न्यूयोर्कमा उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श, द्वन्द्वको स्मरण
न्यूयोर्क,(अमेरिका), २३ असोज ।
अमेरिकाको न्यूयोर्कमा बुधवार पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमाथि बिमर्श कार्यक्रम आयोजना गरियो ।
रिजउड नेपाली समाज र काठमाण्डौं फ्युजनको सहयोगमा सुदूर पश्चिम समाज अमेरिकाद्धारा न्यूयोर्कमा आयोजित पुस्तक बिमर्श कार्यक्रमका सहभागी वक्ताहरुले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरु साटासाट गरे । र, आगामि समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस भनेर कामना गरे ।
कार्यक्रममा बिशिष्ट अतिथि नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले पत्रकार उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरका बारेमा चित्रण गरिएको बताए ।
१० वर्षे द्वन्द्वबाट कुनै क्षेत्र पनि अछुतो रहेन, पत्रकारहरु पनि त्यसबाट प्रभावित भए, जसले आफ्नो ज्यान जोखिममा राखेर नागरिकलाई सुसूचित गरे, राज्य र बिद्रोही पक्षलाई नागरिकका मौलिक हकको रक्षाका लागि दवाव दिए, सभापति बिष्टले भने, यो पुस्तक त्यो समयको साक्षी हो । अहिले र भावी पुस्ताका लागि यो अध्ययन गर्ने महत्वपूर्ण दस्तावेज हो ।
उनले पत्रकार उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पु¥याएको योगदानको प्रशंसा गरे । उनले भने, सुदूर पश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आएको उपाध्यायको पत्रकारितासंगै साहित्य र समाजसेवामा बिशिष्ट योगदान कसैले बिर्सिन सक्दैन ।
उपाध्याय सुदूर पश्चिमका सवाललाई काठमाण्डौंसंग मात्र नभएर संसारसंग जोड्ने सशक्त पत्रकार हुन्, बिष्टले भने, जसले द्वन्द्वमा नागरिकका बाँच्न पाउने अधिकारका लागि लडे र शान्ति प्रकृयापछि सुदूर पश्चिमको विकास र समृद्धिका लागि निरन्तर रुपमा पैरवी गरे ।
कार्यक्रमका अतिथि साहित्यकार किसन सिंह धामीले पत्रकार तथा कवि उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकसंगै कविता संग्रह आमा म आउँदैछु कविता संग्रहका बारेमा टिप्पणी गरे ।
उनका कवितामा देश छ, देश प्रेम छ, नागरिकका पीडा छन्, आमा, छोरी र बुवाप्रति कविको अनुभूति छन्, कविता पढ्ने जो सुकै उनको अनुभूति आफ्नै जस्तो लाग्छ,धामीले भने, अत्यन्त सरल र सबैले बुझ्ने भाषामा लेखिएका उनका कविता सशक्त छन् ।
उनले पत्रकार उपाध्यायले मोफसलमा रहेर साहित्य,पत्रकारिता र समाजसेवाका माध्यमबाट बिशिष्ट पहिचान बनाएको बताए ।
कार्यक्रममा सहभागी मध्य अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठो पीडा र अनुभव सुनाए । कतिपयले आफू अपहरणमा परेको सुनाए । कतिपयले अपहरणबाट जोगिएर बाँचेको बताए । राज्य र माओवादी दुबै पक्षबाट प्रताडित भएका उनीहरुले फेरि द्वन्द्व नहोरियोस भनेर कामना गरे ।
