एमाले कैलाली अध्यक्ष ढुङ्गानाले व्यहोरे मनसराको सम्पूर्ण उपचार खर्च

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

कैलाली । नेकपा एमाले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले एक महिलाको सम्पूर्ण उपचार खर्च व्यहोरेका छन् ।

नवजीवन अस्पतालका सञ्चालक समेत रहेका पार्टी अध्यक्ष ढुङ्गानाले डोटी गड्सेरा ५ की मनसरा देवी खडायतको उपचार खर्च   व्यहोरेका हुन् ।भिरबाट लडेर खुट्टामा गम्भीर चोट लागेको अवस्थामा  उनले आर्थिक अभावका कारण घरमै घरेलु उपचार गराइरहेकी थिइन् । दुई दिन पछि एमाले अध्यक्ष ढुङ्गानाले आर्थिक अवस्था कमजोर भएर उपचार गर्न नसकेको थाहा पाएपछि नवजीवन अस्पतालमा बोलाएर उपचार गराएका हुन् ।

 घटनाको दुई दिन सम्म उपचार नपाएको हुँदा खुट्टाको चोटले पुरै खुट्टामा संक्रमण गरिसकेको थियो । 

वरिष्ठ हाडजोर्नि विशेषज्ञ डा। विदुरमणी ढकाल नेतृत्वको चिकित्सक टोलीले उनको सफल शल्यक्रिया गरेका थिए । त्यस क्रममा उनको उपचारको लागि लागेको करिब २ लाख बढि रकम आफूले व्यहोरेको अध्यक्ष ढुङ्गानाले बताए ।

‘आर्थिक अवस्था निकै नाजुक भएर उपचार गर्न सकिरहनु भएको थिएन । मैले उहाँको सम्पूर्ण उपचार निःशुल्क गरिदिएको छु ’ अध्यक्ष ढुङ्गानाले भने, ‘जनताको सेवा गर्नु नै हामी राजनीतिज्ञहरूको धर्म हो ।’

७८ वर्षकी मनसराको श्रीमान् छैनन् । एक छोरा अपाङ्ग छन् भने अर्का सानै छन् । आफूहरूले उपचार गर्न समस्या भइरहेको बेला अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि ठुलो राहत मिलेको छोरा कुमार खडायतले बताए ।

‘हामी गरिबको पीडा पनि बुझिदिने हुनुहुँदो रहेछ उहाँले मेरो आमाको उपचार गरेर ठुलो सहयोग गर्नु भएको छ’ छोरा कुमारले अध्यक्ष ढुङ्गानालाई आभार प्रकट गर्दै भने ।

असोज ६ गते घाँस काट्न जाँदा लडेर मनसरा घाइते भएकी थिइन् । उनी ८ गते अस्पताल भर्ना भइन् । भीरमा लडेर दुई दिन सम्म घरमै थलिएकी उनले आफ्नो उपचार हुने सम्भावना टर्दै गएको बताएकी  थिइन् । अध्यक्ष ढुङ्गानाले उपचार गरिदिएपछि आफूले पुनर्जन्म पाएको उनले बताइन् ।

‘म त बाच्दिन कि जस्तो लागेको थियो ।उहाँले उपचार गरिदिनुभयो , धन्य होस् उहाँलाई’ महिलाले भनिन् । मनसराको सफल शल्यक्रिया भएपछि अध्यक्ष ढुङ्गानाले उनलाई जुस पिलाएर खुसी साटेका थिए ।

अध्यक्ष ढुङ्गानाले यस अघि पनि गरिब र दुखीलाई यसरी नै उपचारमा सहयोग गर्दै आइरहेका थिए ।