पोषण सुधारका लागि प्रदेश सरकार गम्भीर छ : मन्त्री खड्का

शुक्रबार असोज ४, २०८१/ Friday 09-20-24
Paschim Today

धनगढी, असोज ४ गते । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले पोषणको अवस्था सुधार गर्न सुदूरपश्चिमका तीन जिल्लामा नौ करोड रुपियाँको बजेट छुट्याएर पोषणयुक्त आहार उत्पादन गरिने बताएका छन  । 

हानिकारक प्रथा परम्परा अन्त्य र पोषण सुधारका लागि भए गरेका प्रयास उपलव्धी र चुनौती विषयक सरोकारवालबीचको छलफलमा बोल्दै मन्त्री खड्काले डोटी, बैतडी र कञ्चनपुरमा पोषणयुक्त आहार उत्पादन गरेर ती जिल्लाका बालबालिकालाई पौष्टिकयुक्त आहार वितरण गरिने बताए । उनले बाजुरा लगायतका जिल्लामा चर्को कुपोषण रहेको बताउँदै ती जिल्लालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता गरे । उनले प्रति विद्यार्थी १५ रुपियाँ खाजा खर्च कम भएको बताउदै त्यसलाई बढाउने प्रयास गर्ने पनि बताए । उनले हानिकारक प्रथा परम्परा अन्त्य र पोषण सुधारका लागि पनि विभिन्न प्रयास भइरहेको बताए । 

प्रदेश सरकारले धनगढी उपमहानगरका १९ वटै वडाका लागि एउटै ठाउँमा उत्पादन गरेर वितरण गर्ने योजनाका साथ पौष्टिक आहारका लागि पनि एक करोड रुपियाँ सहयोग गर्ने भएको छ । धनगढीको मनेहरास्थित सरस्वती माविका प्रअ ज्ञानेन्द्र शाहले पौष्टिक आहारको सकरात्मक पक्षको चर्चा गर्दे विद्यालय आउने बालबालिका बढेको, विद्यालय छोड्ने दर कम भएको र नीजि विद्यालयबाट पनि सामुदायिक विद्यालयमा विद्यार्थी आउने गरेको बताए ।

सोही विद्यालयका पोषण फोकलपर्सन रिता ज्ञवालीले पौष्टिक आहार पकाउने ठाउँ पर्याप्त नहुने, भाडा कुँडाको अभाव, धेरै विद्यार्थी हुनु तर खाजाको लागि आउने रकम कम हुनुले केही समस्या परेकोले सुधार गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा धार्मिक अगुवाहरुले हानिकारक प्रथा परम्परा अन्त्य गर्न आफूहरुको सहयोग हुने प्रतिवद्धता पनि गर्नु भएको थियो । मानवअधिकार आयोग सुदूरपश्चिमका प्रमुख प्रकाशदत्त भट्टले हरेक पालिकाले सामाजिक उत्तरदायित्व अन्र्तगत वैंक तथा वित्तिय संस्थाबाट सहयोग लिएर दिवा खाजा कार्यक्रम सञ्चाल गर्नु उपयुक्त हुने सुझाव दिए।

वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा अकोराब÷सिआइएन रेडियोको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका पोषण फोकल पर्सन मीनराज जोशीकोले पोषणको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा मानवअधिकार आयोग सुदूरपश्चिमका प्रमुख प्रकाशदत्त भट्ट, इन्सेकका खड्कराज जोशी, स्वास्थ्य स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो । -गोरखापत्र