कार्यक्रमका प्रमुख अतिथि पत्रकार उपाध्यायले पुस्तकमा पत्रकारिता र सिंगो देशले भोगेको द्वन्द्व र त्यसको असर समेटिएको बताए । उनले भने, एउटा पत्रकारको युद्ध रिपोर्टिङको अनुभव मात्र यो पुस्तकमा समेटिएको छैन, आम नागरिकले भोगेका पीडा पनि पुस्तकमा समेटिएको छ ।अनाहकमा मारिएका, बेपत्ता पारिएका पत्रकार र आम नागरिक र तिनका परिवारका कथा, व्यथा र अनुभव पुस्तकमा समेटिएका छन् ।
उनले पत्रकारिताका विद्यार्थीका लागि मात्र नभएर अहिले र भावी पुस्ताका लागि यो पुस्तक द्वन्द्वका १० वर्षको अध्ययन सामग्री भएको बताए ।
यो पुस्तकमा आफ्नो ज्यान जोखिममा राखेर नागरिकको जीवन रक्षाका लागि पत्रकारहरुले निर्बाह गरेका संघर्ष र अनुभवका कथाहरु मत्र समेटिएका छैनन, देशले भोगेको द्वन्द्वको समग्र असर चित्रण गरिएको छ ।
द्वन्द्वका १० वर्षमा मुलुक निकै कठिनबाट गुज्रिएको स्मरण गर्दै पत्रकार उपाध्यायले त्यो कठिन घडीको दस्तावेजबाट आगामि पुस्ताले नेपाली समाजले भोगेको द्वन्द्व कति भयानक थियो भन्ने अनुभूति गर्ने बताए ।
कार्यक्रममा उपाध्यायले आफ्नो कविता संग्रहबाट मृत्युले भन्यो म छु नि त, छोरी र बा शिर्षकको कविता सुनाए ।
पत्रकार उपाध्यायले सुदूर पश्चिम समाज अमेरिकाद्धारा पुस्तक बिमर्शसंगै आफूलाई स्वागत तथा सम्मान गरिएकोमा आभार व्यक्त गरे ।
उनले कार्यक्रम आयोजनाका लागि सहयोग गर्ने रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, काठमाण्डौं फ्युजनका सञ्चालक जीवन बम र कार्यक्रममा सहभागी भएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, गैर आवासीय नेपाली संघ अमेरिकाकी उपाध्यक्ष लक्ष्मी थापा, सुदूर पश्चिम समाजका अगुवा मानसिंह बिष्टले पत्रकारिता र साहित्यका माध्यमबाट उपाध्यायले पुर्याएको योगदानको प्रशंसा गरे ।
कार्यक्रमका बिशिष्ट अतिथि बिष्ट, सुदूर पश्चिम समाजका अगुवा जीवन बम, हरिशचन्द्र हमाल अध्यक्ष बिक्रम शाही, पूर्व अध्यक्षहरु राम बहादुर देउवा, गणेश बिष्ट लगायतले खाँदा ओढाएर स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा सुदूर पश्चिम समाज अमेरिकाका उपाध्यक्ष नवीन ओझाले पत्रकारिता र सामाजिक क्षेत्रमा अढाई दशकदेखि सक्रिय उपाध्यायसंग माईती नेपालको धनगढीको प्रमुखका रुपमा आफू कार्यरत रहदा सहकार्य गरेको सुनाए । उनले भने, उपाध्याय हाम्रो पुस्ताका सशक्त पत्रकार हुन् । जसले सधै निर्भिक भएर पत्रकारिता गरे ।
कार्यक्रम सुदूर पश्चिम समाज अमेरिका न्यूयोर्कका अध्यक्ष दानसिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष बिष्टले ऐतिहासिक पुस्तक द्वन्द्व पत्रकारिताको एक दशक र कविता संग्रह आमा म आउँदैछुका लागि उपाध्यायलाई बधाई दिनुका साथै पुस्तक बिमर्श कार्यक्रममा सहभागी भएकोमा सम्पूर्ण अतिथिलाई धन्यवाद दिए ।
कार्यक्रमको सञ्चालन समाजका उपाध्यक्ष राईभान महराले गरेका थिए ।
पत्रकार उपाध्यायका चार वटा कृति प्रकाशित छन् । गत महिना उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक र आमा म आउँदैछु कविता संग्रह गरी दुई वटा कृति प्रकाशित भएका थिए ।
तपाईको प्रतिक्रिया