आशा भोस्लेले गाइन् नयाँ नेपाली गीत

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

चर्चित भारतीय गायिका आशा भोस्लेले नयाँ नेपाली गीतमा स्वर दिएकी छन्।

९२ वर्षको उमेरमा उनले रन्जित गजमेरको संगीतमा 'यो हाम्रो माया' बोलको नेपाली गीत गाएकी हुन्।

'झरी बनी आएछ सावन' बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरूको प्रिय बनेकी उनले थुप्रै नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन्। उनीसँग गीत गाउने नेपाली कलाकारको संख्या भने नगन्य छ। 

उनले युवा गायक मोहन राईसँग 'यो हाम्रो माया' मा स्वर दिएकी हुन्। मोहन हालैमात्र मुम्बई पुगेर ८४ वर्षीय रन्जित गजमेरको संगीतमा रहेको गीतमा आशासँगै स्वर भरेर नेपाल फर्किएका छन्। 

'ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु। गायक कैलाश खेरको कैलाशा स्टुडिओ मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो,' उनले भने, 'आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रंजित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौं। केही महिनाभित्र सार्वजनिक गर्छौं।'

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रूचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोस्लेसँग गीत गाएका हुन्। 

नयाँ एल्बमको तयारीमा रहेका उनले चारवटा गीत तयार गरिसकेका छन्। जसमा गीतकारहरुमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक वान्तवा छन्। 

संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी, कन्काइस्ट राईले साथ दिएका छन्। 

इलाम निवासी राईले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट २०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचन गराएका थिए।

उनले संगीतमा रूचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङ (किरण)लगायत नेता, कर्मचारी प्रशासकहरूको गीत गाइसकेका छन्।