राप्रपाले आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने

आइतबार असोज ६, २०८१/ Sunday 09-22-24
Paschim Today

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रणनीतिक रूपमा आन्दोलन केन्द्रित प्रशिक्षण सञ्चालन गर्ने भएको छ । आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण असोज ८ गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा गरिने छ ।

 

 

महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्सेर राणाको नेतृत्वमा राप्रपाले रणनीतिक रूपमा आन्दोलनको तयारी जारी राखेको छ ।

 

काठमाडौँ केन्द्रित आन्दोलनका लागि देशभरका वडाबाट २० हजार युवा दस्ता तयार गर्ने क्रममा राजनीतिक, परिचालन र व्यवस्थापनका विषयमा राप्रपाले विशेष प्रशिक्षण आयोजना गर्न लागेको हो ।

 

‘देशमा चौतर्फी संकट र समस्या छ । देशको २० प्रतिशत जनसंख्या देशबाहिर छ, दैनिक रूपमा २६०० नेपाली देशबाहिर जान्छन् । यस्तो कहालीलाग्दो अवस्थामा समाधानका लागि राप्रपाले नवीन समझदारीको प्रस्तावना अघि सारेको हो । पार्टीको घोषित नीतिअनुरूप आन्दोलन जारी राखेको हो, यसै सिल्सिलामा आन्दोलन केन्द्रित प्रशिक्षण आयोजना गरिएको हो,’ राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले भने ।

प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले देशका ७७ जिल्लामा गएर युवाहरूका लागि प्रशिक्षण सञ्चालन गर्नेछन् । पार्टी स्रोत अनुसार, जिल्लास्तरीय प्रशिक्षण तिहार अगावै सम्पन्न गरिनेछ ।

केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६ हजार ७४३ वडाबाट कम्तीमा तीन जना जुझारु युवा तयार गर्ने रणनीतिमा राप्रपा अघि बढेको हो ।

राजसंस्था, सनातन हिन्दु अधिराज्य, प्रदेश खारेजी, भ्रष्टाचारको अन्त्य लगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राप्रपाले सडक संघर्ष जारी राखेको छ ।

देशभरिबाट चुनिएका युवाहरू सहभागी गराएर काठमाडौँ केन्द्रित आन्दोलनका लागि राप्रपा युवा दस्ता खडा गर्ने क्रममा छ । जिल्ला खटिने प्रशिक्षकको टोलीमा राजनीतिक र भूपु सुरक्षाकर्मी प्रशिक्षकहरू सहभागी हुनेछन् ।