गैँडा स्थानान्तरणले शुक्लाफाँटामा जैविक विविधता संरक्षणमा टेवा
गैँडा स्थानान्तरणले जैविक विविधता संरक्षणमा टेवा पुगेको एक अध्ययनले देखाएको छ। त्रिभुवन विश्वविद्यालय सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरका उपप्राध्यापक डा. बलराम अवस्थी नेतृत्वको टोलीले एकसिंगे गैँडामा गरेको अध्ययनले गैँडा स्थानान्तरणले जैविक विविधतामा टेवा पुगेको जनाएको हो। उपप्राध्यापक डा. बलराम अवस्थी नेतृत्वको टोलीले सन् २०२० देखि २०२२ सम्मको अवधिमा गरेको अध्ययनबाट उक्त तथ्य पत्ता लागेको जनाएको छ ।
शुक्लाफाँटा र चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको वासस्थानमा क्यामेरा ट्यापिङलगायतका विधिबाट अध्ययन गरिएको थियो । अध्ययनका क्रममा अन्य स्तनधारी जनावर र पन्छीहरूले गैँडाको गोबर र यसमा उम्रिएका वनस्पतिलाई आहारा बनाउने गरेको पाइएको छ । एक ठाउँबाट अर्को ठाउँमा गैँडा पुनर्स्थापनाले गैँडाको संख्या बढाउन सहयोग पुग्ने मात्र होइन, अन्य जनावरको आहारा र पारिस्थितिक प्रणालीमा पनि लाभ पुर्याएको जनाएको छ।
त्रिवि सिद्धनाथ विज्ञान क्याम्पसका उपप्राध्यापक अवस्थीले गैँडा स्थानान्तरणले जैविक विविधतामा टेवा पुगिरहेको बताए। ‘नयाँ र चाखलाग्दो कुरा के हो भने गैँडाको गोबर अरू स्तनधारी जनावरले खान्छन् भन्ने अहिलेसम्म पत्ता लागेको थिएन,’ उनले भने, ‘मेरो अध्ययनले चाहिँ अरू जंगली जनावरले सीधै गैँडाको गोबर खान्छन् भन्ने पत्ता लागेको छ।’
२४ वर्षको अवधिमा दुईपटक शुक्लाफाँटामा चितनवन राष्ट्रिय निकुञ्जबाट गैँडा स्थानान्तरण गरिएका थिए । चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटामा सन् २००० तिर चार र २०१७ मा पनि चितवनबाटै थप पाँच गैँडा स्थानान्तरण गरिएका थिए ।
अन्यन्त्रबाट शुक्लाफाँटामा स्थानान्तरण गरिएका गैँडाले शुक्लाफाँटामा थप जैविक विविधतामा टेवा पुगेको जनाइएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले दुईपटक शुक्लाफाँटानमा गैँडा स्थानान्तरणसँगै पारिस्थितिक प्रणालीमा समेत सुधार भइरहेको बताए । ‘विगतमा शुक्लाफाँटामा गैँडा नै छैन भन्ने थियो, तर हामीले अध्ययन गर्दै गयौँ, सन्र १९९९ तिर रानीताल क्षेत्रमा एक गैँडा भेटियो,’ उनले भने, ‘हामीले उसको साहराका लागि उतिवेला चितवनबाट चार गैँडा ल्याएका थियौँ, अहिले गैँडाले बच्चा पनि जन्माएको छ ।’ शुक्लाफाँटा गैँडाका लागि वासस्थानसमेत उपयुक्त भएको बताउँदै घाँसेमैदान, सिमसारदेखिका अन्य वन्यजन्तु, चराचुरुंगीको वासस्थानसमेत व्यवस्थापन गरिदिएको छ ।’ निकुञ्जको चौधर नदी क्षेत्रमा गैँडाका लागि उपयुक्त वासस्थान भएको उनले बताए। निकुञ्जमा वासस्थान राम्रो भएकै कारण गैँडाको संख्यासमेत वृद्धि भइरहेको उनले बताए । अन्यत्रबाट गैँडा स्थानान्तरण, आहारा र चोरी–सिकारी पूर्ण नियन्त्रण हुँदा बाघको संख्या वृद्धि भएको बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तेब्बर बढीले गैँडाको संख्या वृद्धि भएको छ । निकुञ्जमा झन्डै डेढ दशकको अवधिमा तेब्बर बढीले एकसिंगे गैँडाको वृद्धि भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्यांकमा १५ वर्षअघिको तुलनामा अहिले तेब्बर बढीले गैँडाको संख्या पुगेको छ । २००८ मा दुई पोथी, एक भाले र दुईको पहिचान नभएका गरी पाँच मात्रै रहेको गैँडाको संख्या २०२४ मा आइपुग्दा बढेर ६ थाले, १० पोथी र सात पहिचान नभएको गरेर २३ पुगेको छ ।
निकुञ्जको तथ्यांकअनुसार २००८ मा पाँच, २०१३ मा दुई भाले, दुई पोथी र तीन लिंग पहिचान नभएको गरेर सात, २०१५ मा एक भाले, तीन पोथी, चार पहिचान नभएको गरेर आठ, २०१८ मा चार भाले, नौ पोथी र चार पहिचान नभएको गरेर १७, २०२१ मा तीन भाले, चार पोथी, पाँच पहिचान नभएको गरेर १७, २०२२ मा चार थाले, सात पोथी र नौ पहिचान नभएको गरेर २० र ०२४ मा ६ भाले, १० पोथी, सात पहिचान नभएको गरेर २३ पुगेको हो । अन्तिम वर्ष ०८० काे ५ फागुनदेखि २२ सम्म पहिचानमा आधारित एकसिंगे गैँडाको गणना गरिएको थियो ।
बाघको जस्तै गैँडाको पनि फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट गणना गरिएको थियो । गैँडाको वासस्थान क्षेत्रमा ब्लकमा प्रत्येक एक–एक सय मिटरको दूरीमा भौगोलिक सूचना प्रणाली जिपिएस, रिसिभर, युनिट, दूरबिन, वाकीटाकी, एन्रोइड, मोबाइल फोन, क्यामेरालगायतका आधुनिक उपकरणसहित प्राविधिक हात्तीमा बसेर स्विप गर्दै प्रत्यक्ष गणना विधिबाट गैँडा गणना गरिएको थियो । शुक्लाफाँटा निकुञ्ज संरक्षणको जिम्मा नेपाली सेनाले पाएको छ। सेनाले निकुञ्जमा नियमित गस्तीदेखि चोरी–सिकारी एवं तस्करीमा शून्य सहनशीलता नीति अपनाएले काम गरिरहेको छ।
यसरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडाको संख्या वृद्धि हुन थालेपछि संरक्षणकर्मीसमेत हर्षित भएका छन्। संरक्षणकर्मी एवं सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशीले बाघको संख्या वृद्धिसँगै गैँडाको संख्या वृृद्धिले समग्र जैविक विविधता क्षेत्रमा सुधार आएको बताए। संरक्षणकर्मी जोशीले लालझाडी जैविक मार्ग क्षेत्रमा सुधारले पनि शुक्लाफाँटा निकुञ्जमा बाघसँगै गैँडाको मुभमेन्ट वृद्धिमा मदन पुगेको बताए ।
वि.सं. २०२६ सालमा सिकार आरक्षको रूपमा स्थापना गरिएको शुक्लाफाँटा वि.सं. ०३२ मा वन्यजन्तु आरक्ष र ०७३ सालदेखि राष्ट्रिय निकुञ्जमा घोषणा गरिएको थियो । शुक्लाफाँटा निकुञ्ज ३०५ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। बाह्रसिंगको झुन्डसमेत रहेको निकुञ्जमा पछिल्ला वर्षहरूमा ठुला वन्यजन्तुको संख्या वृद्धिले कतै मानव वन्यजन्तुबिच द्वन्द्व बढ्नेतर्फ समेत चिन्ता व्यक्त गरिएको छ । निकुञ्जमा गैँडाको संख्या वृद्धिसँगै संरक्षण गर्नुपर्ने संरक्षणकर्मीले जोड दिएका छन् ।
तपाईको प्रतिक्रिया