पाकिस्तानको बलुचिस्तानमा थप ५४२ विद्यालय बन्द

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

काठमाडौँ - पाकिस्तानको बलुचिस्तान प्रान्तमा थप ५४२ वटा विद्यालय बन्द भएका छन्। बलुचिस्तानको शिक्षा विभागले प्रान्तमा थप ५४२ वटा विद्यालय बन्द भएको बताएको हो।

शिक्षा विभागको  प्रतिवेदनअनुसार बन्द भएका विद्यालय पुनः खोल्न १६ हजार शिक्षक आवश्यक पर्नेछ।यस वर्षको मे महिना सम्ममा बन्द भएको विद्यालयको संख्या ३ हजार १५२ पुगेको थियो। सेप्टेम्बर २ सम्म बलुचिस्तानका, ३५ जिल्लाहरूमा बन्द भएको विद्यालयको संख्या बढेर ३,६९४ पुगेको समाचारमा जनाइएको छ। 

पिसिन जिल्लामा  सबैभन्दा धेरै  विद्यालयहरू बन्द भएका छन् । यहाँ मात्र २५४ विद्यालय बनद भएका छन्।बलुचिस्तानको शिक्षा विभागका अनुसार २०२१ सम्म, बलुचिस्तानमा १२ लाख  बालबालिकाहरू विद्यालय बाहिर थिए। यो संख्या विद्यालय जाने उमेरका बालबालिकाहरुको ७० प्रतिशत हो।

त्यसबेलादेखि, यस क्षेत्रको शिक्षाको अवस्था बिग्रिएको छ भने  निरन्तर विद्यालय बन्द र शिक्षकको अभावले विद्यालय नजाने बालबालिकाको संख्या बढ्दै गएको छ।प्रान्तभरका विद्यालय र कलेजहरूमा सफा खानेपानी, शौचालय र बिजुली जस्ता अत्यावश्यक सुविधाहरूको अभाव रहेको छ जसले शिक्षाको गुणस्तरमा गम्भीर असर पारेको छ।

विश्व बैंकले अपर्याप्त शिक्षक तालिमले यी समस्याहरूलाई अझ बढाएर शैक्षिक गुणस्तरमा ह्रास ल्याउने उल्लेख गरेको छ। बलुचिस्तानमा समग्र साक्षरता दर र शैक्षिक प्राप्ति स्तर अन्य प्रान्तहरूको तुलनामा कम छ, जसले उच्च शिक्षा र रोजगारीका अवसरहरूलाई असर गर्छ। एजेन्सी