८ अर्ब ९३ करोड रुपियाँको जीडीपी कायम भएको थियो । आव २०७६–७७ मा ३८ खर्ब ८८ अर्ब ७० करोड रुपियाँ, आव २०७७–७८ मा ४३ खर्ब ५२ अर्ब ५५ करोड रुपियाँ, आव २०७८–७९ मा ४९ करोड ७६ लाख ५५ करोड रुपियाँ र आव २०७९–८० मा ५३ खर्ब ४८ अर्ब ५२ करोड रुपियाँको जीडीपी कायम भएको थियो । 

गत आव २०८०–८१ मा भने त्यो ५७ खर्ब चार अर्ब ८४ करोड रुपियाँ पुगेको अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ । 

यो अवधिमा स्थिर मूल्यका आधारमा आव २०७२–७३ मा ०.४३ प्रतिशत, आव २०७३–७४ मा ८.९८ प्रतिशत, आव २०७४–७५ मा ७.६२ प्रतिशत र आव २०७५–७६ मा ६.६६ प्रतिशतले जीडीपी बढेको देखिन्छ । 

यसैगरी आव २०७६–७७ मा स्थिर मूल्यका आधारमा जीडीपी २.३७ प्रतिशतले घटेको छ । त्यसबेला कोरोना महामारीले अर्थतन्त्र प्रभावित थियो ।

यस्तै, २०७७–७८ मा ४.८४ प्रतिशत, आव २०७८–७९ मा ५।६३ प्रतिशत, आव २०७९–८० मा १.९५ प्रतिशत र आव २०८०–८१ मा ३.८७ प्रतिशतले जीडीपी बढेको देखिन्छ ।

नेपालमा अझै पनि पर्याप्त लगानीको बातावरण बनेको छैन । तर, संविधान बनेपछि नेपालमा पहिलाको तुलनामा लगानीको बातावरण बनेको छ । सरकारले लगानीको लागि पनि प्रोत्साहन गरेको छ । त्यसले अर्थतन्त्रको विकासमा सहयोग पुगेको विज्ञहरु बताउँछन् । 

यस अवधिमा सबै भन्दा उच्च बृद्धि जलविद्युत् क्षेत्रमा देखिएको छ । यो नौ बर्षमा जलविद्युत् क्षेत्रको बृद्धि ३३३ प्रतिशतले बढेको छ । २०७२ असारसम्म जलविद्युत् क्षेत्रको आकार २१ अर्ब १३ करोड ८० लाख रुपियाँ थियो । २०८१ असारसम्म आउँदा त्यो ९१ अर्ब ४३ करोड १० लाख रुपियाँ पुगेको छ । 

नेपालमा जलविद्युत् उत्पादनको उच्च सम्भावना देखिन्छ । भारतमा विद्युत् निर्यात सुरु भइसकेको छ भने बंगलादेशमा पनि निर्यात गर्ने तयारी भइरहेको छ । यसबीचमा नेपालमा लोडसेडिङको अन्त्य भएको छ । साथै, विद्युत्को उत्पादन पनि उच्च दरमा बढ्दै गएको छ । हजारौ मेगावाटको परियोजना निर्माणमा चरणमा छन् । यसले जलविद्युत् क्षेत्रको उत्पादन बढाउन सहयोग पुगेको विज्ञहरु बताउँछन् । 

आकारका आधारमा सबैभन्दा ठूलो क्षेत्र भने कृषि नै देखिएको छ । पछिल्लो समय उक्त क्षेत्रको आकार १२ खर्ब १६ अर्ब ६४ करोड रुपियाँ पुगेको छ । संविधान बन्नु अघि उक्त क्षेत्रको आकार ६ खर्ब ४२ अर्ब ७१ करोड रुपियाँ थियो ।

undefined