निगालोका सामग्रीले चाडपर्व खर्च

शुक्रबार कार्तिक २, २०८१/ Friday 10-18-24
Paschim Today

डडेलधुरा, कात्तिक २ गते । अमरगढी नगरपालिका–७, कैनी टोलका स्थानीयले परम्परागत रूपमा निगालोका विभिन्न सामग्री बनाउँदै आइरहेका छन् । अन्न भण्डारणदेखि दैनिक जीवनमा उपयोगी सामग्री यहाँका कैनी, पार्की जातिले बनाउँदै आइरहेका छन् । विशेष गरी दसैँ, तिहार र नयाँ वर्ष बिसु पर्वका बेला कैनी जातिले निगालोबाट सामग्री बनाई खर्चको जोहो गर्दै आइरहेका छन् । 

दसैँ, तिहारका बेला धान, मकै, कोदोलगायतका अन्न बाली र नयाँ वर्षका बेला गहुँ बाली भित्र्याइने भएकाले पनि निगालोका सामग्रीको खपत हुने गरेको स्थानीय लक्ष्मण कैनीले बताए । बाली भित्र्याउने बेला ठुला चाडबाड पर्ने भएकाले निगालोका सामग्री बेचेर खर्चको जोहो गर्ने परम्परा पुर्खौंदेखि चलिआएको उनले बताए। 

खास गरी निगालोबाट बनेको कोर्ङो, डुरो ९अन्न भण्डार गर्ने भकारी० महँगो मूल्यमा बिक्री हुने उनले बताए। चार क्विन्टल अन्न अटाउने कोर्ङोको मूल्य चार हजार रुपियाँसम्ममा बिक्री हुने उनको भनाइ छ । “पहिले तराई जिल्ला कैलाली र कञ्चनपुरका गाउँमासमेत यसको माग हुन्थ्यो,” उनले भने, “अहिले यी जिल्ला सहर, बजार भइसके । अहिले डडेलधुरा र डोटीका ग्रामिण गाउँमा मात्रै बिक्री हुने गरेको छ ।” 

वर्षमा आठ महिना निगालोका सामग्री बनाई भदौ, असोज, कात्तिक र फागुन, चैत महिनामा बिक्री गर्न गाउँ गाउँ जाने चलन बाजेको पालादेखिबाटै चलिआएको अर्का स्थानीय नारायण कैनीले बताए । एक जनाले मात्रै ३० बढी डुरो बनाई बिक्री गर्दा एक मौसममा एक लाख बढी आम्दानी हुने उनले बताए । वर्षमा दुई पटक डुरो र डोको बिक्री गरी चाडपर्वसँगै वर्षभरि पुग्ने अन्नपात, लुगा कपडाका लागी जोहो गर्दै आइरहेको उनको भनाइ छ । 

तर पछिल्ला वर्षमा बजारमा जस्तापाताका भकारी, प्लास्टिकका डस्टबिन, बोरा, कट्टा चलनमा आउँदा निगालोका सामग्री ओझेलमा परेको कैनी समुदायको गुनासो छ । परम्परागत सिप व्यावसायिक नहुँदा लोप हुँदै जाने अवस्थाको सिर्जना भएकोमा समुदायको चिन्ता छ । मध्य पहाडको घना जङ्गलमा पाइने निगालो हराउँदै गएको छ । सामुदायिक वन बनाइएकाले पनि निगालो काट्न सहज नभएको स्थानीय दत्ति पार्कीले बताउनुभयो । उहाँका अनुसार यसपालि बनाइएका सामग्रीका लागि बझाङ जिल्लाको वनबाट निगालो ल्याइएको थियो । चन्द्रपुर सामुदायिक वनमा निगालो रोपेको भए पनि नफस्टाएको उनले बताउनुभयो । बेला बेलामा विभिन्न सङ्घ संस्थाले निगालोका दराज, कुर्सी, टेबुललगायतका विभिन्न सामग्री बनाउन सहयोग गरिए पनि व्यावसायिक रूपमा सिप फस्टाउन नसकेको उनले बताउ।