स्वस्तिमा र निश्चलको ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

काठमाडाैं। असोज १७ गते दशैंको घटस्थापनाबाट प्रदर्शनमा आउने चलचित्र ‘बेहुली फ्रम मेघौली’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट १७ सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तुबारेमा प्रकाश पारेको छ ।

छोरीको ३० वर्ष नकट्दै बिहे गराउन एक परिवारले गरेको दौडधुपलाई रमाइलो शैलीमा देखाइएको छ । केटीको उमेर बढेपछि विवाह गर्न मुस्किल हुन्छ भने परम्परागत नेपाली समाजको मान्यतालाई सिनेमाले व्यंग्य गरेको छ । यसले नेपाली समाजको विवाह पद्दति र संस्कारलाई घुमाउरो ढंगले प्रश्न पनि गर्छ ।

भ्रामरी दशाले समात्ने भएकाले ३० वर्ष नकट्दै विवाह गर्नुपर्ने ज्योतिषको सुझावपछि अभिनेत्री स्वस्तिमा खड्कालाई परिवारबाट विवाहको दबाब बढ्छ । यो दबाबबीच योग्य वर पाउन परिवार र युवतीले कस्तो संघर्ष गर्नुपर्छ भन्ने चित्रण गरिएको छ ।

 

चलचित्रमा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।