मर्मत भएन अस्पताल जाने सडक

शनिबार कार्तिक ३, २०८१/ Saturday 10-19-24
Paschim Today

बैतडी, कात्तिक ३ गते । स्थानीय तहले खनेका अधिकांश सडक बर्खाको भलले बगाउँदा बजेट खेर गएको छ भने अस्पताल जाने बाटो नहुँदा सुत्केरीको मृत्यु भएको छ । गाउँपालिकाले प्रसूति केन्द्र बन्द गर्ने निर्णय गरेपछि गएको असोज १५ गते पञ्चेश्वर गाउँपालिका–१ की सुत्केरी महिला मनीषा घटालको अकालमै मृत्यु भएको छ । भलले बगाएका ग्रामीण सडकमा पैदल हिँड्नसमेत अप्ठ्यारो भएको छ ।   

अस्पताल लैजाने बाटो बर्खाको भलले बगाएपछि प्रसूति व्यथा लागेकी मनीषालाई समयमै स्वास्थ्य संस्था पुर्‍याउन नसक्दा अकालमै ज्यान गएको स्थानीय लोकेन्द्र घटालले बताए । उनले जनप्रतिनिधिले पञ्चेश्वर गाउँपालिका–१ को शेरी बैसेकलगायतका गाउँ जाने बाटो मर्मत गर्न चासो नदेखाएको गुनासो गरे। सडक मर्मत गर्ने विषयमा वडा कार्यालयसँग आर्थिक अधिकार र बजेट नभएको पञ्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष देवानीराम सार्कीले बताए । 

उनले भने, “वडा कार्यालयसँग एउटा डटपेन किन्ने अधिकार पनि छैन । अधिकार प्राप्त गाउँपालिकाले प्रसूति केन्द्र बन्द गर्ने निर्णय गरेको छ । सडक बाटो मर्मत नहुँदा सुत्केरी र बिरामीलाई स्वास्थ्य केन्द्र पुग्न कठिनाइ भएको छ ।” वडाध्यक्ष सार्कीले थप्दै अगाडि भने, “गाउँपालिकाले बाटो सफा गर्न २० लाख छुट्याएको छ तर पञ्चेश्वर–१ को बाटो मर्मत भएको छैन । गाउँपालिकाले वडामा भएको प्रसूति केन्द्र बन्द गर्ने निर्णय गरेर स्वास्थ्यकर्मी फिर्ता बोलायो । सडक मर्मत गर्न पनि ढिलाइ भएको छ । सुत्केरीको मृत्युपछि स्थानीय ८० जनाले प्रसूति केन्द्र सञ्चालन गर्नुपर्ने माग लिएर वडा कार्यालय घेर्न आएपछि प्रसूति केन्द्र सञ्चालन गरिदिन गाउँपालिकमाा निर्णय गरी पठाएका छौँ ।”

गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बाटो मर्मत नभएका ठाउँमा एकरदुई दिनभित्र काम सुरु हुने बताए। प्रसूति केन्द्रका विषयमा भने गाउँपालिका अध्यक्ष चन्दले स्वास्थ्य चौकीनजिक भएका प्रसूति केन्द्र बन्द गरिएको बताए । उनले भने, “पालिकामा प्रसूति गराउने तालिमप्राप्त जनशक्ति पनि कम छ । पञ्चेश्वर गाउँपालिका–१ मा स्वास्थ्य चौकीनजिकै भएकाले त्यहाँको प्रसूति केन्द्र जनशक्ति अभावका कारण बन्द गर्नु परेको हो । सडक सुचारु भएपछि बिरामी र सुत्केरी महिलालाई सहज हुने छ ।”